नाम जस्तै काम पनि ‘सुशील’

Sushil_Koi

काठमाडौँ, २७ माघ । नेपाली काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई नेपाली जनताले नाम र काम दुवै सुशील भएको व्यक्तिका रुपमा स्मरण गरेका छन् ।

हातमा दुई वर्षको बच्चा बोकेर आँखाबाट आँसु खसाल्दै पाल्पाको याम्गा गाविसबाट रात्रिबस चढी कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिन काठमाडौँ आउनुभएकी सुनिता अधिकारीले स्व कोइरालाको निधनले नेपाली काँग्रेसमा नेतृत्वको अभाव खड्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काँग्रेस स्व कोइरालाको निधन सँगै अभिभावकविहीन भएको छ ।”

सबैलाई मिलाएर लाने क्षमता रहेको र उहाँ परिवारभन्दा देशलाई माया गर्ने नेताका रुपमा उहाँले स्मरण गर्नुभयो ।

गोरखा पृथ्वीनारायण नगरपालिकाबाट बिहान आउनुभएका जनआन्दोलन २०६२, ६३ का घाइते हरिबहादुर रानामगरले स्व कोइरालाको निधनले लोकतन्त्रको धरोहर ढलेको बताउनुभयो । उहाँले कोइरालाको निधनले मुलुकको राजनीतिमा ठूलो क्षति पुगेको पनि उल्लेख गर्नुभयो ।

मोरङको उर्लाबारीबाट कोइरालालाई श्रद्धाञ्जलि दिन काठमाडौँ आउनुभएकी छत्रमाया थापाले नेपाली राजनीतिमा कसैले गर्न नसकेको संविधानसभाबाट संविधान जारी गर्ने अवसर उहाँको कार्यकालमा पूरा भएकाले उहाँ सफल राजनीतिज्ञ भएको उल्लेख गर्नुभयो । थापाले भन्नुभयो, “कोइरालाको सादगी जीवन, जनताप्रतिको निष्ठा तथा राजनीतिप्रतिको आदर्श सधैँका लागि स्मरणीय रहनेछ ।”

काँग्रेस सभापति कोइरालाको निधनको खबर पत्याउन बाँके जिल्ला कोहलपुरबाट आउनुभएका बलराम शर्मालाई गाह्रो भएको रहेछ । उहाँले भन्नुभयो, “स्वर्गीय कोइराला नेपाली काँग्रेसको सभापति र आफ्नो गृहजिल्लाको नेता भएकाले राजनीतिक गुरु गुमाउनु परेको छ ।”

बाँके घर भई कोइरालालाई श्रद्धाञ्जलि दिन काठमाडौँ आउनुभएकी उमा थापामगरले स्व कोइराला इमान्दार र सधैँ देशका बारेमा मात्र सोच्ने व्यक्ति भएको बताउनुभयो ।
कोइरालासँग निकै नजिकको सम्पर्कमा रहनुभएकी थापाले उहाँले युवालाई सधैँ धैर्य र जिम्मेवारीपूवर्क काम गर्न दिएको सल्लाह निकै महत्वपूर्ण भएको बताउनुभयो ।

सिरहा कर्जनहाका विश्वनाथप्रसाद शाहले हिमाल, पहाड, तराई, पूर्व, पश्चिम सबै जनताको भावनाप्रति सम्मान दर्शाउने नेताका रुपमा स्मरण गर्नुभयो ।
गुल्मीका भागवत ज्ञवालीले भ्रष्टाचारीमाथि कारवाही गर्न लगाउने विश्वकै सबैभन्दा गरिब प्रधानमन्त्री कोइराला भएकामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई गर्व लागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “उहाँको नेपाली जनताप्रति देखाएको इमान्दारितालाई सबैले मूल्याङ्कन गर्नुपर्छ ।”

स्वर्गीय कोइरालाको गृहनगर नेपालगन्ज यति बेला चिन्तामा डुबेको छ । जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने एक मात्र नेतालाई गुमाएपछि बाँकेका युवा नेता तप्त पौडेल बाँके र केन्द्रको पुलको रुपमा रहनुभएका कोइरालाको निधनले पुल भाँचिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

मोरङका सुवास पौडेल आठ वर्षदेखि बन्न नसकेको सविधान बनाएर देशलाई अस्थिर हुनबाट जोगाएको श्रेय दिनुहुन्छ । उहाँले भन्नुभयो– “देशलाई संविधान त दिनुभयो । त्यसको कार्यान्वयन पक्ष बाँकी थियो । त्यो काम महन्वपूर्ण काम गर्न नपाई उहाँले मृत्युवरण गर्नुभएकाले चिन्ता भएको छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री