तुयुमतिबाट उत्साहित छन् मनिष

untitled-580

लन्डन । लन्डनमा अचेल कार्यक्रम अलिक बढि नै हुने भएर होला, केही गर्न खोज्दा आयोजक दर्शक नपाएर निरास हुन्छन् । नेपालबाट को आयो, को गयो पत्तै हुन्न । यतिखेर इन्दिरा जोशी र सुनिता दुलाल यूके टुरमा दौडिरहेका छन्, धेरैलाई थाहै छैन् । अझ नेपाली फिल्म प्रदर्शनमा दर्शक सहभागिता त झन् विजोक हुन्छ जुन गत साता तीन घुम्ती च्यारिटीमा देखियो । यो तीतो यथार्थबीच नेपाल भाषाको चलचित्र तुयुमतिको रेड कार्पेट प्रिमियर शो भने सोचेभन्दा सफल भएर दंग छन् अभिनेता एवं निर्देशक मनिष श्रेष्ठ ।

लन्डन ह्यारोस्थित सफारी सिनेमा हलमा शनिबार गरिएको प्रिमियर शो हेर्न दर्शक उपस्थिति उल्लेख्य मात्र रहेन, अधिकांशले फिल्म पनि रुचाइदिए । न ग्ल्यामर, न व्यवसायिक लाभबाट प्रेरित । सामाजिक विषयवस्तु, नेवारी संस्कृति र भेषभुषा, कलाकारको अभिनयमा पनि कृत्रिमता केही भेटिन्न । पट्यारलाग्दो लामो पनि 
छैन् । सायद यिनै कारण सहभागी दर्शक प्रायले फिल्म रुचाए । फिल्मको अंग्रेजी सव टाइटिल भएर गैर नेवारहरुले पनि सिनेमाको कहानी मज्जाले बुझे ।

नेपालबाट हेर्दा सपनाको सुन्दर देश हो बेलायत । तर, यहां आइसकेपछिको पीडा र दुःख के कति हुन्छ भोग्नेलाई मात्र थाहा छ । यस्तै वास्तविक सन्देश बोकेको उक्त फिल्म प्रिमियरमा प्राध्यापक डा. डेभिड गेल्नर, पासा पुचः गुठी लन्डनका अध्यक्ष कपिल श्रेष्ठ, पासा पुचः यूके बोर्ड अफ ट्रष्टी महन्त श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिएका थिए । उक्त अवसरमा कानुनवेत्ताहरु डा. ए मल्लिक र अन्जली गर्गले श्रेष्ठको अघिल्लो फिल्म महत्वाकांक्षाको डिभिडी विमोचन गरे ।

ओजेश सिंहले सञ्चालन गरेको औपचारिक कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोललाई कसैले नाम लिएन । बरु, अभिनेता मनिष श्रेष्ठले फिल्मका कलाकारसहित अंग्रेजी फिल्मका निर्देशक ललित भुषाल लगायतलाई चिनाएका थिए ।

अभिनेता श्रेष्ठ अब यसलाई विश्वव्यापी प्रदर्शनको सोचमा छन् । हुन त मनिषलाई यो फिल्म चलाएर न दाम कमाउनु छ, न नाम । उनी केवल नेपाल भाषाको संरक्षण र विदेशमा नेपाली चलचित्र प्रवर्धनको स्वार्थ लिएर भौंतारिरहेका छन् । श्रेष्ठले सोही फिल्म आगामी २८ फेब्रुअरीका दिन एसियन कम्युनिटी हल, प्लमस्टिडमा समेत देखाइने जनाए । उक्त दिन नेपाली भाषामै हेर्न सक्छन् दर्शकले ।

नेपाल र बेलायतमा छायांकन गरिएको उक्त फिल्म अनु श्रेष्ठ (निर्मात्री), देवेन्द्र श्रेष्ठ र दीपक श्रेष्ठले निर्माण गरेका हुन् ।
तुयुमतिको बेलायत भाग निर्देशन मनिष श्रेष्ठ, छायांकन कुशल श्रेष्ठ र नेपाल भागको निर्देशन आरएम नकमी एवं छायांकन राजु कार्कीले गरेका छन् ।
फिल्ममा मनिष श्रेष्ठ, अर्नेश्वरी शिल्पकार, मदनकृष्ण श्रेष्ठ, राजेन्द्र खड्गी, हिसिला महर्जन, धिरेन शाक्य, सविन शाक्य, राजाराम पौडेल, ह्दयप्रसाद मिश्र, सुनिता सिंह, सुशील प्रजापति, विनोद चिपालु, दीपा शाक्य लगायत यूके र नेपालका कलाकारको अभिनय छ । यसमा बेलायती प्राध्यापकको समेत अभिनय देख्न सकिन्छ ।

तस्विरहरुः के के मुभिज प्रोडक्शन

tuyumati1

 

untitled-575

untitled-605

untitled-598

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री