बेलायती पर्यटकलाई दूतावास भन्छ ः नेपाल घुम्न सुरक्षित छ

11218858_1004997902884062_4476815222508492181_n

लन्डन । महिनौंदेखि जारी तराई मधेश आन्दोलन, अघोषित नाकाबन्दी र ६ महिनाअघिको विनाशकारी भूकम्प । यसले अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश प्रवाह गरिरहंदा लन्डनस्थित नेपाली दूतावासले बेलायती पर्यटकहरुलाई नेपाल घुम्न सुरक्षित रहेको सन्देश दिएको छ । मंगलबार सांझ नेपाल पर्यटन वोर्डको सहकार्यमा दूतावास भवनमा आयोजित एउटा पर्यटन प्रबर्धन कार्यक्रममा उसले भूकम्पपछि नेपाल पूर्ववतः अवस्थामा फर्किसकेको जनाउ दिएको हो ।

भूकम्पपछि अन्तर्राष्ट्रिय मिडियाहरुले नकारात्मक प्रचार प्रसार गरेको दूतावास र बोर्डको निष्कर्ष छ । भूकम्पले ११ जिल्लामात्र प्रभावित भएपनि पर्यटन गन्तव्यमा भने खासै क्षति नभएकोमा उनीहरुले आश्वस्त पारेका छन् ।

लन्डन एक्सेलमा २ देखि ५ नोभेम्बरसम्म जारी वर्ल्ड ट्राभल मार्केटमा पर्यटन प्रबर्धन गर्न नेपाल पर्यटन वोर्डसहित नेपाली ट्राभल व्यवसायी यतिखेर लन्डनमा छन् ।

कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले भने, ‘नेपाल अझै सुरक्षित छ । ट्रेकिङ रुट, पुरातात्विक सम्पदा अझैं सुरक्षित छन् ।’ नयां संविधान जारीपछि नेपाल सही मार्गमा हिंडिरहेको उल्लेख गर्दै क्षेत्रीले ब्रिटिश पर्यटकलाई नेपाल घुम्न जान सल्लाह दिए । ‘यो पुनर्निर्माणमा एउटा सहयोग पनि हुनेछ’, क्षेत्रीले भने ।

स्मरण रहोस्, विगत वर्षहरुमा वार्षिक करिब ४० हजार बेलायती पर्यटक नेपाल घुम्न जाने गरेको तथ्यांक छ ।

नेपाल पर्यटन बोर्डका प्रशासन प्रमुख कमलप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय मिडियाले नेपालको नकारात्मक कभरेज गरेपनि पर्यटनले पुनर्जीवन पाइसकेको उल्लेख गरे । ट्रेकिङका लागि अन्नपूर्ण र एभरेष्ट क्षेत्रमा खासै क्षति नभएको उनले जनाए । भट्टराईले भूकम्पपछि बेलायत सरकार र यहांका जनताले दर्शाएको मानवीय सहायताप्रति पनि आभार व्यक्त गरे ।

बोर्डकै वरिष्ठ अधिकृत श्रद्धा श्रेष्ठले नेपाल पर्यटकका लागि विश्वकै मनमोहक र स्वर्ग भएको जनाइन् । उनले नेपाल ९५ प्रतिशत प्रकृतिले भरिभराउ गन्तव्य भएको उल्लेख गर्दै पर्यटकको सुरक्षा र विपद व्यवस्थापनका लागि सरकारले विशेष कोस खडा गरेको पनि उल्लेख गरिन् । कयौं अन्तर्राष्ट्रिय उडान, पर्यटकका लागि सुविधायुक्त तारे होटल, सडक मार्ग पर्याप्त रहेको चर्चा गर्दै उनले भूकम्पले ११ जिल्लामात्र प्रभावित भएको अवगत गराइन् ।

दुई बेलायती सांसदहरु वीरेन्द्र शर्मा एवं बब ब्ल्याकम्यानले पनि नेपाल भ्रमण गरेर सहयोग गरिदिन आफ्ना नागरिकलाई अपिल गरेका छन् । बेलायती सर्वदलीय संसदीय समितिको नेपाल अध्यक्ष शर्माले नेपाल आकर्षक गन्तव्य भएको जनाउंदै जुनसुकै सिजनमा घुम्न सकिने बताए । सांसद ब्ल्याकम्यानले नेपाल जाने आफ्नो योजना सरिरहेको उल्लेख गर्दै छिट्टै जाने आश्वासन दिए । ब्ल्याकम्यानलाई नेपाली खाना र आतिथ्यले प्रभावित पारेको रहेछ । भूकम्पपछि बेलायत सरकार र जनताले भारी रकम सहयोग गरेको स्मरण गर्दै उनले नेपालको विकास र समृद्धि आफूहरुको चाहना भएको जनाए । उनी सर्वदलीय संसदीय समितिको नेपाल सहअध्यक्ष पनि हुन् ।

कार्यक्रममा इम्प्याक्ट म्याराथन सिरिजका सिइओ निक केर्सले नेपालमा सन् २०१६ को नोभेम्बरमा च्यारिटी स्वरुप अन्तर्राष्ट्रिय म्याराथन हुन लागेको जानकारी दिए ।

कार्यक्रममा बेलायतस्थित नेपाल पर्यटन वोर्डका प्रतिनिधि ध्रुव केसीले धन्यवाद दिएका थिए । उक्त अवसरमा एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारीले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिए । कार्यक्रममा सहभागी बेलायती तथा नेपालीले एभरेष्ट इनको नेपाली खानाको खुबै प्रशंसा गरे ।

12074882_1004997869550732_6782290401831936650_n

प्रतिक्रिया

सम्बन्धित सामाग्री