लिभरपुलमा मेक्सिकन रेष्टुरेन्ट खोल्दै नेपाली

परिवारका साथ अधिकारी

परिवारका साथ अधिकारी

लन्डन । युवा व्यवसायी गोपाल अधिकारीले बेलायतको लिभरपुलमा तेश्रो मेक्सिकन रेष्टुरेन्ट सञ्चालन गर्ने भएका छन् । अधिकारीले आफ्नै ब्रान्ड फजिता मेक्सिकन रेस्टुरेन्टको फजिता क्लासिक मेक्सिकन रेस्टुरेन्ट छिट्टै सञ्चालनमा ल्याउन लागेका हुन् । हाल रेष्टुरेन्टको सजावट लगायत निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीले जनाए । यो रेष्टुरेन्टसंगै अधिकारीको फजिता ब्रान्ड अन्तर्गत ३ वटा रेष्टुरेन्ट हुनेछ ।

बेलायतमा नेपालीहरु नेपाली रेष्टुरेन्टमा मात्र सिमित हुनु हुंदैन भन्ने मान्यताका अधिकारी आफैं व्यवसाय मार्फत केहि गरौं भन्ने भावना भएका नेपाली युवा तयार भए फजिता मेक्सिकन ब्रान्ड बेलायतको अन्य शहरमा साझेदारीमा खोल्दै जान सकिने बताउंछन् । सानो होस् या ठूलो, आफ्नै व्यवसाय गरे नेपाली युवा भविष्यमा सफल उद्यमी बन्न सक्ने विश्वास अधिकारीको छ ।

जिन्दगी एउटा यात्रा हो गन्तव्य होइन… भन्ने चर्चित भनाई गोपाल अधिकारीको जीवनमा मेल खाएको छ । जीवनमा चुनौतीको सामना गर्न पछाडि नहट्ने अधिकारी हाल गीतकार मात्र होइन, एक सफल व्यवसायी पनि बनेका छन् । उनी जीवन संघर्षको क्रममा टुर गाइड हुंदै कयौं चोटी एभरेष्ट बेस क्याम्प मात्र पुगेनन्, २००३ तिर उच्च शिक्षा अध्ययन गर्ने क्रममा लिभरपुल आएका थिए अधिकारी । कोमल मनका धनी अधिकारीको अहिले सफल व्यवसायी, गीतकार अनि समाजसेवीको रुपमा चिनिएका छन् । व्यवसायमा सफलता चुम्दै गएका अधिकारीले अन्य व्यसायमा पनि लगानी गर्ने तयारी गर्दैछन् । कठोर परिश्रम र मेहेनतका साथ अगाडि बढिरहेका अधिकारी विस्तारै नेपालमा समेत लगानी गर्ने सोचमा छन् । छोटो समयमा फजिता मेक्सिकन ब्रान्डको नाम लिन सफल अधिकारीको सफलताको पछाडि परिवारको ठूलो मेहेनत र साथ छ ।

हाल लिभरपुलमा दुई सुपुत्र गोरख र गोरल अनि जीवनसाथी मिनु सिम्खडा अधिकारीको साथ बस्दै आएका अधिकारी परिवारको माइलो छोरा हुन् । विस २०५६ सालतिर धादिंगमै मिनु सिम्खडासंग वैवाहिक बन्धनमा बांधिए उनी ।

यात्रा त लामो छ, हिड्नु नै पर्यो नि
शिथिल यो ज्यान बनाई उकाली चढ्नु पर्यो
यात्रा त लामो छ
खै यो यात्रा कस्तो हो भन्न म सक्दिन
कहिले त हांसी हांसी हिंड्छु, कहिले बोल्नै सक्दिन

यी माथिका हरफहरु रामकृष्ण ढकालको स्वरमा बजारमामा आएको एउटा चर्चित गीतको हो । उल्लेखित मार्मिक गीतको रचनाकार अधिकारी नै हुन् । यो गीतको वास्तविक कहानी बढो मार्मिक छ । विश्वप्रसिद्ध ट्रेकिङ क्षेत्र खुम्बुको रुट । उत्तर पूर्वी नेपाल सोलुखुम्बु जिल्लाको नाम्चे बजार । सन् १९९९ तिर क्यानेडियन पर्यटकहरुको एउटा टोली गाइड गर्दै थिए एक नेपाली युवा । विश्व पर्यटकको ध्यान खिच्ने संसारको सबैभन्दा अग्लो शिखर सगरमाथाका बेस क्याम्पतिर गन्तव्य बनाएर क्यानेडियन टोली अगाडि बढ्दै थियो । अचानक ति नेपाली युवालाई स्वाथ्यले त्यति राम्रो साथ दिएन । चिसो मौसम, उकालो बाटो, ट्रेकिङको बडेमान झोला साथमा क्यानेडियन टोलीलाई सुरक्षित रुपमा गन्तव्य मा पुर्याएर काठमाडौंसम्म ल्याउनु पर्ने जिम्मेवारी थियो तर ति युवा बाटोमै बिरामी परे । हजारौं डलर तिरेर एभरेष्टमा पाइला टेक्न क्यानडादेखि आएका ति पर्यटकहरु त्यचिबेला निरास बने जब आफ्नै टुर गाइड विरामी परे । अस्वस्थ र शिथिल शरीर बाबजुद ति युवाले क्यानेडियन टोलीलाई कत्ति पनि निराश बन्न दिएनन् । बाटोमा अलपत्र पारेर आफ्नो टोली छोड्न चाहेनन् बरु गन्तव्यमा अगाडि बढिरहे । ति युवा अरु नभई यीनै सफल व्यवसायी गोपाल अधिकारी थिए ।

क्यानेडियन टोलीले एभरेष्ट बेस क्याम्प यात्रा सकेपछि आफ्नो ट्रेकिङ एजेन्सीलाई पत्र लेख्दै भनेछन् नेपालीहरु वचनका पक्का र इमान्दार हुंदा रहेछन् । पत्रको अन्तमा गेट वेल सुन डियर गोपाल, टेक केयर, वि विल कम अगेन थियो । एभरेष्ट बेस क्याम्प पुगेको दिन ति युवाले आफ्नो पीडालाई दुई लाइन गीतमा उतारेका थिए । गीत लेखेको झन्डै १५ वर्ष पछि यो गीत रेकर्ड गरिएको हो ।
गोपाल अधिकारीको आफ्नै शब्द, हिमाल सागरको संगीत र रामकृष्ण ढकालको आवाज रहेको ‘यात्रा’ बोलको गीतको भिडियोमा आरती गैरेको साथमा प्रमुख भूमिकामा गोपाल अधिकारी आफैं देखिएका 
छन् । स्कटल्याण्डको मनमोहक दृश्यमा छायांकन गरिएको यो भिडियोले अहिले चर्चा बटुल्दै छ । श्रव्य दृश्यकै क्षेत्रमा अध्ययनरत दिपेश रेग्मीको निर्देशनमा बनेको भिडियो कलात्मक र रोचक छ ।
आफ्नै जिन्दगीको उकाली ओरालीको भोगाइलाई शब्दमा प्रस्तुत गर्न सक्ने अधिकारीको ट्रष्ट मी एल्बम पनि सार्वजनिक भइसकेको छ । गीतकार अधिकारीका धेरै गीत सार्वजनिक भइसकेका छन् । ‘तिम्रो माया चाहंदा चाहंदै कसैको मायां पाउन पुगेछु, तिमीसंगै जुनी जुनी जिउने आशामा अर्कैसंग जिउन पुगेछु’, भूषण दाहालबाट निर्देशित अन्जु पन्तको स्वरमा सजिएको उक्त गीत अधिकारीले लेखेका हुन् । हालसम्म गोपाल अधिकारीको ३ वटा म्यूजिक भिडियो सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री