राष्ट्रिय पर्यटन प्रबर्धन समिति प्रभावकारी बनाइने

ultra-light

काठमाडौँ, २१ असार । राष्ट्रिय पर्यटन प्रबर्धन समितिका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्न वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्यको संयोजकत्व र अर्का व्यवसायी लाक्पा सोनाम शेर्पाको सहसंयोजकत्वमा एक कार्यकारी समिति गठन गरिएको छ ।

भूकम्पपछिको पर्यटनको पुनरुत्थान तथा प्रबर्धनका लागि मन्त्रिपरिषद्को गत जेठ ३१ गतेको निर्णयअनुसार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाको अध्यक्षतामा गठित राष्ट्रिय पर्यटन प्रबर्धन समितिको आइतबार बसेको प्रथम बैठकले सो समिति गठन गरेको हो ।

समितिको सदस्यमा वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, सहसचिव उमाकान्त पराजुली, नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका सदस्यद्वय राजेन्द्र सापकोटा र घनेन्द्र श्रेष्ठ, बोर्डका प्रशासकीय प्रमुख छन् । उक्त समितिको सदस्य सचिव एवम् प्रवक्ताका रुपमा पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतम रहेका छन् ।

समितिले काठमाडौँ उपत्यकाका भूकम्प प्रभावित भवनहरु भत्काउन मात्र नेपाल सरकारबाट गरिएको सङ्कटग्रस्त क्षेत्रको घोषणा पर्यटनलगायत अन्य कुनै क्षेत्रसँग सम्बन्धित नरहेको सम्बन्धमा जानकारी गराउने र पर्यटन पुनरुत्थानका लागि संसद्को विकास समितिबाट जारी भएको पोखरा घोषणापत्र–२०७२, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ले नेपालको सिफारिससहितको प्रतिवेदनको स्वामित्व ग्रहण गर्दै यथाशीघ्र कार्यान्वयन गराउन पहल गर्ने निर्णय गरेको छ ।

त्यस्तै पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएका मुख्य हिमालका आधार शिविरमा मौसमसम्बन्धी पूर्व जानकारी दिने उपकरण स्थापना गरी प्रभावकारी सेवा प्रवाह गर्न सम्बन्धित निकायमार्फत व्यवस्था मिलाउने समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हवाइ सुरक्षा र पदयात्री सुरक्षासम्बन्धी सम्बन्धित निकायमार्फत आवश्यक विशेष व्यवस्था गर्ने, ट्राभल एड्भाइजरीलाई खुकुलो पार्न परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकलाई अनुरोध गर्ने तथा अन्तर्राष्ट्रियस्तरका बैठक, सभा, सम्मेलन, प्रदर्शनी, महोत्सवहरु नेपालमा आयोजना गरिदिन परराष्ट्र, अर्थ तथा क्षेत्रगत मन्त्रालयमार्फत विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थालाई अनुरोध गर्ने समितिको निर्णय छ ।

त्यसैगरी, पर्यटन पुनरुत्थान यही सन् २०१५ को अक्टोबर महिनाबाट कसरी गर्ने र दीर्घकालीन रुपमा कसरी गर्ने भन्ने सम्बन्धमा योजना बनाउने, विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुद्वारा आर्थिक कूटनीतिमार्फत नेपालमा पर्यटन पुनरुत्थानलाई प्राथमिकता दिन अनुरोध गरिने समितिले जनाएको छ ।

विदेशस्थित नेपालका अवैतनिक वाणिज्यदूतमार्फत नेपालको पर्यटन पुनरुत्थानमा सघाउ पुरयाउन अनुरोध गर्ने, हवाई उडानलाई सस्तो पार्न हवाई इन्धनको मूल्य तुलनात्मक रुपमा कम गरी मूल्य अभिवृद्धि कर(भ्याट) हटाउन वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयलाई अनुरोध गर्ने तथा अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक कम्पनीहरुलाई आकर्षण गर्ने समितिको निर्णय छ ।

कार्यकारी समितिका प्रवक्ता तुलसीप्रसाद गौतमका अनुसार पर्यटन पुनरुत्थान गर्न प्रबर्धनसँग सम्बन्धित सबै उद्योगलाई एक वर्षका लागि आयकर छुट दिन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने, भूकम्पबाट प्रभावित पर्यटन उद्योगले तिर्नुपर्ने बैंक ऋण तथा साँवा ब्याजलाई एक वर्षपछि लिने गरी पुनर्तालिकीकरण गर्न तथा ब्याजमा सहुलियत दिने गरी आर्थिक तथा मौद्रिक नीतिमा व्यवस्था गर्न अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

साथै, पर्यटन मन्त्रीको अध्यक्षतामा पर्यटन सङ्कट व्यवस्थापन समिति बनाउनुका साथै अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरु र टुर अपरेटरहरुको परिचयात्मक भ्रमणको आयोजना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री