सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: ०४:२४ | UK Time: 23:39

अङ्गीकृत नागरिकलाई राष्ट्रपति, उपराष्ट्रपति बनाउन सकिँदैन ः ओली

वीनेपाली
२०७२ असोज ६ गते २३:४२
केपी शर्मा ओली

केपी शर्मा ओली

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अङ्गीकृत नागरिकता प्राप्त गरेका व्यक्तिलाई मुलुकको राष्ट्र प्रमुख वा सरकारको कार्यकारी पदमा जान पाउने व्यवस्था संविधानमा राख्न नसकिने बताएका छन् ।

वाम–प्रजातान्त्रिक आन्दोलनकी अग्रणी सहाना प्रधानको प्रथम स्मृति दिवसका अवसरमा आज यहाँ साहना प्रधान प्रतिष्ठान र पेसागत महासङ्घ नेपालले आयोजना गरेको ‘नयाँ संविधान र मुलुकको भावी दिशा’ विषयको कार्यक्रममा नेता ओलीले अमेरिकामा पनि अङ्गीकृत नागरिकलाई राष्ट्रपति, उपराष्ट्रपति जस्ता पदमा जान नपाइने व्यवस्था भएकाले नेपालमा पनि सो व्यवस्था लागू हुने बताए ।

संविधानप्रति असन्तुष्ट तराई मधेस केन्द्रित दलले सो व्यवस्था हुनुपर्र्नेलगायत माग राखिरहेका छन् । अध्यक्ष ओलीले भने, “नेपाल गरिब र सानो मुलुक भयो भन्दैमा छिमेकीले जे भन्यो त्यही मान्नुपर्छ भन्ने छैन ।”

उनले तराईका जनता भड्काउने काम भइरहेको जनाउँदै संविधान आफँैमा दाल–चामल बोकेर आउने चिज नभएकाले यसले अधिकार र समान अवसरको सिद्धान्त मात्र ल्याएको बताए । उनले भने–आन्दोलनका नाममा अनावश्यक हिंसा निम्त्याएर दुई तिहाइ बहुमतबाट बनेको संविधानलाई नमान्नु लोकतन्त्रसम्मत हुँदैन । ”

संविधान कार्यान्वयनमा जोड
एमाले वरिष्ठ नेता झलनाथ खनालले नेत्री प्रधान जस्ता व्यक्तिको लडाइँ र सङ्घर्षको उपलब्धिका रुपमा लोकतान्त्रिक संविधानलाई लिनुपर्ने बताए । एमालेका अर्का नेता माधवकुमार नेपालले नयाँ संविधानका नाममा धेरै विवाद गर्नुभन्दा यसको इमान्दार कार्यान्वयनमा उत्रनु आवश्यक रहेको उल्लेख गरे ।
एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले महिला शिक्षा र मतदानको अधिकारका लागि राणाकालमै सङ्घर्षमा उत्रिएकी साहनालाई आफूहरूले अभिभावकका रुपमा सदैव स्मरण गर्ने बताइन् । एमाले उपमहासचिव घनश्याम भुसालले भारतसँगको सम्बन्ध र उतारचढावको शृङ्खला लामो समयदेखि चलेकाले उचित राजनीतिक र कूटनीतिक तहको छलफलबाट नेपालको स्वाभिमान उठाउने कार्यमा लाग्न सबैलाई आग्रह गरे ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधान अग्रगामी, समावेशी, समानुपातिकसमेत भएको जनाउँदै अब आर्थिक क्रान्तिमा होमिन सबैलाई आग्रह गरे । नेकपा (संयुक्त) का अध्यक्ष गणेश साहले वामपन्थी नेताका बीचमा हुने आपसी खिचातानी, राजनीतिमा अपराधीकरण र भ्रष्ट प्रवृत्तिको अन्त्य नभएसम्म नेत्री प्रधानका सपना पूरा नहुने धारणा राखेका थिए ।

सहानाका पुत्र उमेशलाल श्रेष्ठले कम्युनिस्ट कार्यकर्तालाई नेता विशेषको गुट वा पिछलग्गु बनाउँदा मुलुक हाँक्ने पार्टीका रुपमा पार्टी रुपान्तरित हुन नसक्ने टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक