लन्डन । शनिवारदेखि हराइरहेका फोटो पत्रकार हरिमान गुरुङ मृत भेटिएका छन् । बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स् साप्ताहिकको अनलाइन संस्करणका लागि भिडियो तथा फोटो खिच्ने उनी हुक र बेजिङस्टोक बीचको झाडीमा सोमबार मृत अवस्थामा भेटिएको धम्पुस परिवार यूके महासचिव कुमार गुरुङले वी नेपालीलाई जनाए ।
‘हरिमान भाइको शव उनलाई खोज्न गएको टोलीले भेटेको खवर छ । उनी घुंडा टेकेको अवस्थामा रहेछन् । घांटीमा रसी भएपनि झुण्डिएको अवस्थामा थिएनन् । नजिक रुख पनि छैन् र हतियार पनि । शरीर मैदानमा लडेको रहेछ’, आश्चर्यजनक मृत्युबारे धम्पुस परिवार यूके महासचिव गुरुङले वीनेपालीसंग भने ।
शनिवार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा वडा नम्बर ६ फिल्म हेरेर राती ९.४५ तिर हलबाट निस्किएका उनी त्यसयता सम्पर्कमा नआएपछि परिवारले आइतबार अल्डरसट प्रहरीमा उजुरी गरेको थियो ।
शव भेटिएपछि खोजीकर्ताले तत्काल प्रहरी र घर परिवारलाई खवर गरेका थिए । त्यसलगत्तै प्रहरीका तीनवटा गाडी गएर अनुसन्धान थालेको र पोष्टमोर्टमपछि मृत्युको वास्तविक कारण थाहा हुने जनाइएको छ । उनको गाडी हुक र बेजिङस्टोक जाने बाटोको जंगलमा भेटिएको थियो । गाडीभित्र क्यामेरा पनि थियो । गाडी पार्क भइरहेको ठाउंबाट एकसय मिटर पर शव फेला परेको समाचारमा उल्लेख छ ।
गुरुङको देहवसानले परिवार र साथीभाई चिन्तित छन् । सन् २००६ मा हङकङबाट यूके आएका कास्कीको धम्पुस निवासी हरिमान श्रीमति सुनिता गुरुङ र दुई छोरीका साथ अल्डरसट बस्दै आएका थिए । उनी ज्यादै मिजासिलो, सोझो, सहयोगी र आंखामा हाले पनि नबिजाउने खालको रहेको सहकर्मी फोटो पत्रकार मिलन तमुले वी नेपालीलाई जनाए । ‘शनिवार म काममा भएकाले तमु पेल्यू संघ यूकेको कार्यक्रमको फोटो खिच्न जानु है भनेको होइन आज म मेरो परिवारलाई समय दिन्छु भनेर गएनन्’, आंखाबाट आंसु झार्दै तमुले भने, ‘वकिङमा दशैं मान्न संगै गयौं, बडा नम्बर ६ फिल्म पनि संगै हेरेको साथी यस संसारबाट एक्कासी विदा भएको सुन्नुपर्दा विश्वास नै गर्न सकेको छैन् ।’
हरिमानको गीत संगीतप्रति रुची थियो । बेलायतमा हुने विभिन्न कार्यक्रममा गीत गाउने गरेका उनले लेखेका गीतहरुको संगालो ‘लाएको माया’ एल्बम बजारमा आइसकेको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता