भ्रमण असमझदारी अन्त्य गर्न केन्द्रित हुन्छ ः प्रम

प्रधानमन्त्री केपी शर्मा ओली फाइल तस्विर । तस्बिरः रासस

प्रधानमन्त्री केपी शर्मा ओली फाइल तस्विर । तस्बिरः रासस

काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते शुक्रबारदेखि सुरू हुने भारत भ्रमण दुई देशबीचको असमझदारी अन्त्य गर्दै सम्बन्ध सुधारतर्फ केन्द्रित हुने बताएका छन्  ।
नेपाल विश्व सम्बन्ध परिषद्को ६८ औँ वार्षिकोत्सवको यहाँ आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भोलिदेखि फागुन १२ गतेसम्म हुने भारत भ्रमणको क्रममा राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई ध्यानमा राखेर सम्बन्ध सुधार गर्ने बताए ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमालसहित ४६ सदस्यीय टोली भारत भ्रमणमा भोलि जाने भएको छ ।

यसैगरी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापिका–संसद्का सदस्य, नेपाल सरकारका मुख्यसचिव र सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा रहेका छन् ।

सम्पूर्ण समुदायको अधिकारलाई सुनिश्चित गरी प्रजातान्त्रिक प्रक्रियाबाट जारी गरिएको लोकतान्त्रिक संविधानको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेतर्फ सरकार केन्द्रित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

“संविधानमा सबैको शिक्षा, स्वास्थ्यलगायतको अधिकार सुनिश्चित गरिएको छ, समावेशी र समानुपातिक व्यवस्था गरिएको छ, संविधानमा सबै नागरिक समान छन्, यसको कार्यान्वयनमा सबैको उत्तिकै भूमिका हुनुपर्छ,” उनले भने ।

उनले पछिल्लो पटक मुलुकको राजनीतिक अवस्था स्थिर हुँदै गएको र आगामी दिनमा अझै सुधार हुँदै जाने विश्वास व्यक्त गरे । वर्तमान सरकार जनताका समस्या सम्बोधन गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

परिषद्ले विदेशबाट उत्कृष्ट अर्थमन्त्रीको पुरस्कार प्राप्त गर्न सफल नेपाली काँग्रेसका नेता डा रामशरण महतलाई सम्मान पनि गरेको छ । सोही अवसरमा नेता महतले राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोगमा भूकम्पपछिको पुनःनिर्माण कार्यलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिए ।

परिषद्का अध्यक्ष डा राजेन्द्रबहादुर श्रेष्ठले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुक निर्माणको बाटोमा अगाडि बढ्न विभिन्न राजनीतिक दलका नेतासँग आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री