ब्रुनाइमा गोरखा सैनिक पठाउने भारतकाे प्रस्ताव, सेवारत गोरखाको भविष्य संकटमा

Brunei

गाेरखा सैनिकहरूसित ब्रुनाइका सुल्तान

 

लण्डन । भारतले ब्रुनाइको सुरक्षाका लागि गोरखा सैनिक पठाउन प्रस्ताव राखेको छ ।
ब्रुनाइ भ्रमणमा रहेका भारतका उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले ब्रुनाइका सुल्तानसमक्ष सो प्रस्ताव राखेका हुन् ।
भारतीय मिडियाको हवाला दिँदै द टेलिग्राफले यसबारे बुधबार समाचार प्रकाशन गरेको छ ।
भारतको यो प्रस्तावसँगै बेलायतको एसियामा रहेको अन्तिम सैनिक पोष्टको भविष्यलाई जोखिममा पारेको छ ।
अहिले बेलायतले ब्रुनाइमा १ हजार गोरखा सैनिक उपलब्ध गराउँदै आएको छ ।
ब्रुनाइ करिब एक शताब्दीसम्म बेलायतको सुरक्षा छातामा थियो । सन् १९८४ मा स्वतन्त्र भएयता सैनिक सुरक्षा उपलब्ध गराए वापत ब्रुनाइले बेलायतलाई पैसा तिर्दै आएको छ ।
पछिल्ला वर्षहरुमा ब्रुनाइ भारत र चीनसित साउथ चाइना सीका बारेमा विवादमा पर्दै आएको छ ।
भारतीय पत्रिका इण्डियन एक्सप्रेसका अनुसार भारतले सेवानिवृत्त गोरखा सैनिकहरुलाई पनि ब्रुनाइको सुरक्षामा उपलब्ध गराउन सक्ने प्रस्ताव राखेको थियो । जसले हाल बेलायतले उपलब्ध गराउँदै आएको सेवालाई विस्थापित गर्ने छ ।
यदि भारतको प्रस्ताव ब्रुनाइले स्वीकार गरेमा बेलायतले पाउँदै आएको दशौँ लाख पाउण्ड गुमाउने छ । ब्रुनाइले सो वापत १ हजार ब्रिटिश सैनिक उपलब्ध गराउने गरेको छ ।
तेलको धनी ब्रुनाइ अहिले तेलको मूल्यमा आएको विश्वव्यापी गिरावटका कारण सुरक्षा खर्च कटौती गर्न सोचिरहेको अवस्थामा भारतको सो प्रस्ताव आएको हो ।
हालै हस्ताक्षर गरिएको सम्झौता अनुसार ब्रुनाइको प्रतिनिधिमण्डल सम्भावित सहयोगका क्षेत्रका बारेमा बुझ्न भारत जाने भएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सो प्रस्ताव पेश गरिएको इन्कार नगरे पनि ठोस प्रस्ताव नभएको प्रष्ट्याए । उनले सैनिकभन्दा पनि अंगरक्षक पठाउन सकिने बताए ।
आधिकारिक भ्रमणको अन्त्यमा बुधबार हस्ताक्षर गरिएको दुईपक्षीय सुरक्षा सम्झौतामा चीनसित विवादित समुन्द्री तटमा संयुक्त सैनिक तालिम र अभ्यास गर्ने लगायतका छन् ।
भारत अहिले दक्षिण पूर्वी एसियाका मुलुकहरुसित दरिलो सम्बन्ध बनाउन लागि परेको छ । चीनलाई टक्कर दिन पनि भारतले सो नीति लिएको हो ।
भारतले ब्रुनाइबाट ठूलो परिमाणमा इन्धन आयात गर्ने गरेको छ भने ब्रुनाइमा करिब १० हजार भारतीय परिवार रहेको बताइन्छ ।
गत वर्ष बेलायत भ्रमणमा आएका ब्रुनाइका सुल्तानले रोयल गोरखा राइफल्सलाई थप पाँचवर्ष ब्रुनाइमा राख्न सम्झौता नविकरण गरेका थिए ।
बेलायतले एक बटालियन गोरखा सैनिक ब्रुनाइमा राख्ने गरेको छ भने अर्को बटालियन बेलायतको फोल्कस्टनमा । यसबाहेक पूर्व गोरखा सैनिकहरुलाई समेटेर ब्रुनाइमा गोरखा रिजर्भ युनिट पनि खडा गरिएको छ ।
बेलायती रक्षा स्रोतका अनुसार भारतसित सम्झौता भइहालेमा सेवारत गोरखा सैनिकलाई नभई गोरखा रिजर्भ युनिटलाई प्रभावित बनाउन सक्ने छ ।
बेलायती रक्षा मन्त्रालयका प्रवक्ताले कुनै पनि देशबाट सुरक्षा सेवा लिनु ब्रुनाइ सरकारको तजबिजको कुरा भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री