काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटन समारोह स्थानीय खुलामञ्च र बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ ।
दलका पदाधिकारी, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका १३ विभिन्न समितिका संयोजकको आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।
“यसअघि महाधिवेशनको उद्घाटन समारोह दशरथ रङ्गशालामा गर्ने भनिए पनि खुलामञ्चमा गर्न उचित हुने सुझाव आएपछि आज निरीक्षण गरिएको छ, खुलामञ्च नै उद्घाटनका लागि उपयुक्त छ भन्ने निष्कर्षमा पदाधिकारी पुगेका छन्”–निरीक्षणपछि रासससँग कुरा गर्दै केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने ।
सभापति सुशील कोइरालाको गत माघ २६ गते निधन भएपछि माघ मसान्तसम्म जिल्ला अधिवेशनलगायत महाधिवेशन तयारीका काम स्थगन गरिएको थियो । काँग्रेस महाधिवेशनको तयारीका विषयमा सभापति कोइरालाको निधनपछि आज पहिलो पटक औपचारिक बैठक बसेको थियो ।
बैठकमा महाधिवेशनको व्यवस्थापन, निर्वाचन, स्वयम्सेवकलगायत विषयमा छलफल भएको र महाधिवेशन उद्घाटनको एक साता अगावै सबै तयारी सम्पन्न गर्ने गरी काम गरिने निर्णय समेत भएको केन्द्रीय सदस्य जोशीले जानकारी दिए । सभापति कोइरालाको आकस्मिक निधनले केही दिन महाधिवेशन तयारीका काममा बाधा पुगे पनि यही फागुन २० गते उद्घाटन गर्न भ्याउने गरी काम अघि बढेको काँग्रेसले जनाएको छ ।
बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन सबैको सहमतिमा सम्पन्न हुने विश्वास व्यक्त गरे । आजको बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमका विषयमा पनि सामान्य छलफल भएको छ ।
कावा सभापति रामचन्द्र पौडेलको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौलालगायत नेता, उपलब्ध केन्द्रीय सदस्य एवम् तयारी गर्न गठन गरिएका १३ समितिका संयोजकको सहभागिता थियो ।
यसैबीच, नेपाली काँग्रेसको काठमाडौँ जिल्ला अधिवेशन आगामी फागुन ४ र ५ गते हुने भएको छ । नेपाली काँग्रेस काठमाडौँका सभापति, निर्वाचन अधिकृत र क्षेत्रीय सभापतिसहित आज बसेको बैठकले निर्वाचनको प्रक्रिया फागुन ४ गतेबाट थालिने र मतदान ५ गते गर्ने निर्णय गरेको हो ।
काँग्रेस काठमाडौँका निर्वाचन अधिकृत श्यामराज ढुङ्गेलले फागुन ४ गते उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन गर्ने र ५ गते बिहान ८ बजेदेखि १२ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
माघ २६ मा हुने भनिएको जिल्ला अधिवेशन केन्द्रीय सभापति सुशील कोइरालाको निधन भएपछि स्थगित भएको थियो ।
काठमाडौँको जिल्ला अधिवेशनमा एक हजार २७३ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]