नीति तथा कार्यक्रममा नयांपन छैन् ः विपक्षी दलहरु

सरकारको आगामी आर्थिक वर्ष २०७२, ७३ को नीति तथा कार्यक्रम प्रस्तुत हुंदै व्यवस्थापिका–संसद्को विशेष बैठक ।  तस्बिर ः प्रदीपराज वन्त, रासस

सरकारको आगामी आर्थिक वर्ष २०७२, ७३ को नीति तथा कार्यक्रम प्रस्तुत हुंदै व्यवस्थापिका–संसद्को विशेष बैठक । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, २३ असार । भूकम्पपछिको पुनःनिर्माणका लागि ठूलो अवसर भए पनि सरकारले ल्याएको नीति तथा कार्यक्रममा खासै नवीनता नदेखिएको प्रतिक्रिया विपक्षी दलहरूले दिएका छन् ।

सरकारले बुधवार व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७२, ७३ को नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्दै एकीकृत नेकपा(माओवादी)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नीति तथा कार्यक्रम पुरानै निरन्तरताका रूपमा आएको टिप्पणी गरे ।

उनले भने, “भूकम्पपछिको पुनःनिर्माण र नवनिर्माणमा कसरी लाग्ने भन्ने अवसर थियो, केही सामान्य सम्बोधनको कुराबाहेक गुणात्मक रूपमा आउन सकेन ।”

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले बढ्दो बेरोजगारी, व्यापारघाटा बढिरहेका अवस्थामा विप्रेषणलाई एकीकृत रूपमा उत्पादनमूलक ढङ्गले लगानी गर्न सक्ने गरी ठोस रूपमा नीति तथा कार्यक्रममा आउनु पर्नेमा त्यो छुटेको उल्लेख गरेका छन् ।
हरेक वर्ष नीति तथा कार्यक्रमका आधारमा बजेट विनियोजन गर्ने र कार्यान्वयनको प्रक्रियामा लैजाने परिपाटीअनुसार मात्रै परम्परागत कार्यक्रम आएको उनको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निराशाजनक, हचुवा, कर्मकाण्डी हिसाबले नीति तथा कार्यक्रम ल्याइएको आरोप लगाए ।

उनले भने, “भूकम्पपीडितलाई राहत दिने खासै कार्यक्रम छैन, गरिबी, बेरोजगारी र लगानीलाई सम्बोधन गर्ने पाटो कमजोर छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा राम्रो भए पनि कार्यान्वयन पक्ष कस्तो रहन्छ भन्नेसँग यसको गुण र दोष जोडिएको प्रतिक्रिया दिए । उनले भने, “निजी क्षेत्रलाई अझ प्राथमिकता राखेर सहकार्य गर्नुपर्छ भन्ने लाग्दछ ।”

नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष जयराम लामिछानेले वर्तमान अवस्थामा मुलुकको परिस्थितिअनुरूप नीति तथा कार्यक्रमले समग्र पक्षलाई समेट्न प्रयास गरेको बताए ।

“नीति तथा कार्यक्रमले संविधान लेखन, गरिबी निवारण, पूर्वाधार निर्माण र भूकम्पपछिको नवनिर्माणलाई समेट्न प्रयास गरेको छ,” उनको प्रतिक्रिया थियो ।

सञ्चारकर्मीको जिज्ञासामा संविधानसभा भवन नयाँ बानेश्वर परिसरमा कुराकानी गर्दै अर्थमन्त्री डा रामशरण महतले भूकम्पपछिको पुनःनिर्माण र मुलुकका समग्र विकास कार्यक्रमलाई अगाडि बढाउन कार्यक्रमले निश्चित रूपमा ठूलो मद्दत पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

नीति तथा कार्यक्रमअनुसार नै बजेट आउने जानकारी दिँदै उनले पुनःनिर्माण, राष्ट्र निर्माण तथा आर्थिक सुधारका कामलाई प्रमुख प्राथमिकता दिएको बताए ।

अर्थमन्त्री डा महतले भने, “अर्थतन्त्रलाई कसरी पुनर्ताजगी गर्ने, नयाँ जीवन दिने, नेपालीको जनजीवनलाई सामान्य बनाएर राष्ट्र निर्माण कसरी लगाउने भन्ने सन्दर्भमा कार्यक्रमले राम्रो सन्देश दिएको छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री