बिपीको पलङ सङ्ग्रहालयलाई

बिपी कोइरालाले जीवनको अन्तिम समयमा प्रयोग गर्नुभएको पलङ बिपी सङ्ग्रहालयलाई हस्तान्तरण गदैँ डा सशाङ्क कोइराला । तस्बिरः पूर्णप्रसाद मिश्र, रासस

बिपी कोइरालाले जीवनको अन्तिम समयमा प्रयोग गर्नुभएको पलङ बिपी सङ्ग्रहालयलाई हस्तान्तरण गदैँ डा सशाङ्क कोइराला । तस्बिरः पूर्णप्रसाद मिश्र, रासस

सुन्दरीजल (काठमाडौँ), २४ भदौ । बिपी कोइरालाले जीवनको अन्तिम समयमा प्रयोग गर्नुभएको पलङ बिपी सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ ।

कोइरालाको १०१औँ जन्मजयन्तीको अवसर पारेर आज सुन्दरीजलमा आयोजना गरिएको कार्यक्रममा उहाँका कनिष्ठ पुत्र एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले सो पलङ सङ्ग्रहालय समितिलाई हस्तान्तरण गरेका हुन् ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीलाई विसं २०१७ साल पुस १ गतेको ‘सैनिक कु’ पछि विसं २०१७ फागुन १३ गतेबाट सुन्दरीजलस्थित सेनाका हाकिमको आवासगृहमा बन्दी बनाइएको थियो । जसलाई आममानिसले सुन्दरीजल बन्दी गृहका रुपमा चिन्छन । पञ्चायती सरकारले भने ‘गैँडा’ गस्ती नामाकरण गरेको थियो ।

विसं २०६१ भदौ २४ गते लोकतान्त्रिक आन्दोलनका क्रममा आन्दोलनरत सात दलका शीर्ष नेताको उपस्थितिमा तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सुन्दरीजल बन्दी गृहलाई बिपी सङ्ग्रहालय घोषणा गरेका थिए । सङ्ग्रहालयको उद्घाटन गर्दै कोइरालाले ‘मैले आज मेलमिलापको ढोका उघारेँ’ भनेका थिए ।

सङ्ग्रहालयको स्थापनापछि बिपीले प्रयोग गरेका र प्रजातान्त्रिक आन्दोलनका हरेक वस्तुहरु सङ्ग्रहालयमा सङ्कलन गर्ने क्रममा उनले जीवनको अन्तिम अवस्थासम्म चावहिलको आफना भाइ तारिणीप्रसाद कोइरालाको घरमा बस्दा प्रयोग गरेको पलङ उनका कनिष्ठ पुत्र डा शशाङ्कको सहयोगमा सङ्ग्रहालयमा ल्याइएको संस्थापक अध्यक्ष एवम् संरक्षक परशुराम पोखरेलले जानकारी दिए ।

“बिपी ले विसं २०३९ साउन ६ गतेसम्म सुत्न प्रयोग गर्नुभएको यो पलङ डा शशाङ्कले लामो प्रयासपछि खोजेर सङ्ग्रहालय समितिलाई उपलब्ध गराउनुभएको हो, सङ्ग्रहालयमा अब यो महत्वपूर्ण सामग्री थपिएको छ”–उनले भने ।

सङ्ग्रहालयमा यसअघि नै विसं २००७ को क्रान्तिमा प्रयोग भएको तोप र टयाङ्कलगायत महत्वपूर्ण चीजबीज सङ्ग्रह भइसकेको छ भने विसं २०३० जेठ ३० गते विराटनगरबाट काँग्रेसले अपहरण गरी भारत पु¥याएको नेपाल वायुसेवा निगमको हवाइजहाज ल्याउने तयारी गरिएको छ ।

जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्यसमेत रहनुभएका डा कोइरालाले सुन्दरीजल बन्दीगृहको पर्खालभित्रबाट बिपीले राष्ट्रियतासम्बन्धी विचार दिएको बताए । “विसं २०१५ मा जननिर्वाचित सरकार समावेशीको शब्द उल्लेख नगरिए पनि सबै जातजाति र भाषाभाषीको सहभागितामूलक थियो, त्यही सरकारमा एसियामै पहिलोपटक महिलालाई मन्त्री बनाइएको थियो”–उनले भने ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले भूकम्पपछि सङ्ग्रहालय पूर्णरुपमा क्षति भएकाले पुनःनिर्माण प्राधिकरण व्युँतिइ काम अगाडि बढेपछि ऐतिहासिक एवम् पुरातात्विकस्थलअन्तर्गत सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए ।

सभासद् दीपक खड्काले बिपीको मेलमिलाप नीतिको सान्दर्भिकता संविधान निर्माणको घडीमा अझ बढी आवश्यक देखिएको उल्लेख गरे । “फरक मत राख्नेलाई पनि मेलमिलापको नीतिअन्तर्गत वार्तामा ल्याई मिलाएर लैजानु सबैभन्दा उत्तम विकल्प हो, यसको नेतृत्व काँग्रेसले लिनुपर्छ”–उनको भनाइ थियो ।
पूर्व मन्त्री एवम् बन्दीगृहमै बन्दी बनाइनुभएका विसं २०१५ का मन्त्री जमानसिंह गुरुङका सुपुत्र इन्द्रबहादुर गुरुङले प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक स्थलका लागि सरकारले चाहेमा भूकम्पपछिको पुनःनिर्माणका लागि आवश्यक बजेट छुट्याउन सक्ने धारणा राखे । बिपीको मन्त्रिपरिषद्मा सात जनजाति मन्त्री बनाइएकाले त्यो विचार पुनःस्थापित गरेर काँग्रेस अघि बढ्ेमा अहिले देशव्यापी रुपमा देखिएका समस्या समाधान हुने ठोकुवा पनि उनले गरेका थिए ।

सभासद् किरण यादवले संविधान जारी गर्ने पूर्व सन्ध्यामा तराईका समस्याले मन पोलिरहेकाले समाधान गरी संविधान निर्माण प्रक्रिया अघि बढाउन माग गरे ।

पूर्व सभासद् एवम् काँग्रेसको इतिहासका विषयमा अनुसन्धानरत पुरुषोत्तम बस्नेतले बिपी जीवनमा सबैभन्दा बढी बसेको स्थान र साहित्य सिर्जना पनि सबैभन्दा बढी यहीँ भएकाले यो बिपी एवम् काँग्रेसका लागि महत्वपूर्ण स्थान भएको बताए ।

कार्यक्रममा भूकम्पका दिन सङ्ग्रहालयमा सङ्ग्रहित चीजबीज खसेर असरल्ल भएका बेला जोखिम मोल्दै सामग्री तह लगाएर इतिहास जीवन्त राख्न सहयोग गरेको भन्दै सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक देवीराम पौडेल, हवल्दार बालकृष्ण चौधरी र प्रहरी जवानहरु दीपेन्द्र बस्नेत, जगदीश चौधरी र देवराम चुनारालाई सम्मानसहित जनही नगद रु पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री