सरकारको काम प्रभावकारी नभएको एमाओवादी मन्त्रीकै ठहर

नारायणकाजी श्रेष्ठ

नारायणकाजी श्रेष्ठ

काठमाडौँ, १४ माघ । सरकारको काम कारबाही प्रभावकारी र जनपक्षीय नभएको समीक्षासहित एकीकृत नेकपा(माओवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भीर संवाद गर्ने भएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समिति सदस्य र सरकारमा सहभागी मन्त्रीको संयुक्त बैठकले सरकारको काम प्रभावकारी हुन नसक्नाको कारणबारे छलफल गर्ने निर्णय गरेको हो ।

भूकम्पपछिको पुनःनिर्माण, भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको समग्र क्षेत्रमा प्रभाव परेको भए पनि सरकारले सोचेअनुसारको कार्यप्रगति गर्न नसकेको, जनता र मुलुकको पक्षमा हुने जति काम हुन नसकेको भन्दै अध्यक्ष दाहालले प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष ओलीसँग संवाद गर्ने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

विगत तीनदेखि जारी स्थायी समिति तथा मन्त्रीको संयुक्त बैठकमा एमाओवादीको तर्फबाट सरकारमा सहभागी मन्त्रीको कार्यशैली प्रभावकारी नभएको, जनतासँग प्रत्यक्ष जोडिने मन्त्रालयको नेतृत्व गरेपनि जनताको पक्षमा काम नभएको, जनताले अनुभव गर्ने गरी काम हुनुपर्ने आवाज सर्वत्र उठेपनि मन्त्रीको कार्यशैली प्रभावकारी र वैज्ञानिक हुन नसकेको भन्दै आलोचना भएको थियो ।

उपप्रधानमन्त्रीसहित वर्तमान सरकारमा एमाओवादीका तर्फबाट आठ मन्त्री रहेका छन् । सरकार गठन भएको चार महिना पूरा हुन लाग्दासमेत जनताले नयाँ सरकारको गति र क्रियाशीलता महसुस गर्न नपाएको भन्दै बुधबारको बैठकमा स्थायी समिति सदस्यले मन्त्रीको चर्को आलोचना गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले प्रभावकारी काम गर्न नसक्नुको कारण के हो ? जनताले अनुभव गर्ने गरी कार्यप्रगति कहिले हुन्छ ? आगामी योजना के के छन् ? भन्ने विषयमा ती सदस्यले आ–आफ्ना धारणा राखेको बताउनुभयो ।

बैठकले तत्काल जनताले अनुभव गर्ने गरी नयाँ कार्ययोजना ल्याउन र त्यसलाई लागू गर्न निर्देशनसमेत दिएको छ । एमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले एकाध दिनभित्रै जनताको पक्षमा कार्ययोजना ल्याउने र त्यसको प्रभावकारी कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

उच्चस्तरीय संयन्त्रको बैठक बोलाइने  
बैठकले सरकारमा सहभागी दलको उच्चस्तरीय संयन्त्रको बैठक तत्काल बोलाउने र सरकारको काम कारबाही प्रभावकारी रुपमा अगाडि बढाउन पहल गर्ने निर्णय गरेको छ । संयन्त्रको संयोजक अध्यक्ष दाहाल हुनुहुन्छ । सरकारमा सहभागी दलहरुबीच समन्वय हुन नसक्दा सरकारको कामसमेत प्रभवकारी हुन सकेको छैन ।

“बुझाइमा एकमत होओस्, सरकारको काम प्रभावकारी होओस् भनेर संयन्त्रका संयोजकले केही दिनभित्रै संयन्त्रको बैठक बोलाउनुहुन्छ र सरकारको समग्र काम कारबाहीका बारेमा समीक्षा गरिनेछ” – उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

समितिको संयोजकको राजीनामा फिर्ता  
एमाओवादीको तर्फबाट सरकारमा सहभागी मन्त्रीको समन्वय गर्न गठित उच्चस्तरीय सरकार सञ्चालन तथा समन्वय समितिको संयोजक नारायणकाजी श्रेष्ठले दिनुभएको राजीनामा स्थायी समिति बैठकले अस्वीकृत गरेको छ । सरकार सञ्चालन समितिलाई थप प्रभावकारी बनाउने निर्णय बैठकबाट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री