
काठमाडौँ । संविधानको पहिलो मस्यौदामाथि सुझाव सङ्कलनका लागि तयार गरिएको कार्यतालिकाअनुसार सभासद्हरु आ–आफ्नो तोकिएको क्षेत्रमा पुगिसक्नुभएको छ ।
संविधानसभा सचिवालयकाअनुसार केही शीर्ष नेताबाहेक धेरैजसो सभासद् आ–आफ्नो क्षेत्रमा पुगेर जनमत सङ्कलनको आवश्यक तयारी गरिसक्नुभएको छ ।
सचिवालयले आवश्यकताका आधारमा नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा उपलब्ध गराएको छ । हिमाली तथा दुर्गम क्षेत्रका लागि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकप्टरको व्यवस्था गरिएको छ भने सुगम स्थानमा सडकबाटै जाने व्यवस्था मिलाइएको छ ।
जनमत सङ्कलनका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आवश्यक व्यवस्था मिलाइएको छ । संविधानसभा सचिवालयका कर्मचारीहरु २४० वटै निर्वाचन क्षेत्रमा पुगेर पूर्व तयारी गरिसकेका कारण यही साउन ४ र ५ गते शान्तिपूर्ण रुपमा जनमत सङ्कलन हुनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र केही मधेसवादी दलले भने जनमत सङ्कलनको प्रक्रियामा सहभागी नहुने जनाएका छन् ।
सचिवालयले मस्यौदा अपुग भएको भए गोरखापत्रमा प्रकाशित मस्यौदा र मस्यौदाको विशेषताका आधारमा पनि काम चलाउन आग्रह गरेको छ । संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जनमत सङ्कलनको कामलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
बर्सात्को कारणले केही स्थानमा मस्यौदा नपुगेको भन्ने गुनासोलाई सम्बोधन गर्न स्थानीय प्रशासनलाई आग्रह गरिसकिएको सहायक प्रवक्ता कुइँकेलको भनाइ छ ।
यस्तै संविधानमा नागरिकले फोन वा इमेल गरेर पनि सुझाव दिने व्यवस्था मिलाइएको छ ।
काठमाडौँमा सुझाव दिने स्थल तय
यसैबीच काठमाडौँको दशवटै निर्वाचन क्षेत्रमा पनि सुझाव दिनका लागि संविधानसभा सचिवालयले आवश्यक व्यवस्था गरेको जनाएको छ ।
नागरिक सम्बन्ध तथा संविधान सुझाव सङ्कलन समितिका अनुसार काठमाडौँको निर्वाचन क्षेत्र नं १ का लागि दशरथ रङ्गशाला, विजयस्मारक स्कुल, बानेश्वर व्याङ्केट र भिएस निकेतन स्कुलमा व्यवस्था गरिएको छ ।
क्षेत्र नं २ का लागि भगवती मावि साँखु, सरस्वती मावि कोटेश्वर, आस्था पार्टी प्यालेस थली र गोल्डेनगेट उमावि पुरानो बानेश्वरमा स्थान तय गरिएको छ । क्षेत्र नं ३ का लागि आलापोटको कागेश्वरी पुस्ताकालय, सुन्दरीजलको ओख्रेनी मावि, समता स्कुल नयाँबस्ती बौद्धमा पुगेर जनताले आफ्ना सुझाव दिन सक्नेछन् ।
क्षेत्र नं ४ का जनताले बास्केटबल कोर्ट गोल्फुटार, मिलनचोक पार्टी प्यालेस, गोल्डेन लाइट पार्टी प्यालेस र अग्रवाल भवन कमलपोखरीमा पुगेर सुझाव दिन सक्नेछन् ।
क्षेत्र नं ५ मा पुरानो गाविस भवन टोखा, धुम्बाराही पार्टी प्यालेस, धापासी नेचर क्लब र परेली पार्टी प्यालेसका लागि स्थान तय गरिएको छ ।
क्षेत्र नं ६ मा मानसिंह धर्म उमावि, लैनचौरमा दुग्ध विकास संस्थान नजिकै र पब्लिक बोर्डिङ स्कुल, क्षेत्र नं ७ मा बालाजु पार्क, क्षेत्र नं ८ का लागि ज्ञानोदय उमावि बाफल, क्षेत्र नं ९ का लागि तीनकुने ग्राउण्ड कुलेश्वर र बलम्बु गुर्जुधारा–८ जिविसको पुरानो भवनलाई सुझाव दिने स्थानका रुपमा तय गरिएको छ ।
त्यसैगरी क्षेत्र नै १० का जनताले पाँगा पार्टी प्यालेस कीर्तिपुर, त्रिभुवन आर्दश विद्यालय फर्पिङ, दक्षिणकाली नगरपालिका र सतुङ्गल पार्टी प्यालेस, सतुङ्गल चन्द्रागिरि नगरपालिकामा सुझाव दिने स्थानको रुपमा छनौट गरिएको छ ।
आफूलाई पायक पर्ने तोकिएका स्थानमा पुगेर आफ्नो सुझाव दिन समितिले आग्रह गरेको छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?