मंगलबार, असोज १३ २०७७ | Tue, September 29, 2020
नेपालको समय: १०:२३ | UK Time: 05:38

बिलाप गर्ने मेरो कमजोरी

वीनेपाली
२०७२ असोज १९ गते २१:३३

Shashi-Poudel

अनलाइन खबर डटकममा डा. बाबुराम भट्टराईको “मैले माओबादी पार्टी किन छाडें” शीर्षकको लेख अर्थात् उनले ब्यापारीहरु बीच गरेको अन्तरकृयाको संक्षिप्त रुप पढेपछि मलाई अंग्रेजी भाषाको केही वर्ष अघिदेखि चलनचल्तीमा आएको एउटा शब्द सम्झना आयो । त्यो शब्द हो humblebragging । यो शब्दलाई humble र brag का रुपमा शब्दविन्यास गर्न सकिन्छ । सायद यो शब्द पुराना अंग्रेजी शब्दकोषमा भेट्टाउन गारो पर्ने छ । हम्बलको अर्थ हो नम्रता अर्थात विनित र ब्रागको अर्थ हुन्छ धाक लगाउनु, घमण्ड गर्नु, आफैंले आफ्नो झुटो तारिफ गर्नु । नेपाली भाषामा सायद यो शब्दलाई विनम्रतापूर्वक आफैंले आफ्नो दुःख प्रकट गर्दै धाक लगाउनु अर्थात पत्याउँदो गरी आफू बलिको बोका बनेकोले नम्रतापूर्वक घमण्ड गर्नु भन्ने बुझिन्छ ।
त्यो लेख आध्योपान्त पढ्दा यस्तो लाग्छ कि डा. बाबुराम भट्टराईले पछिल्ला चालिस वर्षसम्म अत्यन्त मेहनत गरे । मुलुकलाई संविधानसभाको निर्वाचनसम्म ल्याउन उनको ठूलो र महत्वपूर्ण हात थियो । त्यहाँसम्म आइपुग्न उनले गरेको मेहनतको कदर नभएकोले उनी दुःखी भएको एउटा कारण हो उनले माओवादी पार्टी छोडेको भन्ने बुझ्न कठिन पर्दैन । अनि अर्कोतिर उनी भन्छन् -‘संबिधान बनेकोमा उनलाई जति गौरव अरुलाई कसलाई लागेको होला ?’
हुन त रोइ कराइ गरेर ‘मैले यति धेरै गरें, तर मलाई कसैल तक्मा लगाइदिएन’ भन्नुभन्दा यस प्रकारको विनम्रतापूर्वक आफैंले आफ्नो दुःख प्रकट गर्दै धाक लगाउनु सभ्य हुन्छ र डा. बाबुरामले रोजेको यो तरिका चाहिँ नेपाली जनतामा सकारात्मक प्रभाव पार्ने हुनसक्छ ।
राजनीतिमा यसप्रकारको संस्कृति कुनै नौलो होइन । यस्तै प्रकारको हम्बलब्रागिङ्ग केही समयअघि अमेरिकाका राष्ट्रपति पदको उम्मेदवारीका लागि भएको टिभी बहसमा डोनाल्ड ट्रम्पले गरेका थिए । यस्तै मैले केही वर्षअघि इन्दिरा गान्धीको बारेमा एक जर्मन महिलाले लेखेको पुस्तकमा भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९६२ मा भारतले चीनसंगको सीमायुद्ध हारेपछि “हमारा सेना चीन सीमासे बहादुरीके साथ वापसी आ रहे हैं” भनेकी थिइन् भनेर लेखेको पढेको थिंएँ ।
जीनो एण्ड नर्टन नामक एक अध्ययन संस्थानले केहीवर्ष अघि “तपाईका कमजोरीहरु के के हुन् ?” भन्ने प्रश्नबारे अध्ययन गरेको थियो । हुनत खासगरी पश्चिमेली विश्वमा जागिरका लागि अन्तरवार्ता लिंदा अन्तमा सोधिने प्रश्न हो यो । उक्त प्रश्नबारे व्याख्या गर्दै धेरैजसोको अर्थात ३३ प्रतिशत उत्तर “मेरो कमजोरी भनेको म पर्फेक्ट मान्छे हुँ” भन्ने आएको बताइएको छ भने २५ प्रतिशतले “मैले सधैं कडा मेहनतका साथ काम गर्छु, त्यो नै मेरो कमजोरी हो” भन्ने उत्तर दिएका थिए । यस्तै १५ प्रतिशतले “म सबैसंग धेरै नम्र भएर बोल्ने र अरुलाई आदर गर्ने ब्यक्तित्व नै मेरो कमजोरी हो” भनेको पाइन्छ ।
यी उत्तरहरुबाट के बुझिन्छ भने ती बिचराहरु अरु के जवाफ दिन सकुन् त ? के उनीहरु यतिखेर अनेस्ट अर्थात साँचो बोल्न सकुन् ? यदि साँचो बोलेमा जागिर नपाइने दह्रो सम्भावना रहन्छ । यदि उनीहरुले “मलाई कहिलेकाहीं अल्छी लाग्ने गर्छ” अर्थात “म कहिलेकाँही कामको बोझले थाक्छु” भनेमा सायद ३३ प्रतिशतको उत्तर सत्य हुने थियो तर त्यतिखेर सत्यता सामु आउन सक्तैन । सायद त्यसो भनेमा उत्तर खराब पनि हुने थिएन । किनभने त्यो सत्यता हो । आखिर मानव शरीर न हो थाक्नु वा अल्छी लाग्नु प्राकृतिक कुरा हो । यदि म प्रशासन प्रमुख भएर कसैलाई नियुक्ति गर्नु पर्ने थियो भने सायद ती ३३ प्रतिशत र ती २५ प्रतिशतवालाहरुप्रति सहानुभूति जाने थिएन होला तर अब भन्नुस् तपाई कसलाई रोज्नुहुन्छ ? यदि तीमध्ये सत्य बोलेर “म कहिलेकाहीं काममा थाक्छु” भन्नेलाई रोज्नु बरू उपयुक्त हुने देख्छु । किनभने उसले कमसेकम सत्य त बोल्यो । तर यदि कसैले “मैले हरेक षडयन्त्र जानेको छु, अर्थात म सकुनी बन्न सक्छु” भन्यो भने अब तपाई के बन्नुहुन्छ, कौरव कि पाण्डव ?
हुन त मैले मेरै कामको सिलसिलामा दर्जनौं अल्छी मान्छे भेटेको छु तर ती अल्छीहरुले कहिलेकाहीं उत्पादनमूलक काम गरेर देखाउने पनि गरेका छन् । तर दुर्भाग्य राजनीतिमा यस प्रकारको छनौट हुने गर्दैन । राजनीतिमा स्कूलदेखि विश्वविद्यालयसम्म प्रथम हुने व्यक्ति मात्र मन्त्री वा प्रधानमन्त्री हुन्छ भन्ने छैन । किनभने आइ.ए.को सर्टिफिकेट चोरी गरेर ल्याउनेहरु पनि मन्त्री भएका छन् । यो समस्या नेपालको मात्र नभएर विकसित मुलुकहरुमा पनि प्रशस्त सुनिने गर्छ । अहिले भर्खरैको घटना हो जर्मनीको वर्तमान रक्षा मन्त्री फन डेर लाइनको पिएचडीको प्रमाण पत्र नक्कली भएको ठहर भएको छ, तथापि उनी अझै पनि मन्त्री पदमा आसिन नै छिन् ।
यी पंक्तिहरु लेख्दा लेख्दै अध्ययन केन्द्रको रिजल्ट मैले फेरि एकपटक पढें । यतिखेर मलाई अनौठो मात्र लागेन कि साँचो अर्थमै रिंगटा लाग्यो । म असाध्यै अल्छी छु । कुनै काम जाँगरका साथ गर्ने मेरो बानी छैन । यी पंक्तिहरु लेख्न पनि डा. बाबुरामका ती भनाइहरुले मलाई तल्तल्याएका हुन् अनि बिलाप गर्न मन लाग्यो, जाँगर लागेर होइन । तर कसले भन्ने आँट गर्छ आफ्नो सत्यता ? माथिका सबै उत्तरहरु वास्तवमा मलाई मिल्छन् किनभने म अल्छी छु त्यसैले मैले आफूलाई पर्फेक्ट ठान्छु । म अल्छी छु त्यसैले मैले भन्ने गर्छु मैले मेहनतका साथ काम गर्छु । अल्छी मान्छेले थोरै काम गरे पनि मेहनतका साथ काम गरेको महसुस गर्छ । मैले चित्त नबुझेको कुरा प्याच्च भन्ने गर्छु र अरुको चित्त दुखाइदिन्छु तर म अरु कसैलाई नभेटेका बेला कसैलाई केही भन्न पाउन्न अनि मैले आफूलाई नम्र मान्छेको कोटीमा राख्छु । त्यसैले मेरो विचारमा राजनीतिज्ञहरुले भाषण गर्दा वा अन्तकृयामा प्रस्तुत हुँदा होस् वा सरकारी वा गैरसरकारी कामको खोजीमा अन्तरवार्ता दिंदा होस्, हरेक मान्छेले त्यही भन्छ जुन उसले आफूलाई सही भन्ठान्छ । आफूलाई सत्य साबित गर्न उनीहरुले त्यतिबेला असत्य बोल्नैपर्छ । जब नेता जनतामाझ पुग्छ चाहे ऊ भाषण गर्ने मन्चमा उभिएको होस् वा अन्तरकृयाका लागि अघिल्लो पंक्तिमा बसेको होस् तब उसले केही न केही कुरा बनावटी गर्नैपर्छ । उनीहरुले त्यहाँ आफ्ना कमजोरी भनेर राम्रा राम्रा कुरा बनाउनु पर्छ । यदि त्यसो नगरे श्रोता गणलाई प्रभाव पार्न सकिंदैन । राजनीतिज्ञले त अझ हरेक कुरामा प्रभाव पारेर “ओहो ! यो मान्छे कति राम्रो रहेछ । यसले त सबै दिलोज्यान हाम्रा लागि पो दिएको रहेछ, हामीले त नबुझेका रहेछौं” भनेर थकथकी गराउनै पर्छ । “ओहो ! यस्तो मान्छेको पछि लाग्नै पर्छ । यस्तो मान्छेलाई हामीबाट टाढा जान दिनहुन्न” भन्ने पार्नै पर्छ ।

म पनि यहाँ बिलाप गर्दैछु किनभने बिलाप गर्ने यो मेरो कमजोरी हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक