अर्थोडेन्टिस्ट थेरापिस्टको लोभलाग्दो सफलता

IMG_2668

सन् २००८ मा बेलायत टेक्दा काठमाण्डौंकी राधिका काप्रीसंग पनि केही सपना थिए आम मानिस जस्तै । अरु जस्तै २७ वर्षीया यी तन्नेरी पनि संसारभर बिक्ने बेलायती डिग्रीका लागि बेलायत यात्रा तय गरेकी थिइन् । त्यसमा उनको अर्को सपना थियो जे सुकै भएपनि एउटा विषयमा दज्ञता हासिल गर्नु ।

इच्छा शक्ति र लगाव भए मानिसले देख्ने सपना पुरा गर्न असम्भव नरहेको प्रमाणित गरिन् उनले । राधिकाको सपना पूरा गर्न न बेलायतको फेरिरहने अध्यागमन नियम बाधक बन्यो, न समय अनि काम ।

त्यसैले त झण्डै ७ वर्षकै छोटो अवधिमा उनले कडा लगन र परिश्रमले विश्वस्तरीय डिग्री मात्र हांसिल गरिनन्, उनले नेपालीहरुले हातै नहालेको क्षेत्रमा छिरेर दक्षता समेत बटुलेकी छिन् । छोटो समयमा उनले चुमेको नयां करिअरको उचाइ सांच्चिकै लोभलाग्दो छ ।

बेलायतमा अर्थोडेन्टिस्ट थेरापिस्टको काम गर्ने उनी पहिलो र सम्भवतः एकमात्र नेपाली हुन् । अर्थोडेन्टिस्ट थेरापिस्टको संख्या बेलायतभरमै मात्र २ सय ८० छ । उनले नयां क्षेत्रमा कसरी करिअर बनाइन त ? भन्छिन्, ‘सन् २००९ देखि नै डेन्टल प्राक्टिसमा काम गर्न थालें र त्यही वर्ष डेन्टल नर्सिङ पनि पुरा गरेपछि यसमा लागेका हुं ।’ काम गर्दै जांदा उनी विस्तारै ‘अर्थोडेन्टिस्ट थेरापिस्ट’ करिअरतिर आकर्षित भइन् ।

भनिन्छ, भाग्यमानीहरुको भूतै कमारो । उनले नयां करिअरबारे सोचेकी के थिइन्, अवसर ढोकैमा आयो । ‘यसैका लागि अवसर खोजी गर्दै गर्दा यहांको प्रतिष्ठित किंग्स यूनिभर्सिटीमा अध्ययनको मौका पाएं,’ हल्का मुस्कानसहित उनी सफलताको 
सिंढीबारे सुनाउंदै थिइन् ‘किंग्स् कलेजबाट सन् २०१४ मा पढाइ पुरा गरेपछि झन् प्लस प्वाइन्ट भयो ।’

अहिले राधिका ग्रीनविचस्थित ग्रीनविच डेन्टल प्राक्टिसमा ‘अर्थोडेन्टिस्ट थेरापिस्ट’ को काम गरिरहेकी छन् । राधिका कार्यरत रहेको सो डेन्टल प्राक्टिसले उनको किंग्स् कलेजको १४ हजार पाउण्डको शुल्कमध्ये आधा बेहोरिदिएको थियो ।

बेलायतमा अधययन गर्ने र भनेझैं करिअर बनाउने सपना धेरै नेपाली विद्यार्थीमा छ । तर, उच्च शिक्षाका लागि संसारकै प्रतिष्ठित मुलुकमा आएर सोचेजस्तै सफलता पाउन भने त्यत्ति सजिलो कहां छ र ? तर, राधिका केही गर्न चाहने युवायुवतीहरुका लागि प्रेरणाको श्रोत बन्न सक्छिन् । ‘हरेक ठाउंमा संघर्षसंग सफलता गांसिएको हुन्छ,’ उनी भन्छिन् ‘संघर्षबाट नभाग्नेहरु अवश्य सफल हुन्छन् ।’

आफ्नो कामदेखि पूर्ण खुशी छन् राधिका । यसबाट हुने आकर्षक कमाइले सन्तुष्ट नहुने कुरै भएन । बेलायतमा प्रचलित न्यूनतम ज्यालाभन्दा उनको कमाइ प्रति घण्टा झण्डै तीन गुणा बढी छ ।

राधिकाको कामको दायरा अब ‘थेरापिस्ट’ मा मात्र सिमित छैन् । उनले ‘डेन्टल तथा अर्थोडन्टिक नर्सिङ’ अध्ययनरत विद्यार्थीलाई पढाउने काम समेत सुरु गरेकी छन् । र, अब भविष्यमा यस्तै नर्सिङ शिक्षिकाको रुपमा आफनो करिअर विकास गर्ने उनको लक्ष्य छ ।

बेलायतमा अध्ययनरत हजारौं नेपाली विद्यार्थीहरु विभिन्न समस्यासंग जुधिरहेको र धेरैले पढाइ पुरा गर्न नसकेको तथ्य उनलाई तीतो लाग्ने रहेछ । ‘विद्यार्थीहरुले अध्ययनलाई बढी प्राथमिकता दिने हो भने यहि देशमा करिअर बनाउन सकिन्छ भन्ने मलाई विश्वास छ,’ उनले आफनो अनुभव सुनाइन्, ‘मलाई पनि सजिलो त थिएन, तर पनि मेहनत र लगाव भयो भने आफनो लक्ष्यमा पुग्न सम्भव हुंदोरहेछ ।’
आफूले पाएको सफलताबाट बेलायतका अरु नेपाली विद्यार्थीलाई पनि प्रेरणा मिलोस् भन्ने चाहन्छिन् उनी ।

के हो अर्थोडेन्टिस्ट थेरापिस्ट ?
अर्थोडेन्टिस्ट भनेका ती डेन्टिस्टहरु हुन् जसले अर्थोडेन्टिक दांत सोझ्याउनका लागि विशेषज्ञता लिएका हुन्छन् । आफ्नो कामबारेको जिज्ञासामा राधिका भन्छिन्, ‘तिनै डेन्टिस्टको सहायकका रुपमा सघाउने र उनीहरुको अनुपस्थितिमा कतिपय उपचारका कामहरु समेत गर्ने दायित्व थेरापिस्टको हुन्छ ।’

एक सामान्य डेन्टिस्टले अर्थोडेन्टिस्ट बन्नका लागि तीन वर्षको अतिरिक्त 
कोर्स गर्नुपर्ने हुन्छ । अर्थोडेन्टिस्ट थेरापिस्टले पनि डेन्टल नर्सिङ पुरा गरेर एकदेखि डेढ वर्ष लामो छुटै कोर्स गरेका हुन्छन् । त्यसबाहेक सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव पनि अनिवार्य रहन्छ ।

(लेखक अर्याल युरोपको नेपालीपत्रका सम्पादक हुन्)

प्रतिक्रिया

सम्बन्धित सामाग्री