सिक्लेसमा लाटोकोसेरो महोत्सव हुने

Athene_noctua_(cropped)
पोखरा, ६ फागुन । किसानको साथीका रुपमा लिइने लाटोकोसेरो तथा हुचिल संरक्षणमा योगदान गर्ने लक्ष्यका साथ भोलिदेखि कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा लाटोकोसेरो हुचिल महोत्सव हुने भएको छ ।

संरक्षण क्षेत्र व्यवस्थापन समिति, पार्चे तथा प्रकृतिका साथीहरू नामक गैरसरकारी संस्थाको आयोजनामा दुई दिने महोत्सव गर्न लागिएको हो । प्रकृतिका साथीका कार्यकारी निर्देशक राजु आचार्यका अनुसार नेपालमा लाटोकोसेरोको संरक्षणका लागि उत्सव मनाउन थालिएको पाँच वर्ष भएको र यसअघि धादिङ, चितवन, नवलपरासी र गोरखामा सम्पन्न भइसकेको छ ।

यस्तो महोत्सव नेपाल बाहिर अमेरिका र इटालीमा पनि मनाइने गरेको आचार्यले जानकारी दिए । किसानले लगाएको बालीनाली नोक्सान गर्ने मुसा, किरा फट््याङ्ग्रा, सर्प जस्ता वस्तु खाइदिने भएकोले लाटोकोसेरोलाई किसानको साथी पनि भनिन्छ । “यो प्रजाती लोप हुनथालेका कारण चेतना अभिवृद्धि होस् भनेर महोत्सव आयोजना गरिएको हो” उनले भने ।

स्थानीयवासी एवम् सिक्लेस युवा क्लबका सचिव देवीजङ्ग गुरुङका अनुसार सिक्लेसमा विगतमा लाटोकोसेरो धेरै नै पाइने गरे पनि पछिल्लो समयमा विस्तारै लोपोन्मुख हुन थालेको छ । महोत्सवसँगै लाटोकोसेरोको संरक्षण र पर्यटकीय क्षेत्र सिक्लेसको पर्यटन प्रवद्र्धन हुने विश्वास आयोजकले लिएको छ ।

‘प्रकृतिका साथीहरू’ नामक संस्थाले विभिन्न ३५ जिल्लामा गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट बर्सेनि कम्तीमा दुई हजार वटासम्म लाटोकोसेरो तथा हुचिल मारिने गरेको भेटिएको छ । अध्ययनबाट २५ प्रतिशत विद्यार्थीले गुलेली प्रयोग गरी लाटोकोसेरो मार्ने गरेको देखिएको छ ।

मुसाको सङ्ख्या नियन्त्रण गरेर किसानलाई सहयोग पुरयाउने तथा पर्यावरणीय संरक्षणमा विशेष योगदान गर्ने भएका कारण यसलाई किसानको साथी भन्ने गरिएको पक्षीविद् डा हेमसागर बराल बताउंछन् ।

“लाटोकोसेरोको महत्व प्रकृति र पर्यावरणमा विशिष्ट किसिमको छ, यो अन्यपक्षी भन्दा वुद्धिमता भएको मानिन्छ,” उनले भने, “प्रकृति र पर्यावरणमा यसले महत्वपूर्ण भूमिका खेलेकाले यसलाई मानिसको छाता प्रजातीका रुपमा लिने गरिएको छ ।” घाँसे मैदानमा भन्दा अलि उच्च भू–भागमा बस्ने मासहारी लाटोकोसेरो विश्वका सबै महादेशमा पाइने बरालको भनाइ छ ।

लाटोकोसेरो प्रायःराति तथा बिहान सक्रिय हुने गर्दछ । प्राचीनकालमा लाटोकोसेरोलाई मानिसले समय पत्ता लगाउने माध्यमका रुपमा पनि लिने गरेका थिए । समुन्द्री सतहबाट दुईहजार मिटरको उचाइमा रहेको सिम्क्लेस लाटोकोसेरोलगायतका पक्षीका लागि उर्वरभूमि रहेको छ । दृश्यावलोकन एवम् पदयात्राका लागि समेत महत्वपूर्णस्थल भएका कारण यो ठाउँमा महोत्सव आयोजना गरिएको आयोजक समितिका सचिव गेहेन्द्र गुरुङ बताउंछन् ।

महोत्सवका अवसरमा विद्यालयस्तरिय लाटोकोसेरो चित्रकला प्रतियोगिता, लाटोकोसेरोको जानकारी भएका सूचना तथा चित्र, फोटो प्रदर्शनी गरिने संरक्षण क्षेत्र व्यवस्थापन समिति पार्चेका अध्यक्ष मनबहादुर गुरुङले बताए । आठवटा लाटोकोसेरोको आवाज सुन्न मिल्ने व्यवस्था मिलाइएको छ भने गहुँको छ्वालीबाट, चुराबाट तथा माटोबाट बनाइएका लाटोकोसेरो प्रदर्शनमा राखिने छ ।

आयोजकले लाटोकोसेरोको एक फिट अग्लो रोबोटसमेत प्रदर्शन गर्ने तयारी गरेको छ । महोत्सवको अन्तिम दिन चारजना नेपाली संरक्षणकर्मीलाई प्रकृति संरक्षण पुरस्कारसमेत प्रदान गरिने भएको अनुसन्धान, प्रकृतिका साथीका निर्देशक यादव घिमिरेले जानकारी दिए । महोत्सवमा सेतीदोभान– ८ स्याङ्जामा मन्मेर हाल कारकादो, ७ बाँके बस्दै आएका रमेशकुमार थापा, कपिलवस्तु नगरपालिका– २ आनन्दवागका मनोज पौडेल, चितवन नारायणी नगरपालिका– ५ का हठन चौधरी र बर्दियाको ठाकुरद्वाराका राम शाहीलाई जनही रु २५ हजार नगद, ताम्रपत्र, र खादाले सम्मान गरिने भएको छ ।

पछिल्लो समयमा औषधि, झारफुकलगायतका प्रयोजनका लागि भारत, चीनलगायतका विभिन्न खाडी मुलुकमा लाटोकोसेरोको चोरी निकासीको क्रम बढेका कारण यसको संरक्षण अपरिहार्य भएको भन्दै संरक्षणमा सहयोग पुरयाउन महोत्सव आयोजना गरिएको हो । नेपालमा कानुनी रुपमा नै लाटोकोसेरोलाई पाल्न, दुःख दिन, बेचबिखन गर्न नपाइने व्यवस्था भए पनि सर्वसाधारणलाई जानकारी नभएका कारण त्यसको जानकारीका लागि पनि महोत्सव उपयोगी हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री