बालुवाटारमा प्रमुख दलको बैठक

1448871603871_RSS-tin dal meeting

काठमाडौँ, १८ मङ्सिर । मुलुकको पछिल्लो राजनीतिक समस्यालाई समाधान गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रमुख दलबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बिहीबारको बैठकमा संविधान संशोधन विधेयक अगाडि बढाउन सहमत भएका दलले तराई मधेसमा आन्दोलनरत दलसँग कुन आधारमा कसरी सहमति गर्न सकिन्छ भन्नेमा छलफल केन्द्रित गरेको बताइएको छ ।

प्रमुख दलसँगको छलफल र समान धारणा तय गरेपछि मधेसी मोर्चासँग पुनः सामूहिक छलफल गर्ने तयारी गरिएको छ । लामो समयदेखिको तराई मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको जनजीवन नराम्ररी प्रभावित भएको, दैनिक उपभोग्य वस्तुको आयात, इन्धनलगायत अत्यावश्यकीय सामग्री अभाव भएको भन्दै तत्काल समस्या समाधान गर्न लाग्नुपर्नेमा प्रमुख दल सहमत भएका छन् ।

आजको बैठकमा संविधान संशोधनको विषयमा छलफल केन्द्रित हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष तथा उपप्रधानमन्त्री भीमबहादुर रावल र नेता एवं कानुनमन्त्री अग्नि खरेल, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति सुशील कोइराला, महामन्त्री कृष्णप्रसाद सिटौलालगायतको सहभागिता छ ।
प्रमुख दलबीच समान धारणा तयार पारी आन्दोलनरत मधेसी मोर्चाका नेतासँग छलफल गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री