ब्रिटेन पनि हाइ अलर्टमा

तस्विरः दि टेलिग्राफ

तस्विरः दि टेलिग्राफ

लन्डन । एकसय २९ जनाको ज्यान जाने गरि शनिवार राती फ्रेन्च राजधानी पेरिसमा आतंकवादी हमला भए लगत्तै ब्रिटेनले सुरक्षा सतर्कता बढाएको छ । उग्रवादी समूह आइसिल (इस्लामिक स्टेट) ले कुनै पनि बेला आफूलाई पनि निसाना बनाउन सक्ने ठानेको ब्रिटेनले विशेष सुरक्षा बल परिचालन गरेको हो ।
पेरिस घट्ना लगत्तै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आइसिलबाट धम्की बढिरहेको जनाएका थिए ।

ब्रिटेनले स्पेशल रिकन्नाइसेन्स् रेजिमेन्ट (एसआरआर) का सैनिक 
परिचालन गरेको छ । उक्त बलले अन्डरकभर (प्रत्यक्ष नदेखिइने) सशस्त्र प्रहरी अधिकृत र थप प्रहरीहरुलाई साथ दिएको छ । अहिले बेलायतको प्रमुख सार्वजनिक स्थान, अन्डरग्राउण्ड रेल स्टेशन, सपिङ सेन्टर लगायत भीडभाड बढि हुने क्षेत्रमा विशेष सुरक्षा बल परिचालन गरिएको बेलायती अखवार दि टेलिग्राफले सुरक्षा श्रोतलाई उधृत गर्दै जनाएको छ ।

गत बिहीबार अमेरिकी ड्रोन आक्रमणमा ब्रिटिश जिहादी मोहम्मद इमवाजी (जिहादी जोन) मारिएपछि त्यसको बदलामा आतंकवादी हमला हुन सक्ने तर्फ बेलायत सचेत थियो । बेलायतको जासुसी संस्था एमआइ फाइभ र प्रहरीले पनि सुरक्षा समिक्षा र निगरानी बढाइरहेको समाचारमा उल्लेख छ । ब्रिटेनले गत जनवरीमा फ्रान्समै भएको आतंकवादी आक्रमण नजिकबाट नियालेर सोही अनुरुप सुरक्षा नीति अनि प्रशिक्षण अपनाएको थियो ।

प्रति आतंकवाद श्रोतले झण्डै चारसय ५० जना उग्रवादी बेलायती जिहादी सिरियाबाट फर्केको विश्वास गरेको छ । आइसिलले कि त सिरिया वा इराक गएर लड्न वा जान नसके आक्रमण गर्न उक्साइरहेको अफिस फर सेक्युरिटी एण्ड काउन्टर टेरोरिजमका निर्देशक चार्ल्स फारले बुझेका छन् । उनले सिरिया पुगेका ७ सय ५० जना बेलायती जिहादीमध्ये करिब ६० प्रतिशत बेलायत फर्केको र ७० जना मारिएको जनाए । बेलायतलाई फर्किएका जिहादीबाट बढि चिन्ता छ । मेट्रोपोलिटन पुलिस कमिश्नर सर बर्नार्ड होगन ह्वोले पेरिस हमलामा प्रयोग गरिएको हतियार र श्रृंखलावद्ध आक्रमणको प्रकृति गम्भीर खालको भएको जनाएका छन् ।

स्कटल्याण्ड यार्डले यतिखेर सिरिया र इराकका आतंक सम्वन्धि ६ सय मुद्दा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री