
मुलुकको वर्तमान अवस्थाका बारेमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको सरकार, प्रमुख तीन दल र मधेसी मोर्चासँग भएको छलफलमा सहभागी शीर्ष नेताहरु । तस्बिर ः सौजन्य प्रधानमन्त्री कार्यालय ।
काठमाडौँ, १४ मङ्सिर । लामो समयपछि आज भएको सत्तारूढ दलहरू, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारी दलहरूबीचको त्रिपक्षीय वार्ता सकारात्मक दिशामा अघि बढेको छ ।
सत्तारूढ गठबन्धन दलहरू नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरूबीच आज भएको छलफल सकारात्मक दिशामा अघि बढेको नेताहरूले बताएका छन् ।
प्रतिपक्षी दलका नेता एवम् काँग्रेसका सभापति सुशील कोइरालाले वार्ताका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै छलफल सकारात्मक भएको र मोर्चाले राखेको ११ बुँदे मागका सम्बन्धमा प्रमुख दलहरूबीच गहन छलफल गरी यही मङ्सिर १६ गते पुनः अर्को वार्ता हुने जानकारी दिए ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको वर्तमान समस्या हल गर्न सबै दल संवेदनशील देखिएको र समस्यालाई सुल्झाउन सरकार तथा आन्दोलनकारीबाट भएका दमन तथा हिसांत्मक गतिविधि रोक्नपर्छ भन्नेमा सहमति भएको बताए । बैठकमा आफूले तत्काललाई केही समयका लागि प्रदेशको सीमाङ्कनको विषयलाई थाती राखेर अघि बढे समस्या हल गर्न सहज हुने धारणा राखेको उनले जानकारी दिए ।
उपप्रधानमन्त्री एवम् एमालेका उपाध्यक्ष भीम रावलले छलफलमा सबै दलका नेताले आफ्ना भावना व्यक्त गरेको र प्रधानमन्त्री केपी शार्मा ओलीले वार्तालाई सार्थक परिणाममा पुग्ने गरी छलफल अघि बढाउन सबैलाई लचकताका साथ प्रस्तुत हुन आग्रह गरेको जानकारी दिए ।
बैठकमा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मोर्चाका राजनीतिक मागका सम्बन्धमा प्रमुख दलले आन्तरिक र आपसमा छलफल गरी पर्सि १६ गते अर्काे बैठक बस्ने सहमति भएको बताए । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले वार्ता निरन्तर जारी राख्ने निर्णय भएको जानकारी दिँदै सीमाङ्कनको विषय बैठकमा प्रवेश नभएको बताए । उनले आन्दोलनमा देखिएको दमन अविलम्ब रोक्ने बारेमा सहमति भएको जानकारी दिए ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्तामा मधेसको अवस्था सहज गर्नेबारेमा गम्भीररूपमा छलफल भएको जानकारी गराउँदै सरकारले वार्ताको वातावरण बनाउन यसअघि गरेको घाइतेको उपचार र आन्दोलनमा मृत्यु भएकालाई राहत दिने निर्णय कार्यान्वयन हुनुपर्ने माग राखेको बताए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनकारीको मागमा गहन छलफल गरी वार्ताबाट निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेको नेताहरूले बताएका छन् । मोर्चाका नेताहरूले आफ्ना मागका बारेमा साझा धारणा बनाउन प्रमुख दललाई आग्रह गरेको र छिटो निकास निकाल्ने कुरामा सबै पक्ष लचकताका साथ बस्ने प्रतिबद्धता व्यक्त भएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल, नेता झलनाथ खनाल, काँग्रेस सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, मोर्चाका तर्फबाट तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादीका वरिष्ठ नेता राई, सद्भावनाका सहअध्यक्ष कर्णलगायतको सहभागिता थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल