उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकमा ओलीको भारत भ्रमणबारे छलफल

सिंहदरबारमा आज भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली, संयन्त्रका संयोजक एवम् एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललगायत सत्तारुढ दलका नेताहरु । तस्विर ः भीष्मराज ओझा, रासस

सिंहदरबारमा आज भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली, संयन्त्रका संयोजक एवम् एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललगायत सत्तारुढ दलका नेताहरु । तस्विर ः भीष्मराज ओझा, रासस

काठमाडौँ, १७ माघ । सरकार सञ्चालनका लागि समन्वय गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल भएको छ ।

संयन्त्रको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्रीको भारत भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा प्रारम्भिक छलफल भएको छ । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामको समीक्षा, मधेस आन्दोलन र नाकाबन्दीबारे कार्यसूची प्रस्तुत भएको संयन्त्रका संयोजक एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिनुभयो ।

नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनालले समय अपुग भएकाले आजै साँझ बस्ने संयन्त्रको बैठकमा थप छलफल हुने जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबराले बैठकमा आफूले सीमाको अवरोध मात्र मधेसको समस्या नभई प्रान्तीय सीमाको विषय पनि जोडिने भएकाले त्यस बारेमा गम्भीर छलफल हुनुपर्ने धारणा राखेको जानकारी गराउनुभयो ।

बैठकमा एमालेका नेता माधवकुमार नेपाल, मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलगायत सत्तागठबन्धन दलका नेता उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री