भिजन भएकालाई नै मतदाताले जिताउंछन् : हिराधन राई, अध्यक्ष पदका प्रत्यासी

11154587_706839159443152_6408458528079831988_o
अहिले संसारभरका नेपालीमा एनआरएनए राष्ट्रिय समन्वय समितिहरुको चुनावी सरगर्मी छ । यसबाट बेलायती नेपाली पनि अछुत छैनन्, झन् करिब दर्जन जत्ति अध्यक्षको उम्मेद्वारी घोषणाले माहौल रोमान्चक बन्न पुगेको छ बेलायतमा । त्यसमध्ये ”भिजन भएकालाई नै बेलायती नेपालीहरुले मत दिन्छन्” भन्ने अध्यक्ष पदका प्रत्यासी बर्तमान उपाध्यक्ष हिराधन राईसंगको अन्तर्वार्ताको सारांश :
तपाईंको आफ्नै बारेमा बताइदिनोस न ?
नेपालको पूर्वको दुर्गम जिल्ला खोटांगमा जन्मिएको म । समाजसेवी बुवा मणिप्रसाद राइको साइलो छोराको रुपमा जन्मिएर गाउकै स्कुलबाट एस एल सी पास गरेपछि धरानको महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दागर्दै ब्रिटिश आर्मीमा भर्ति भई १८ बर्ष सेवा गरें । बेलायती सेनामा रहंदा २० भन्दा बढी राष्ट्रको भ्रमण गर्ने मौका पाएं । अधिकांश अवधि ट्रेनरको (तेक्वान्दोको चिफ इन्स्ट्रक्टर समेत) रुपमा बिताउंदा अनुशासन र नेतृत्व बिकासका पक्षलाई आत्मसात गर्न पाएं  । अवकास पछिको जीवनमा त्यसलाई सदुपयोग समेत गर्दै जांदा किरात राइ यायोक्खा युके, खोटांग सेवा समाज युके, ग्रेटर रसमोर नेपलिज कम्युनिटी, गेसो, बिजिडब्लुएस, युबिजिएन, रावाखोला सेरोफेरो लगायतका संस्था हुदै बिगत दुई बर्ष देखि एनआरएनए युकेको उपाध्यक्षको रुपमा सेवारत छु । उपाध्यक्षको रुपमा दशौ अन्तर्राष्ट्रिय तेक्वान्दोको सफल संयोजन, नेपालमा केहि समय अगाडी गएको भूकम्प पीडितहरुलाई स्थलगत रुपमै सहयोग कार्यको संयोजन तथा वितरण, भूपू गोर्खा बृद्द बुवा-आमाहरुलाई आपत-बिपतमा आवश्यक सहयोग, गोर्खा आन्दोलनमा प्रत्यक्ष सहभागिता जस्ता पक्ष आफ्नो उपलब्धिको रुपमा लिएको छु । साथै भूकम्प पीडितहरुलाई सहयोग पुर्याउन नेपाल भूकम्प आपतकालीन क्याम्पेनको संयोजन हुदै रोजीहिरा फाउन्डेशनको अध्यक्षता समेत गर्दै आइरहेको छु ।
बास्तवमा तपाईंको उम्मेद्वारी किन ? 
मैले हिजो सकेको गरें, आज पनि गरिरहेकै छु । अनि भविष्यको लागि मसंग केहि अल्पकालीन र दीर्घकालिन योजनाहरु छन्, तिनै योजनाहरुलाई कार्य रुप दिन नै मेरो उम्मेद्वारी हो ।
कस्ता छन् तपाईंका अल्पकालीन र दीर्घकालिन योजनाहरु ?
एनआरएनए युकेमा देखिएका तत्कालिन समस्याहरुलाई निराकरण गर्ने, विद्यार्थी सहयोग योजना ल्याउने, वृद्धवृद्धाका लागि अल्पकालीन र दीर्घकालिन कार्ययोजना ल्याउने, जसको लागि ठाउं-ठाउंमा कल सेन्टरहरुको ब्यबस्था गर्ने, नागरिकताको सवालमा चालिएको कदमलाई निरन्तरता दिंदैदै बन्न गइरहेको संविधानमा त्यसको प्रत्याभूति दिलाउन नजिकमा रहेर कार्य गर्ने योजना छ ।कुनैपनि संस्थाको सदस्य भए बापत कुनैपनि व्यक्तिले त्यो संस्थाबाट स्वाभाविक रुपमै केहि पाउने अपेक्षा राखेको हुन्छ, तसर्थ एनआरएनएका पंजीकृत सदस्य भएबापत सदस्यहरुले अनुभूति गर्नेगरी केहि पाउने ब्यबस्था हुनु आवश्यक छ । तसर्थ पंजीकृत सदस्य भए बापत उहाहरुले केहि सहयोग र सहुलियत पाउदै हुनुहुन्छ, जसको लागि मैले अहिलेदेखि नै बिभिन्न ब्याबसायिक संस्थाहरुसंग छलफल चलाइसकेको छु , सदस्यहरुलाई सहुलियत दरमा सहयोग रकम उपलब्ध गराउने, वृति बिकासका लागि आवश्यक व्यवस्था गर्ने,  मेरो विजय पछि यस कार्य लाइ तिब्रता दिनेछु, मेरो मुख्य सरोकार यसैमा छ ।
अर्को कुरा जन्मभूमि नेपालसंग सम्बन्धित छ, जन्मभूमिप्रति हाम्रो कर्तब्य छ, यसमा बिभिन्न क्षेत्रमा सामूहिक लगानीका साथै बिकसित देशमा सिकेका सिप र कलालाई नेपालमा पनि पुर्याउन ”स्किल ट्रान्सफर” को योजना बनाएको छु । साथै मौलिक संस्कृति, भाषा शिक्षण तथा बिस्तारको लागि आवश्यक मेकानिज्मको सम्भावना हेर्नेछु 
केहि गर्छु भन्ने अरु उम्मेदवारहरु पनि त मैदानमा देखिएका छन् नि ?
त्यो एकदम राम्रो कुरा हो, यसपटकको ब्यापक उम्मेद्वारीले एनआरएनए युकेको व्यापकता र बढदो आकर्षण उजागर गरेको छ, यसलाई सकारात्मक पक्षको रुपमा लिएको छु ।
एन आर एन ए युकेको खस्किएको साख फिर्ता गर्ने कुनै योजनाहरु पनि छन् कि ? 
जे नहुनु पर्ने भैसक्यो, त्यसलाई फेरि फेरि उप्काएर न त कसैलाई फाइदा छ, न त्  संस्थालाई नै । हामी सबैले एउटा पाठ सिकिसकेका छौं, कतिसम्मको अबस्था आयो भने, यो संस्था नै किन चाहियो भन्ने प्रश्न नै सिर्जना भयो । यसको जिम्मेवार हामी सबै हौं, यसलाई स्विकार्नै पर्छ र हामी सम्बन्धित सबैले स्विकारिसकेका छौं पनि । मुख्य कुरा सहमति हो, अनि बिगतका सहमतिलाई कार्य रुप दिने हो । बिगतमा एन आर एन ए युकेका नेतृत्वहरुले धेरै गर्नु भएको छ, यथार्थ भनौ भने युके नै एनआरएन आन्दोलनको जन्मथलो हो । यसमा हामीले गर्व गर्नुपर्छ , बिचमा भएका सानातिना बिबादले यी ठूला उपलब्धिहरु ओझेलमा परेका हुन् । तसर्थ अग्रजहरुका अनुभव, अभिभावकत्वलाई आत्मसात गर्दै युवाहरुका जोश- जाँगर, गोर्खाहरूका लगनशीलता, समाजसेवीहरुका कर्मशीलता, बुद्दिजिविहरुका सुझाव र मार्गनिर्देशनहरुबाट एउटा मार्गचित्र बनाएर अगाडी बढ्नेछु, जसबाट एन आर एन युकेको खस्किएको साख पुन फिर्ता हुने बिश्वास छ ।
एनआरएनए युकेमा देखिएको विभाजित मनस्थितिलाई तपाईंले कसरी एकिकृत गर्नुहुन्छ ? 
सर्बप्रथम, निर्वाचित हुने बित्तिकै एन आर एन ए युकेका बिगतका सम्पूर्ण नेतृत्वदेखि सरोकारवाला सबैलाई एकै स्थानमा जम्मा गरेर सकारात्मक सोंचका लागि एकिकृत निर्णय गर्ने प्रयास गर्नेछु । उहांहरु सबैलाई छातीमा हात राखेर सोध्नेछु : हामीले विगतमा विबाद गरेर के पायौं ? के अब पनि हामी यहि मनस्थितिमा गइरहने हौं ? अनि उहांहरुको जवाफसंगै उहांहरु सबैलाई साथमा राखेर एउटा प्रण गर्नेछु र उहांहरुलाई पनि गराउनेछु । एनआरएन गतिछाडाको लागि हैन, गतिशीलताको लागि हो भन्ने कुरा हामी सबैले महशुस गर्ने बित्तिकै विभाजित मनस्थिति एक ठाउंमा आउनेछ । सबैभन्दा ठूलो कुरो, सामुहिक नेतृत्वको सफल प्रयोगको प्रयास गर्नेछु । कुनैपनि महत्वपूर्ण बिषयमा अग्रजहरुको सल्लाह र सुझाबमा कार्यसमितिको सामूहिक सम्मतिबाट निर्णय लिने परिपाटीको विकास गर्नेछु । जहां सामूहिक निर्णय र कार्यान्वयनको प्रयास हुन्छ, त्यहाँ विभाजित मनस्थिति बिस्तारै एकिकृत हुंदै जाने विश्वास दिलाउन चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री