ओलीले लिए खपाङ्गीको स्वास्थ्यावस्थाबारे जानकारी

Gore_Bahadur_Khapangi_Magar

काठमाडौँ, १२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्धचेत अवस्थामा रहनुभएका राष्ट्रिय जनमुक्ति पार्टीका पूर्वमहासचिव गोरेबहादुर खपाङ्गीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

ललितपुरको नख्खु दोबाटोस्थित उहाँको डेरामा आज पुगेर प्रधानमन्त्री ओलीले उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले उहाँको परिवारलाई सरकारका तर्फबाट गर्न सक्ने सबै प्रकारको सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम र सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईका साथ प्रधानमन्त्री ओली पूर्वमन्त्री खपाङ्गीलाई भेट्न त्यहाँ पुग्नुभएको थियो ।

विसं २०६९ वैशाख १२ गते काठमाडौँको प्रदर्शनीमार्गमा मोटरसाइकलको ठक्करबाट लडेर अशक्त हुनु भएका खपाङ्गीको चार पटक शल्यक्रिया भइसकेको छ । सुरुमा वीर अस्पताल, न्युरो अस्पताल र नर्भिक अस्पताल हुँदै सिङ्गापुरसम्म पुरयाएर उहाँको उपचार गरिए पनि स्वास्थ्य अवस्था भने आवश्यक सुधार हुन नसकेको परिवारले जनाएको छ । टाउकामा लागेको गम्भीर चोटका कारण उहाँको शरीरको एकापट्टिको भाग चल्दैन भने उहाँ बोल्न सक्नुहुन्न ।

उदयपुरमा जन्मेर महोत्तरीको रामनगरमा शिक्षा हासिल गर्नुभएका खपाङ्गी रामेछापको गौरीशङ्कर माविमा केही समय प्रअ रहनुभएका समयमा तत्कालीन पञ्चायतविरुद्ध गतिविधिमा संलग्न भएको आरोपमा स्थानीय प्रशासनले जिल्ला निष्काशन गरेको थियो । सोलगत्तै उहाँलाई जलेश्वर कारागारमा बन्दी तुल्याइएको थियो ।

एकहत्तर वर्षीय खपाङ्गीको उपचारका लागि हालसम्म शुभचिन्तक, आफन्तले सहयोग पुरयाउँदै आएका छन् । हालसम्म उहाँको उपचारका लागि रु एक करोड ७५ लाख खर्च भइसकेको छ । उहाँ २०५८ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रीसमेत हुनुहुन्थ्यो ।

अस्वस्थ अवस्थामा रहनुभएका खपाङ्गीलाई खिलराज रेग्मी नेतृत्वको सरकारले दुई पटक गरी रु पाँच लाख सहयोग उपलब्ध गराएको परिवारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री