कालोबजारी गर्ने १२४ जनाविरुद्ध कारबाही

no-pretrol-in-nepal-280x250

काठमाडौँ, ११ मङ्सिर । नेपाल प्रहरीले इन्धन अभावको समयमा बढी मूल्य लिई कालोबजारी गर्नेविरुद्ध कारबाही गर्नेक्रममा गत एक महिनाको अवधिमा १२४ जनालाई इन्धनसहित पक्राउ गरेको छ ।

नेपाल प्रहरीले कालोबजारीविरुद्ध गत कात्तिक ९ गतेदेखि मङ्सिर ११ गतेसम्म देशभरका १०९ ठाउँमा गरेको कारबाहीमा उपत्यकाबाट ८६ र उपत्यकाबाहिरबाट ३८ गरी १२४ जना पक्राउ गरेको जनाएको छ ।

कारवाहीका क्रममा प्रहरीले उपत्यकाबाट ११ हजार ४१३ लिटरसहित देशभरबाट जम्मा ३३ हजार ४९२ लिटर पेट्रोल, उपत्यकाबाट २४ हजार २९० लिटरसहित देशभरबाट जम्मा २७ हजार ८९३ लिटर डिजेल, उपत्यकाबाट एक हजार ३७५ लिटरसहित देशभरबाट जम्मा एक हजार ४१५ लिटर मट्टितेल र उपत्यकाबाट ५८ थानसहित देशभर जम्मा ७९ थान सिलिन्डर ग्याससमेत बरामद गरेको जनाएको छ ।

यसैबीच यही मङ्सिर ६ गते भक्तपुर नगरपालिका–७ आदर्श चोकस्थित भक्तपुर फ्युल सेन्टरको मिटरमा अनियमितता गरी ठगी गरेको अभियोगमा सञ्चालक पुन्यराम बखाड्यालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

यही मङ्सिर ८ गते भक्तपुर ठिमी नगरपालिका–१५ गठ्ठाघरस्थित प्रवीण आयल स्टोरको पम्पमा जडान गरेको चिप्स बरामद गरी पम्पका प्रबन्धक मकवानपुरका भिमसेन केसीसमेतलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री