
चितवन, २१ मङ्सिर । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का सांसदहरुले संविधानका अन्तरवस्तु तराईवासी बुझाउन नसक्दा भ्रम सिर्जना भएको बताएका छन् ।
एमालेको आजदेखि चितवनको सौराहामा सुरु भएको राष्ट्रिय भेलामा सहभागी भएका तराईका सांसदले तराई आन्दोलन लामो समयसम्म रहन दिन नहुनेमा पनि जोड दिएका छन् ।
एमाले रौतहटका सांसद लालबाबु यादवले संविधानका अन्तरवस्तु तराईवासीलाई बुझाउन माग गर्दै स्वदेशमै बसेर समस्याको समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । उहाँले तराई, पहाड र हिमाल सबै भेगका जनतालाई संविधानका विषयमा प्रष्ट जानकारी नगराएसम्म भ्रम रहिरहने बताउनुभयो । जुनसुकै देशको विदेश नीति जहिले पनि आफ्नै मुलुकको हितमा हुने भएकाले देशभित्रको समस्याबारे विदेशमा गएर ‘परामर्श, छलफल गर्ने र समस्या समाधान गरिदिन आग्रह गर्ने प्रवृत्ति’ गलत भएको उहाँले बताउनुभयो ।
धनुषाका सांसद रामअवतार पासवानले सबै जातिले यसरी नै अधिकार खोजे देश नरहने भन्दै संविधान संशोधन गरेर आफ्ना माग स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नै देशका जनतालाई दाल, चामल रोकेर कसैको माग पूरा हुन नसक्ने जिकिर पनि गर्नुभयो । एमालेलाई मधेसप्रति उदार नभएको भन्ने आरोप लगाएर जिम्मेवारीबाट पन्छन नखोज्न पनि उहाँले आग्रह गर्नुभयो ।
मोरङका सांसद मीनादेवी यादवले संविधानले सबैलाई समेटेको बताउनुभयो । उहाँले सीमाङ्कनका विषयमा आफ्नो पार्टी सकारात्मक रहेको भन्दै प्रष्ट ‘एजेन्डा’सहित नेपालमै बसेर सरकारसँग वार्ता गर्न असन्तुष्ट पक्षलाई आग्रह गर्नुभयो । छिमेकीको उक्साहटले देश बन्न नसक्ने उहाँको धारणा थियो ।
धनुषाका सांसद् शीतल झाले तराईको आन्दोलनलाई सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । तीन ठूला दल एकै ठाउँमा उभिएर तराई समस्यालाई समाधान गर्नुपर्नेमा उहाँको थियो ।
धनुषाकै अर्का सांसद शत्रुघन महतोले समानुपातिक समावेशितासहित निर्वाचन क्षेत्र निर्धारण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । एमाले तराई–मधेसप्रति उदार रहेको भन्दै उहाँले यो भेला तराईका मागप्रति पार्टीलाई अरु बढी उदार बनाएर समाधान खोज्न कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
सिरहाका सांसद रामचन्द्र यादवले संविधान जारी हुनुअघि भदौ १८ गते आफूहरुले पार्टीलाई मधेसका माग समेटिएको १० बुँदे ज्ञापनपत्र बुझाएको भए पनि यसतर्फ पार्टीले ध्यान दिन नसक्दा मधेस आन्दोलन चर्केको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले संविधान संशोधन गरेर माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ । ती विषय हामीले पेस गरेका १० बुँदामा पहिले नै परेको थियो ।”
अन्तरिम संविधानमा समेटिएका केही बुँदासमेत संविधानमा छुटेको भन्दै उहाँले त्यसलाई संशोधन गरेर यथाशक्य चाँडो मधेस आन्दोलनलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । पार्टीका सबै शीर्ष नेता एकै थलोमा भएकाले भेला मार्गदर्शक हुने उहाँको भनाइ थियो ।
पर्साका सांसद विचारी यादवले बाह्य प्रभावमा हुने आन्दोलन नेपालीका पक्षमा नहुने बताउनुभयो । मधेसका केही दलहरुले भोटको राजनीति गरिरहेको उहाँको आरोप थियो । संविधानका अन्तरवस्तु जनजनमा पु¥याउन माग गर्दै उहाँले भ्रम पालेर राखेकै कारण मधेस आन्दोलनले निकास पाउन नसकेको बताउनुभयो । मधेसका सांसदहरुलाई एकै ठाउँमा राखेर त्यहाँका जनताको माग र समाधानका उपायका विषयमा पार्टीले छलफल गर्न लागेकाले कार्यक्रम प्रभावकारी बन्ने उहाँको भनाइ थियो ।
सर्लाहीकी सांसद रञ्जना कुमारी सरकारले आन्दोलनरत दल जिम्मेवार नबनेपनि सरकार जिम्मेवार भएर ठूला पार्टीहरुसँग सहकार्य गरेर यथाशक्य चाँडो मधेस समस्या हल गर्नुपर्ने बताउनुभयो । संविधानमा आफ्नो अधिकार उल्लेख भए नभएको प्रस्ट पारेर तराईवासीलाई संविधानप्रति सकारात्मक बनाउन पनि पहल गर्नुपर्ने उहाँको धारणा थियो । उहाँले बाह्य शक्तिको आडमा नाकाबन्दी गरेर देशमा आर्थिक सङ्कट उत्पन्न गराउने काम भएको आरोपसमेत लगाउनुभयो ।
उहाँले भन्नुभयो – जसको मागका लागि नाकाबन्दी भयो भनिएको छ, त्यसले मधेसकै जनतालाई बढी प्रताडित बनाएको छ ।
रौतहटकी सांसद सरला यादवले आन्दोलनका कारण आफूहरु गाउँगाउँ पुगेर जनतालाई बुझाउन नपाएको दुखेसो पोख्दै तराईका जनतालाई भाड्ने काम मधेसवादी दलहरुले गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो – “संविधान जारी भएसँगै चाहिँदा नचाहिँदा दुष्प्रचार गरेर मच्चाएर जनतालाई भड्काउने काम भएको छ, यसलाई बुझाउन जरुरी छ ।”
भेलामा एमालेका केन्द्रीय नेतासँगै मधेसका २२ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, जिल्ला अध्यक्ष, जिल्ला इन्चार्ज, पूर्व सांसदको सहभागिता रहेको छ । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार पार्टीमा तराई–मधेसबाट प्रतिनिधित्व गर्ने सांसदको सङ्ख्या ४२ छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा