
काठमाडौँ । लामो समयदेखि व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध भएपछि सभामुख ओनसरी घर्तीले आज आयोजना गर्नुभएको प्रमुख दलको बैठक बिनानिष्कर्ष सकिएको छ ।
सभामुख घर्तीको कार्यकक्ष सिंहदरबारमा भएको प्रमुख दलको बैठकमा नेपाली काँग्रेसले संविधान संशोधन विधेयक र भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयकलाई सँगै कार्यसूचीमा राख्नुपर्ने धारणा राखेको थियो ।
यस्तै सत्तारुढ दलले भने भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी प्राधिकरण गठनसम्बन्धी विधेयकलाई सदनमा पहिलो कार्यसूचीका रुपमा राख्ने र सोलगत्तै संविधान संशोधनसम्बन्धी विधेयक राखेर समस्याको समाधान गर्ने बताएको थियो । तर दुवै विधेयकलाई सँगै प्रस्तुत गर्नुपर्ने काँग्रेसका नेताको अडानका कारण आजको बैठक पनि निष्कर्षमा पुग्न नसकेको हो ।
तराई मधेसमा आन्दोलनरत दलले भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक प्रस्तुत गर्न अवरोध नगर्ने बताइरहेका बेला काँग्रेसले अवरोध गरेको भन्दै सत्तारुढ दलका नेताले आपत्ति प्रकट गर्दै आउनुभएको छ । संविधान संशोधनसम्बन्धी तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले सदनमा प्रस्तुत गरेको विधेयकलाई प्रमुख दलले समर्थन गरिसकेका छन् ।
तर पुनःनिर्माणसम्बन्धी विधेयक र संविधान संशोधनसम्बन्धी विधेयकसँगै प्रस्तुत हुनुपर्ने काँग्रेसको अडानले सदनको कारबाही लामो समयदेखि अवरुद्ध हुँदै आएको छ । मधेसी मोर्चाले संविधान संशोधन विधेयक पेस भए सदन अवरुद्ध गर्ने बताउँदै आएको छ भने काँग्रेसले सो विधेयक प्रस्तुुत नगरी नछाडे अवस्था आएपछि आज प्रमुख दलको बैठक आयोजना गरिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले लगातार अवरुद्ध हुँदै आएको संसद् सञ्चालन गर्ने फरक फरक विकल्पमाथि सकारात्मक छलफल भएको जानकारी दिनुभयो ।
मङ्गलबार अपराह्न १ बजे बस्ने संसद्को बैठक अगाडि नै सदन सञ्चालन गर्ने विभिन्न विकल्पका बारेमा तीनै दलका शीर्ष नेताले जानकारी गराउँछौँ भनेर जानकारी गराउनुभएको उहाँको भनाइ छ ।
सभामुख घर्तीले भन्नुभयो, “सत्तापक्ष र प्रतिपक्ष दुवैले भोलिदेखि नै संसद् सञ्चालन गर्छौं भन्नुभएको छ । म त्यसमा विश्वस्त छु ।”
सदनमा पेस गरिएका दुवै विधेयक महत्वपूर्ण रहेको दल सहमतिमा पुग्छन् भन्ने विश्वास आफूलाई रहेको उल्लेख गर्दै उहाँले संविधान संशोधन र भूकम्पको पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयक दुवै एकैपटक अघि बढाए पनि हुने र सहमति हुन्छ भने छोटो समयको अन्तरालमा दुईमध्ये एकलाई अघि बढाए पनि हुने धारणा आफूले राखेको बताउनुभयो ।
एकीकृत नेकपा(माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सदन खुलाउने विषयमा सबै कोणबाट सकारात्मक छलफल भएको जानकारी दिँदै सदन खुलाउन प्रमुख प्रतिपक्षी दललाई आग्रह गरिएको बताउनुभयो ।
उहाँले काँग्रेसका तर्फबाट पार्टी सभापति एवम् संसदीय दलका नेता सुशील कोइराला आजको बैठकमा सहभागी नहुनु भएकाले आजको बैठकमा उठेका सबै विषय जानकारी गराउने र भोलि सदन सुरु हुनुभन्दा पहिल्यै सहमति गर्छौं भन्ने विश्वास दिलाउनुभएको उल्लेख गर्नुभयो ।
बैठकमा काँग्रेसका प्रतिनिधिले दुवै विधेयकसँगै राख्नुपर्नेमा जोड दिएको जानकारी दिँदै उपाध्यक्ष श्रेष्ठले एकैदिन फरक फरक समयमा बैठक राखेर दुईवटै विधेयक अगाडि बढाउने विषयमा छलफल भएको बताउनुभयो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वसभामुख सुवास नेम्वाङलगायत उपस्थित हुनुहुन्थ्यो । काँग्रेस सभापति सुशील कोइराला अस्वस्थताका कारण अनुपस्थित हुनुभएको थियो ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन