किरात संवत् ५०७५ को गणनाको आधारै भेटिएन

kirat yalambar sambat
लण्डन ।   किरात नयाँ वर्ष भित्रिनै लाग्दा किरात यलम्बर सम्वत्बारे यहाँएक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गत १० जनवरी २०१६ का दिन आसफोर्ड युकेमा सम्पन्न साे कार्यक्रममा विज्ञहरूले किरात सम्वत बारे तथ्यप्रमाणसहितकाे सम्वत प्रचलनमा ल्याउनुपर्ने बताएका थिए ।
कार्यक्रममा स्वतन्त्र खोजकर्ता प्रसाद थेवेले हाल प्रचलनमा रहेको किरात संवतमध्ये ५०७५ को गणनाको आधार नभेटाइएको र लामो समयदेखिको खोजबाट प्राप्त प्रमाणअनुसार किरात संवत ३७९५ हुन आएको बताए । अब विस्तारै तथ्यगत र प्रमाणित संवत् नै प्रचलनमा ल्याउनु पर्नेमा उनले जाेड दिए । थेबेले वि.स. २०५२ देखि किरात संवत बारेमा लेख लेख्दै आएका छन् ।
लामो समयदेखि अध्ययन र अनुसन्धान भइरहेको भएपनि किरात येले सम्वत अध्ययन समिति सन् २००९ मा गठन गरी पटकपटकको गोष्ठी हुँदै सन् २०१२ अन्तर्राष्ट्रिय सम्मेलन गरी प्राप्त प्रमाण र गणनाको आधारबाट ३७९५ संवत् हुने दस्तावेज सार्वजनिक गरेको थियो । सम्मेलनले नाममा एकरुपता ल्याउन येले दोङ्ग, येले तङ्बे, येले थोचेलाई अब उप्रान्त किरात यलम्वर संवत् नामाकरण गरेको छ । खोज र सहमति अनुसार यो वर्ष किरात यलम्बर संवत् ३७९५ को शुभ कामना ब्यक्त गर्नुपर्ने हुन्छ ।
किरातकाल, लिच्छविकाल, मल्लकाल र शाहकाल मात्र इतिहासमा भेटिएकोले गणनाको अवधि ५०७५ पुग्न नसकेको सहभागिहरुले चर्चा गरे । अन्तरक्रिया कार्यक्रममा पपीराज राई, जानुका राई, धन रोगु याख्खा, राजेन्द्र खिम्दिङ, काजी साम्यो, सुदिप थोप्रा, टंक याङदेन, सुन्दर लिंङ्गथेप, चिरन राई, वल बहादुर राई लगायतले सक्रिय सहभागिता जनाएका थिए । किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष पदम राई, लिम्बुवान नागरिक समाजका संस्थापक प्रसाद थेवे अतिथि वक्ताको रुपमा थिए ।
किरात येले सम्वत् अध्ययन समन्वय समिति युकेको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखाका अध्यक्ष पूर्ण मादेनले गरेका थिए । अन्तरक्रिया कार्यक्रम नयाँ वर्षको शुभ कामना आदानप्रदान गर्न तथा प्राप्त जानकारीहरु एकआपसमा आदान प्रदान गर्नको लागि मात्र गरिएको र कुन संवत् सही हो भन्न नमिल्ने आयोजकले बताए । कार्यक्रमलाई संचालन तथा संयोजन विश्वास दीप तिगेलाले गरेका थिए ।
प्रत्येक वर्षको माघ १ गते अर्थात यस वर्ष १५ जनवरी २०१६ का दिन किरात नयाँ वर्षको शुरुवात हुने गर्छ । अध्ययन समन्वय समिति र यलम्बर फाउन्डेनले किरात पात्रो पनि निर्माण गरि धेरै अघि बढिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री