बुधबार, असोज ७ २०७७ | Wed, September 23, 2020
नेपालको समय: २२:३९ | UK Time: 17:54

संविधान भन्दा गाँस बासकै चिन्ता छ चेपाङलाई

वीनेपाली
२०७२ साउन १० गते १२:५१

Chepang_Home

रत्ननगर (चितवन), १० साउन । टन्टलापुर घाममा सुक्खा डाँडोमा फुको माटोको आली लगाउँछन् शक्तिखोर नयाँ टाँडीका ३४ वर्षीय लालबहादुर चेपाङ । आकासे पानीको भर भएकाले पानी पर्ने बित्तिकै रोपाइँ छोप्नु छ ।

बेलैमा काम नगरे हिउँदमा पेट भर्न सकिँदैन । छिमेकका दाजुभाइले यस्तै गरी भएको एक गरोमा रोपाइँ गरिसके । तर उनकोमा आली लागेको छैन । उनले दुखेसो गरे – “के हुनु र सर ! चेपाङ जाति यस्तै हो । छ महिना अनिकाल छ महिना सहकाल, अहिले नगरे खान पाइँदैन ।”

जिन्सको पाइन्ट काटेर बनाइएको कट्टु लगाएका छन् । घामले डढेको शरीर नाङ्गै छ । घामले पसिनाको धारा छुटेपछि नजिकै एउटा घरको टाँडमा शीतल ताप्न आइपुगे । टाँडमा माइलो दाइ सोमबहादुर पनि छन् ।

पल्लो पाखामा प्रगति सामुदायिक वनको हलमा संविधानको प्रारम्भिक मस्यौदा माथि छलफल चलिरहेको थियो । प्रहरीको बाक्लै उपस्थिति सिधै देखिन्छ । कार्यक्रममा भए गरेका कुरा सुनिन्छ र प्रस्टै बुझिन्छ ।

नयाँटाँडीको तीन परिवारका कोही पनि सुझाव दिन गएनन् । तीन परिवारका तीनै जना पुरुष कट्टुको भरमा छन् । “के भइरहेको हो त्यहाँ,” मैले अनभिज्ञता प्रकट गर्दै सोधेँ । “कार्यक्रम छ होला सर” लालबहादुरले जवाफ दिए । किन नगएको त ? अर्का चेपाङ सोमबहादुरले भने, “खै सर हामी गएर के काम, (ठूला मान्छे जाने थाममा ।” बीचैमा कुरा काट्दै हीरा चेपाङले भने – “संविधान बनाउन लाग्या, सुन्थेँ मैले त ।”

शक्तिखोरको बेँसीमा बसेकीले होला बोल्नमा फरासिली देखिन्थिन् हीरा । महिलाका विषयमा खुलेरै कुरा गरिन् तिनले । “तपाईं त जानुपर्ने नी कार्यक्रममा” मेरो कुरो खस्न नपाउँदै हीराले भनिन् – “केलाई बुझ्ने हाम्रो लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हाम्रो कुरा सुन्दै सुन्दैन, महिलाको कुरा लेखिँदैन, भए पनि हाम्रो लागि लेखिँदैन ।”

“अब अधिकार लेखेको छ, केही जानी श्रीमान् श्रीमती छुट्यो भने सात वर्षसम्म बच्चा पालेर फेरि बूढालाई फर्काउनुपर्ने रे, यत्रो हुर्कायो बढायो, जिन्दगीभर बच्चा श्रीमतीले राख्न पाउनुपरयो, मायाँ त हामीलाई बढी हुन्छ नि” काखमा बच्चा खेलाउँदै हीराले मनको कुरा खोलिन् ।

सँगै नजिकमा श्रीमान् नरबहादुर चेपाङ पनि बसिरहेका थिए । तपार्ईंलाई श्रीमतीको कुरा मन प¥यो ? नरबहादुरले भने, “हैन, बच्चा त हाम्ले नै राख्नुपर्छ, उ अर्काेमा गए त फेरि पाई हाल्छ नि,” श्रीमान् श्रीमतीकै मत बाँझियो ।

यो कुरा उनीहरूले आफ्नै घर परिवारबाट थाहा पाएका रहेछन् । सुरुमा कुरा खुस्किन्छ कि भनेर सचेत हुँदै थिए उनीहरू । विस्तारै कुरा खुल्दै गयो । परिवारमा यो एउटा सत्य कथा नै बन्न पुगेछ ।

हीरा र नरबहादुर श्रीमान् श्रीमती । हीराका मामा पर्दा रहेछन् बमबहादुर, सोमबहादुर र लालबहादुर । उनीहरू क्रमशः जेठा, माइला र साइला दाजुभाइ हुन् । सोमबहादुरकी श्रीमती शान्ति पाँच वर्षअघि श्रीमान् छाडेर अर्कैसँग गइन् । एक छोरा र एक छोरी गरी दुई बच्चा अहिले सोमबहादुरसँगै छन् । छाडेर गएकी शान्तिले ती बच्चा हुर्काएपछि फिर्ता गरेकी रहिछन् । हीराले भनिन् – “माइजूले पालेर हुर्केपछि छाडेर जानुभएको ।”

यही जानेर उनले आमासँगै बच्चा हुनुपर्छ भनेकी हुन् । घरमा बढी रक्सी खाएर बस्ने गरेकाले उनी गएकी भनेर उनीहरूले नै भने । “खै सर ! रक्सी नखाई मनले मान्दैन, छाडौँ भनेको हो, जाँगरै आउँदैन,” रक्सी नखान गरेको आग्रहमा लालबहादुरले जवाफ दिए । रक्सीकै कारण जेठा बमबहादुरकी श्रीमती पनि अर्कैसँग गएकी रहिछन् ।

“यी बालबच्चा पाल्न पढाउन धौधौ हुन्छ, चेपाङलाई राहत आउँछ, उही लेकमा लान्छ, हामी तलका चेपाङ हेरेको हे¥यै, अनि कसले गर्ने हाम्लाई सहयोग” – हीराले भनिन् ।

चुनाव हुँदा नेता आएर यस्तो गर्छु र उस्तो गर्छु भनेको उनीहरूलाई ताजै छ । “अहिले खै ? “घाम लाग्यौँ अस्तायो” हीराले भनिन् । उनीहरूसँग यसरी कुरा गरिरहँदा मङ्गलबार शक्तिखोरको उक्त सामुदायिक वनभित्र सुझाव सङ्कलनपछि कार्यक्रम समापनका क्रममा सभासद् शेषनाथ अधिकारी बोल्दै थिए ।

पीडित सीमान्तकृत जनताका लागि सरकारले सहयोग गर्ने अधिकारीले बताइरहँदा ती चेपाङ हात्ती आयो, हात्ती आयो फुस्सा भनेर उडाइरहेका थिए । सुझाव सङ्कलन केन्द्रमा ती परिवारमध्येका वृद्ध बुबा जीतबहादुर गएका थिए । सुझाव दिन नभई के भएको रहेछ भनेर हेर्न गएका हुन् उनी । तर उनले खासै कुरो बुझेनछन् ।

“उही दलित, चेपाङको कुरो आयो, नागरिकताको कुरो आयो, बाउ (बाबु) आमा भए नागरिकता हुन्छ रे, अलिपछि आको कुरोको मेसै भएन न पो सर ।” तपार्इंहरूलाई के भए राम्रो हुन्थ्योभन्दा जीतबहादुरले भने – “खान लाउन पाइँदैन, पाए त हुन्थ्यो ।” नाम छुट्छ कि भन्ने चिन्तामा थिए उनी । “नाम चाहीँ जीतबहादुर लेख्नु है सर” अन्त्यमा उनले आग्रह गर्दै भने ।

भित्तामा मात्रै चेपाङ

शक्तिखोरको प्रगति सामुदायिक वनको जुन हलमा सुझाव सङ्कलन हुँदै थियो, त्यहाँको भित्तामा २५ भन्दा बढी चेपाङका नाम लेखिएका छन् । उनीहरू सबै सामुदायिक वनका सदस्य छन् । राजबहादुर, जयबहादुर, दिलबहादुर, मानबहादुर, साुनमायाँ, हरिमायाँ, पार्वतीलगायत छन् ।

सभासद् बसेको पछाडि ब्यानरसँगै उनीहरूका नाम छन् । तर भित्तामा लेखिएका चेपाङसमेत सुझाव दिन आएनन् । सामुदायिक वनका कार्यालय सचिव विकास श्रेष्ठ २२ घर चेपाङ सदस्य रहेको र दुई जनामध्ये सुकमायाँ प्रजा कार्यसमिति सदस्य तथा दिलबहादुर चेपाङ सल्लाहकार रहेको बताउंछन् ।

सुझाव सङ्कलन केन्द्रमा रहेका करिब २०० प्रतिनिधिमध्ये जम्मा तीन जना चेपाङले बोले । एकजना अर्कै जातिका केपीकिरण शर्माले चेपाङका कुरा उठाउँदै एकीकृत बस्ती व्यवस्थापनमा जोड दिए । केही चेपाङ बाहिर झ्यालबाट रमिता हेरिरहेका थिए । बोल्ने चेपाङ कुनै राजनीतिक दल र सङ्घसंस्थामा काम गरेका अगुवा थिए । चेपाङ गाउँमै भएको सुझाव सङ्कलनमा उनीहरूको न्यून उपस्थिति हुनु विडम्बना थियो । चितवनमा करिब ३२ हजार भन्दा चेपाङको बसोबास छ ।

शक्तिखोरका स्थानीय दलबहादुर चेपाङले चेतनाको र जानकारीको अभावमा चेपाङको सहभागिता कम भएको बताए । उनले खान लगाउन पर्याप्त भए भने चेपाङ खुसी हुने अनुभव सुनाए । त्यसका लागि सीप, शिक्षा र रोजगारी दिनुपर्ने अर्का चेपाङ दामरामले बताए । सुझाव दिने क्रममा बोलेका तीन जना महेन्द्र चेपाङ, दलबहादुर चेपाङ र डिल्लीराज चेपाङले करिब करिब एउटै कुरा भने । उनीहरूले लिखितरूपमै सुझाव दिए ।

उनीहरूको माग यस्तो छ

१. तीनसाले खोरियाको पुर्जा उपलब्ध हुनुपर्ने ।
२. चेपाङका बालबालिकालाई निःशुल्क बस्ने बाससहितको उच्च शिक्षा हुनुपर्ने ।
३. हरेक दल तथा संस्थामा चेपाङ चेपाङबीच प्रतिस्पर्धा गराएर सहभागी सुनिश्चित गर्नुपर्ने ।
४. समावेशी रूपमा राज्यको अङ्गमा सहभागी गराइनुपर्ने ।
५. प्राविधिक र व्यावसायिक सीप विकासको ग्यारेन्टी हुनुपर्ने ।
६. स्वास्थ्यमा सहयोग र राउटेलाई जस्तै सामाजिक सुरक्षा भत्ता हुनुपर्ने ।
७. परम्परागत पेसा र ज्ञान सीपको संरक्षण गर्नुपर्ने ।
८. भूमिहीन चेपाङलाई भूमि र आवास नभएकालाई आवास उपलब्ध गराइनुपर्ने ।
९. शिक्षाअनुसारको रोजगारी दिनुपर्ने ।

नेपालमा सरकारी तथ्याङ्कमा ६८ हजार चेपाङ रहेका छन् । चेपाङका अनुसार एक लाखभन्दा बढी चेपाङ नेपालमा छन् । सभासद् काशीनाथ अधिकारीले सुझाव जस्ताको तस्तै संविधानसभामा पुरयाउने बताए । चेपाङहरू छ महिना अनिकाल र छ महिना सहकालमा बस्छन् । खाद्यान्न सकिएपछि जङ्गली गिठ्ठा र भ्याकुरमा उनीहरूको जीवन निर्भर रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक