क्षतिग्रस्त सम्पदा सर्वेक्षण अन्तिम चरणमा

quake-1_2385658f

काठमाडौँ, १७ कात्तिक । वैशाख १२ र २९ मा गएको भूकम्पका क्षतिग्रस्त भएका सम्पदा स्थलको क्षति विवरण लिने काम अन्तिम चरणमा पुगेको छ ।

पुरातत्व विभागले उपत्यकाका तीन जिल्लाका महत्वपूर्ण सम्पदा स्थलको पुनःनिर्माणका लागि तीव्ररुपमा काम अघि बढाउन विवरण लिने काम सकिन लागेको जानकारी दिएको हो ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार भूकम्पका कारण भत्किएका संरचना, पर्खाल, भग्नावशेष र अन्य पुरातात्विक महत्वका वस्तुका बारेमा जानकारी लिने काम सकिन लागेको बताए ।

“हामी सरकारबाट बजेट निकासा हुने बित्तिकै पुनःनिर्माणको कार्य थालनी गर्छाैैँ” प्रवक्ता कुँवरले भने । पुनःनिर्माण कार्य सुरु गर्न अझै दुई चार महिना लाग्ने उनको भनाइ छ ।

करिब ७० वटा सम्पदाको रुपरेखा र नक्सा तयार गर्ने गरिरहेको विभागले गोरखा दरबार, नुवाकोट दरबार, दोलखामा रहेका सम्पदालगायतका उपत्यकाभन्दा बाहिरका सम्पदाको पछि उद्धार गर्ने कार्य सुरु गरिसकेको जनाएको छ ।

विभागले पुरातात्विक स्थलको संरक्षण नक्साको निर्माण गरी भूकम्पबाट क्षति भएका काठमाडौँ, उपत्यकाका हनुमानढोका, पाटन र भक्तपुरदरबार क्षेत्रमा जमिनको तलसम्म भएका भएका भग्नावशेषका बारेमा जानकारी लिई पुनःनिर्माण गर्न नक्सा तयार पार्ने कार्य गरिरहेको प्रवक्ता कुँवरले जानकारी दिए ।

पुरातात्विक स्थलको उत्खनन र अनुसन्धानका कार्य युनेस्कोको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग र दुरहाम विश्वविद्यालय र राष्ट्रिय विज्ञको संयुक्त टोलीले गर्ने विभागले जनाएको छ । सो टोलीले आफ्नो अनुसन्धान कार्य सुरु गरिसकेको छ ।

विदेशी मुद्रा आर्जनका लागि मुख्य स्रोतका रुपमा रहेका उपत्यका र बाहिर जिल्लामा रहेका सांस्कृतिक महत्व बोकेका सम्पदा पुनःनिर्माण गर्न माटोको अनुसन्धान गर्ने र पुनःनिर्माणका नक्सा तयार गर्ने कार्य गरिरहेको विभागले पुनःनिर्माणका लागि सातदेखि १० अर्बसम्म लाग्ने अनुमान गरेको छ ।

पुनःनिर्माणको विषयलाई लिएर बजार विभिन्न कुरा उठेको भए पनि हल्लाको पछाडि नलाग्न विभागले आग्रह गरको छ ।

“बजारमा धरहरा बनाउने वा नबनाउने भन्ने विषयमा विभिन्न खाले चर्चा भइरहेको छ तर विभागले यस्तो कुनै किसिमको निर्णय गरेको छैन” प्रवक्ता कुँवरले भने ।

उहाँले धरहराको निर्माण हुने तर कस्तो मोडलमा बनाउने, भविष्यमा कसरी सुरक्षित गर्न सकिन्छ भन्ने सन्र्दभमा चर्चा गरिरहेको पनि बताए ।

विभागका अनुसार काठमाडौँमा ३६ वटा सम्पदा पूर्णरुपमा क्षति भएका छन् भने १७३ वटा सम्पदामा आंशिकरुपमा क्षति पुगेको छ । यस्तै ललितपुरमा १३ वटा सम्पदा पूर्णरुपमा क्षति भएका छन् भने ७१ वटा सम्पदामा आंशिकरुपमा क्षति पुगेको छ भने २५ वटा सम्पदाको भित्तामा क्षति भएको छ ।

त्यसैगरी भक्तपुरमा २० वटा सम्पदा पूर्णरुपमा क्षति भएको छ भने ४३ वटा सम्पदामा आंशिक क्षति पुगेको छ । उपत्यकाभन्दा बाहिर २८१ वटा सम्पदामा क्षति भएको विभागले प्रारम्भिक तथ्याङ्क निकालेको छ ।

काठ, इँटा र झिङ्गटी प्रयोग गरी बनाइएका स्मारक राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा पर्यटन विकासको आधार भएको र अर्थतन्त्रको बलियो आम्दानीको स्रोत भएकाले यसको पुनःनिर्माण जतिसक्दो छिटो गर्नुपर्नेमा सम्बद्धको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री