पाकिस्तानमा गर्मीका कारण मर्नेको सङ्ख्या पाँच सय नाघ्यो

गर्मी छल्न मानिसहरु समुद्रमा खेल्दै, तस्विरःएएफपी

गर्मी छल्न मानिसहरु समुद्रमा खेल्दै, तस्विरःएएफपी

कराची । पाकिस्तानको दक्षिणी भागमा तीन दिनसम्म गर्मीको लहर फैलँदा ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले मङ्गलबार दिएका छन् । यहाँका अस्पतालमा आपत्काल घोषणा भएको अवस्थामा स्वास्थ्यकर्मीहरू बिरामीको उपचारमा युद्धस्तरमा कार्यरत रहेका छन् ।

मर्नेको सङ्ख्या पाकिस्तानको आर्थिक केन्द्र र बन्दरगाहयुक्त नगर कराचीमा बढी रहेको बताइएको छ । दुई करोड जनसङ्ख्यायुक्त यस नगरमा तापक्रम यस साताको अन्त्यमा ४५ डिग्री सेल्सियस रहेको यस प्रान्तका वरिष्ठ स्वास्थ्य अधिकारी सबिर मेमोनले बताए ।

उनले यस गर्मीको लरहरका कारण सरकारी अस्पतालमा मर्नेको सङ्ख्या ५०० नाघेको बताए । उनले यो सङ्ख्या अझै बढ्नसक्ने उल्लेख गरे ।

करिब २० करोड जनता र त्यसमा बहुसङ्ख्यक मुसलमान बसोबास गर्ने यस मुलुकमा इस्लामिक धार्मिक महिना रमजान परिरहेको समयमा यी मृत्यु भएका हुन् । यस समयमा सूर्योदयदेखि सूर्यास्तसम्म खाना तथा पानी उपयोगमा प्रतिवन्ध लगाइन्छ ।

कराचीको सबैभन्दा ठूलो अस्पतालका एक डक्टर सेमी जमालीले आफूहरूले करिब तीन हजार बिरामीको उपचार गरेको बताए ।

उनले अस्पतालमा आएका वा ल्याइएका २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताए ।

पाकिस्तानको सबैभन्दा ठूलो कल्याणकारी संस्था एदी वेल्फेयर अर्गनाइजेसनले आफ्ना दुई शवगृहमा ४०० भन्दा बढी शव आएको जानकारी दिएको छ ।

एदीका प्रवक्ता अनवर काजमीले गत तीन दिनमा दुई शवगृहमा ४०० भन्दा बढी शव आएका र शवगृहको क्षमता नाघेको बताए ।

कराचीमा विद्युत आपूर्तिको अभावका कारण पानी आपूर्ति प्रभावित भएको छ । यसका कारण लाखौँ ग्यालन पानी उपभोक्तामा पु¥याउन नसकिएको सरकारी पानी आपूर्ति संस्थाले जानकारी दिएको छ ।

पाकिस्तानमा जलवायु कार्यालयले मङ्गलबार कराचीको तापक्रम ४४.५ डिग्री सेल्सियस कायम रहेको जानकारी दिएको छ । यस संस्थाले मङ्गलबार साँझ आँधी आउने अनुमान गरेको छ ।

यहाँको प्रान्तीय सरकारले यसबीच सार्वजनिक बिदा घोषणा गरेको छ र यहाँका वासिन्दालाई घरमै बस्न अभिप्रेरित गरेको छ । मर्नेमा प्रायः दिउँसो घरबाहिर काम गर्ने श्रमिक परेको एक अधिकारीले बताए ।

केही स्थानीय वासिन्दाले आफूलाई गर्मीबाट जोगाउन एक अर्कालाई पानी छ्यापाछ्याप गरिरहेको देखिएको छ ।

प्रमुख धर्मगुरु ताहिर असराफीले लूको जोखिममा पर्नसक्ने व्यक्तिलाई वर्त नलिन आग्रह गरेका छन् । उनले आफूहरूले टेलिभिजन च्यानलमार्फत जोखिममा रहेका र विशेष गरी कराचीमा अवस्था निकै नराम्रो भएकाले वर्त नलिन आग्रह गरेको बताए ।

उनले इस्लाममा वर्तको सर्त तोकिएको र धार्मिक ग्रन्थ कुरानले पनि वर्त लिननसक्ने बिरामी र यात्रीले वर्त ढिलो गर्नसक्ने र बिरामी पर्नसक्ने कमजोर तथा प्रौढ व्यक्तिले वर्त लिन नहुने उल्लेख गरेको बताए ।

राष्ट्रिय प्राकृतिक व्यवस्थापन प्राधिकरणका एक अधिकारीले प्रान्तका सबै अस्पतालमा लू उपचार केन्द्र खोलिने बताए । छिमेकी भारतमा गर्मीको लहरका कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएपछि पाकिस्तानमा पनि यस्तो अवस्था देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री