
काठमाडौँ, २७ माघ । नेपाली काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई नेपाली जनताले नाम र काम दुवै सुशील भएको व्यक्तिका रुपमा स्मरण गरेका छन् ।
हातमा दुई वर्षको बच्चा बोकेर आँखाबाट आँसु खसाल्दै पाल्पाको याम्गा गाविसबाट रात्रिबस चढी कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिन काठमाडौँ आउनुभएकी सुनिता अधिकारीले स्व कोइरालाको निधनले नेपाली काँग्रेसमा नेतृत्वको अभाव खड्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काँग्रेस स्व कोइरालाको निधन सँगै अभिभावकविहीन भएको छ ।”
सबैलाई मिलाएर लाने क्षमता रहेको र उहाँ परिवारभन्दा देशलाई माया गर्ने नेताका रुपमा उहाँले स्मरण गर्नुभयो ।
गोरखा पृथ्वीनारायण नगरपालिकाबाट बिहान आउनुभएका जनआन्दोलन २०६२, ६३ का घाइते हरिबहादुर रानामगरले स्व कोइरालाको निधनले लोकतन्त्रको धरोहर ढलेको बताउनुभयो । उहाँले कोइरालाको निधनले मुलुकको राजनीतिमा ठूलो क्षति पुगेको पनि उल्लेख गर्नुभयो ।
मोरङको उर्लाबारीबाट कोइरालालाई श्रद्धाञ्जलि दिन काठमाडौँ आउनुभएकी छत्रमाया थापाले नेपाली राजनीतिमा कसैले गर्न नसकेको संविधानसभाबाट संविधान जारी गर्ने अवसर उहाँको कार्यकालमा पूरा भएकाले उहाँ सफल राजनीतिज्ञ भएको उल्लेख गर्नुभयो । थापाले भन्नुभयो, “कोइरालाको सादगी जीवन, जनताप्रतिको निष्ठा तथा राजनीतिप्रतिको आदर्श सधैँका लागि स्मरणीय रहनेछ ।”
काँग्रेस सभापति कोइरालाको निधनको खबर पत्याउन बाँके जिल्ला कोहलपुरबाट आउनुभएका बलराम शर्मालाई गाह्रो भएको रहेछ । उहाँले भन्नुभयो, “स्वर्गीय कोइराला नेपाली काँग्रेसको सभापति र आफ्नो गृहजिल्लाको नेता भएकाले राजनीतिक गुरु गुमाउनु परेको छ ।”
बाँके घर भई कोइरालालाई श्रद्धाञ्जलि दिन काठमाडौँ आउनुभएकी उमा थापामगरले स्व कोइराला इमान्दार र सधैँ देशका बारेमा मात्र सोच्ने व्यक्ति भएको बताउनुभयो ।
कोइरालासँग निकै नजिकको सम्पर्कमा रहनुभएकी थापाले उहाँले युवालाई सधैँ धैर्य र जिम्मेवारीपूवर्क काम गर्न दिएको सल्लाह निकै महत्वपूर्ण भएको बताउनुभयो ।
सिरहा कर्जनहाका विश्वनाथप्रसाद शाहले हिमाल, पहाड, तराई, पूर्व, पश्चिम सबै जनताको भावनाप्रति सम्मान दर्शाउने नेताका रुपमा स्मरण गर्नुभयो ।
गुल्मीका भागवत ज्ञवालीले भ्रष्टाचारीमाथि कारवाही गर्न लगाउने विश्वकै सबैभन्दा गरिब प्रधानमन्त्री कोइराला भएकामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई गर्व लागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “उहाँको नेपाली जनताप्रति देखाएको इमान्दारितालाई सबैले मूल्याङ्कन गर्नुपर्छ ।”
स्वर्गीय कोइरालाको गृहनगर नेपालगन्ज यति बेला चिन्तामा डुबेको छ । जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने एक मात्र नेतालाई गुमाएपछि बाँकेका युवा नेता तप्त पौडेल बाँके र केन्द्रको पुलको रुपमा रहनुभएका कोइरालाको निधनले पुल भाँचिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
मोरङका सुवास पौडेल आठ वर्षदेखि बन्न नसकेको सविधान बनाएर देशलाई अस्थिर हुनबाट जोगाएको श्रेय दिनुहुन्छ । उहाँले भन्नुभयो– “देशलाई संविधान त दिनुभयो । त्यसको कार्यान्वयन पक्ष बाँकी थियो । त्यो काम महन्वपूर्ण काम गर्न नपाई उहाँले मृत्युवरण गर्नुभएकाले चिन्ता भएको छ ।”
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा