महेन्द्रनगर (धनुषा), २६ मङ्सिर । नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा आन्दोलनमा होमिएको शनिबार चार महिना पुगेको छ । साउन ३० गतेदेखि सुरु भएको आन्दोलन चार महिनामा प्रवेश गर्दा धनुषा, महोत्तरीसहित मध्य तथा पूर्वी तराई–मधेसका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ ।
महिनौदेखि जारी आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै आएका मोर्चाका स्थानीय नेता कार्यकर्तामा निरासापन छाउँदै गएको देखिन्छ ।
महोत्तरीको भिट्ठामोड नाका, धनुषाको जटहीनाका, सर्लाहीको मलङ्गवा–सोनवर्सा नाका अवरुद्ध पारेर २४ सैघण्टा धर्ना बसेका मोर्चाका कार्यकर्ता राज्यले मागप्रति चासो नदेखाउँदा आन्दोलन कति दिनसम्म गरिरहने भनेर दिक्क भएको बताउँछन् ।
आन्दोलन उचाईमा पुगेको बेला यि नाकाहरू अवरुद्ध पारेर धर्ना भएको थियो । महिनौँंसम्म आन्दोलन गर्दा पनि कुनै सुनवाई नभएपछि मोर्चाका कार्यकर्ता आजित भएर करिब दुई सातादेखि अनुपस्थित देखिएका छन् ।
त्यहाँ अहिले उनीहरूको धर्ना छैन , यता मधेसी मोर्चाका शीर्ष तीन नेताको गृह जिल्ला सर्लाहीको मलङ्गवा–सोनवर्सा मुख्य नाकाको त्रिपालसमेत एक सातादेखि हटाइएको छ । सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई –मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादवको गृह जिल्ला सर्लाहीमा आन्दोलन सिथिल छ । त्यहाँ स्कुल, कलेज, बजार, पसल पूर्णरुपमा खुला भएका छन् ।
अहिले जनकपुरको बजार पनि खुल्न थालेको देखिन्छ भने राजमार्ग आसपासका क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, गणेशमान चारनाथ नगरपालिकासहितका प्रायः ठाउँका बजार, शिक्षण संस्था पूर्णरुपमा सञ्चालन भएका छन् ।
यति लामो आन्दोलन हुँदा पनि माग सुनवाई नभएपछि धेरै साथी निराश भएर आन्दोलनमा आउन छाडेको आन्दोलनकारीले बताउन थालेका छन्, भने आमजनता पनि बन्द, हडतालदेखि आजित भएका छन् ।
यतिखेर निर्वाधरुपमा यातायात सञ्चालन नहुँदा बजार खुलेपनि महँगीसँगै तराईमा व्यापक कालोबजारी भइरहेको छ । किसानले खेत जोत्न नपाएर गहुँ, मसुरो र तेलहन बालीसमेत समयमा लगाउन पाएका छैनन् ।
आन्दोलनले किसानलाई ठूलो सङ्कटमा पारेको महेन्द्रनगरका किसान रामदेव यादवले बताउनुभयो ।
यद्यपि मोर्चा सम्बद्ध केही नेताले किसानको व्यस्तता र एक्कासि चिसो बढेका कारण सीमा नाकामा आन्दोलनमा उपस्थिति कम भएको बताउँछन् ।
मुख्य नाका ठप्प पारेर मोर्चाले धर्ना दिएपछि छोटी नाकाबाट भने व्यापक तस्करी भइरहेको आन्दोलनकारी स्वयम्ले स्वीकारेका छन् ।
ती नाकाबाट भइरहेको डिजेल, पेट्रोल, कपडा, खाद्यान्नलगायतका तस्करी भइरहेको छ । हिजोआज धर्नामा बस्नेको सङ्ख्या र उत्साहमा व्यापक कमी आएको मोर्चाकै नेता स्वीकार गर्छन् ।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा