नाकाबन्दीका कारण औषधि अभाव

Medicine

लुम्बिनी (रुपन्देही), ३० कात्तिक । अघोषित नाकाबन्दीले औषधिको आयात ठप्प भएर यहाँ बिरामीको उपचारमा समस्या भएको छ ।

विगत तीन महिनादेखि तराईमा जारी मधेसी मोर्चाको आन्दोलन र भारतले लगाएको नाकाबन्दीले लुम्बिनी अञ्चललगायत देशभर अत्यावश्यक औषधिको अभाव देखिएको हो ।

नेपालका लागि आवश्यक औषधिमध्ये ६० प्रतिशत भारतबाट आउने गरेको छ । नेपाली बजारमा औषधिको अभाव भएपछि सीमावर्ती जिल्लाका अधिकांश बिरामी भारतीय बजार गएर औषधि किन्न बाध्य भएका छन् ।

नेपाल औषधि व्यवसायी सङ्घ लुम्बिनी अञ्चल शाखाले नाकाबन्दीका कारण औषधि पसल तथा अस्पतालमा औषधि अभाव हुन थालेको भन्दै सहज आपूर्ति व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । नाकाबन्दीका कारण सहज रुपमा औषधि नेपाल भित्रिन नसक्दा आम नागरिक औषधोपचारबाट वञ्चित हुनुपर्ने अवस्था देखिन थालेको भन्दै तत्काल सहज आपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको हो । अहिले देशका कुनै पनि नाकाबाट औषधि आउन सकेको छैन ।

नेपाल औषधि व्यवसायी सङ्घ लुम्बिनी अञ्चल शाखाका कार्यबाहक अध्यक्ष शिव ज्ञवालीले अझै १०÷१२ दिन अहिलेकै जस्तो अवस्था भए देशभर औषधि सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यावश्यक औषधि पाइन छाडेको छ, अब पनि छिट्टै औषधि आएन भने देशमा औषधिको ठूलो सङ्कट पैदा हुन्छ ।”

साथै, इन्धन अभावले औषधिका बिक्रेतासँग मौज्दात औषधि पनि ग्रामीण क्षेत्रमा पुरयाउन नसकिएको उहाँले बताउनुभयो । ज्ञवालीले अहिले बजारमा आइ फ्ल्युड, विभिन्न प्रकारका एन्टिबाएटिक, अक्सिजन, शल्यक्रियामा प्रयोग हुने सर्जिकल सामान देशभर अभाव भएको बताउनुभयो ।

औषधिको अभाव भएपछि कतिपय अस्पतालमा गएका बिरामीले डाक्टरको प्रेस्किप्सन लिएर भारतीय बजारमा औषधि किन्न जानुपर्ने बाध्यता छ ।

नेपालमा औषधि उत्पादन गर्ने उद्योगले समेत कच्चा पदार्थको अभाव हुँदा अत्यन्तै न्यून मात्रामा उत्पादन गरिरहेका छन् । नेपाली उद्योगी तथा औषधि व्यवसायीले तेस्रो मुलुकबाट आयात गरेको औषधि तथा कच्चा पदार्थ नाकाबन्दीले अढाइ महिनादेखि नाकामा रोकिएका छन् ।

नेपाल औषधि व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले औषधिजन्य वस्तुको आपूर्ति व्यवस्था मिलाउन राज्यले महत्वपूर्ण कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले सडकमार्गबाट औषधि आउनसक्ने अवस्था नरहे हवाईमार्गबाट समेत ल्याई आम नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सङ्घले उपचारजन्य वस्तुको सहज आपूर्ति गराउन गठित मन्त्रिस्तरीय कार्यदल र अर्को औषधि व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समेत कार्यदल गठन गरिएको छ । अहिले विशेषगरी काठमाडौँ, जनकपुर, राजविराजलगायतका सहरमा औषधिको समस्या देखिएको छ ।

आयातित औषधिमध्ये ६० प्रतिशत काठमाडौँमा खपत हुने बताइन्छ । सङ्घले तोकेको मूल्यभन्दा बढीमा औषधिको बिक्री वितरण गरेको पाइएमा कडा कारबाही गर्ने बताएको छ ।

नेपालमा वार्षिक ३५ अर्ब रुपैयाँको औषधिको कारोबार हुने गरेको छ । यसमध्ये १२ अर्ब रुपैयाँको मात्रै सर्जिकल सामग्री खरिद गर्ने गरिन्छ । सङ्घका कोषाध्यक्ष लुकराज न्यौपानेले नाकाबन्दी गर्ने कार्य आपत्तिजनक भएको भन्दै निर्वाध रुपमा औषधि नेपाल भित्र्याउन दिन भारतसँग आग्रह गर्नुभयो ।

सङ्घका महासचिव सुरज भण्डारीले नेपाली जनता उपचारको हकबाट समेत वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सङ्घले इन्धनको सहज व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री