चितवनमा गत वर्ष मारिएनन् गैंडा

चितवनमा आइतबार ‘सून्य चोरी सिकार वर्ष २०१५’ मनाइएको अवसरमा सन् २०१५ मा गैँडा संरक्षणमा सक्रिय एवम् महत्वपूर्ण योगदान गर्ने संरक्षणकर्मीलाई सम्मान गर्दै वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटा । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर, चितवन, रासस

चितवनमा आइतबार ‘सून्य चोरी सिकार वर्ष २०१५’ मनाइएको अवसरमा सन् २०१५ मा गैँडा संरक्षणमा सक्रिय एवम् महत्वपूर्ण योगदान गर्ने संरक्षणकर्मीलाई सम्मान गर्दै वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटा । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर, चितवन, रासस

रत्ननगर (चितवन), २४ माघ । सन् २०१५ मा कुनै पनि गैँडा चोरी सिकारबाट नमारिएको खुसियालीमा आज चितवनमा ‘सून्य चोरी सिकार वर्ष २०१५’ मनाइएको छ ।

यसअघि सन् २०११ र २०१३ मा सून्य चोरी सिकार वर्ष मनाइसकिएको छ । वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिले कार्यक्रम गरेको हो । विसं २०७१ वैशाख २० देखि आजसम्म ६४५ दिन नै शून्य चोरी सिकार अवधि रहेको निकुञ्ज विभागका महानिर्देशक तथा वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिका सदस्य सचिव फणीन्द्रराज खरेलले जानकारी दिए ।

कार्यक्रममा वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले सून्य चोरी सिकार मनाउन सफल हुनु प्रकृति र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण आयाम भएको र यसले सामूहिक प्रयासको नयाँ सन्देश दिएको बताए । “हामी गर्न सक्छौँ भन्ने सन्देश यो उपलब्धिले दिएको छ, सामूहिकता नै सबैभन्दा ठूलो कुरा हो भनेर पाठ समेत सिकाएको छ, यसले अन्तर्राष्ट्रियरुपमै गौरव बढाएको छ ”, मन्त्री सापकोटाले भने ।

नेपालमा प्रहरी, सेना, स्थानीयवासी र संरक्षणकर्मीको संयुक्त सहभागितामा संरक्षण भइरहेको छ । वन्यजन्तु संरक्षणमा जनस्तरमा चेतना अभिवृद्धि भएको र वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणमा प्रभावकारी कार्यसम्पादन भएकाले संरक्षण सफल भएको चितवन निकुञ्जको निष्कर्ष छ ।

नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्ज गैँडाको मुख्य वासस्थान छ । सन् १९५० को दशकमा ८०० को सङ्ख्यामा रहेको अनुमान गरिएको गैँडा विसं २०२४, २५ तिर ८१ देखि १०० मा झरेको अनुमान गरिएको थियो । हालैको गैँडा गणनाबाट नेपालमा ६४५ र चितवन निकुञ्जमा गैँडाको सङ्ख्या ६०५ रहेको तथ्याङ्क छ । चोरी सिकार नियन्त्रणका लागि निकुञ्ज कार्यालयमा चोरी सिकार प्रतिरोध एकाइ स्थापना गरी सुराकी परिचालन, सुराक सङ्कलन कार्य गरिएको निकुञ्जले जनाएको छ ।

यस्तै कुकुरको प्रयोगसँगै अत्याधुनिक प्रविधिको प्रयोग गरेर गस्ती हुने गरेको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । यसैबीच आज सून्य चोरी सिकार वर्ष मनाउने कार्यक्रममा संरक्षणमा सक्रिय भएका आठ संस्था र १३ संरक्षणकर्मीलाई कदरपत्रसहित सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री