शुक्रबार, मंसिर १२ २०७७ | Fri, November 27, 2020
नेपालको समय: १०:४४ | UK Time: 04:59

एकीकृत नयाँ पार्टीलाई नियाल्दा

वीनेपाली
२०७२ असार ८ गते २०:२३

NO 3

प्रवुद्ध पाठकवृन्द, यहाँहरुलाई लाग्न सक्छ यो कहाँको आबा न चाबाको तोरी विश्लेषक हो । जब नेपाली राजनीतिक वृत्तमा ऐतिहासिक परिवर्तनहरु हुन्छन् तब आफ्नै मनगढन्ते दृष्टिकोणले समीक्षात्मक टिप्पणी लेख्ने गर्छु । केही समय प्रत्यक्ष राजनीतिमा आवद्ध भएर केही अनुभवपश्चात निष्कृय रहेर राजनीतिक चहलपहलहरु नियाल्दै मेरो बेलायती व्यस्त जिन्दगीको चक्र घुमिरहेको छ । आफ्नो प्रत्यक्ष लगाव थोरै भएपनि मेरो बाल मस्तिष्कमा नै राजनीतिक बिजारोपन भएको थियो । २०१७ सालको पञ्चायती व्यवस्थाको उदयसँगै बुबा गाउँको प्रधानपञ्च हुँदै २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा लागि पर्नु भएको थियो । जनमत संग्रहको नतीजा घोषणा हुने पूर्व सन्ध्यामै अल-इण्डिया रेडियोले करिब ४ लाख मतले बहुदल व्यवस्थाका पक्षले पराजय भोग्नुपरेको समाचार प्रसारण गर्‍यो । त्यस रातदेखि बुबालाई रक्सीको धङ्धङी लागे जस्तै धेरै समयसम्म त्यो पराजयको धङधङीले विक्षिप्त हुनुभएको देखेको छु । त्यही पृष्ठभूमिले गर्दा कुनै राजनीतिक परिवर्तन भए भने मेरो शरीरको तन्तुभित्र सुषुप्त भएर बसेको यो राजनीतिक धङ्धङीहरु अनायसै सल्बलाउन थाल्छन् र लेख्ने गर्छु । १६ बुादे सहमतिको बारे सानो टिप्पणी लेखिसकेको छु र अब भर्खरै ३ पार्टी एकीकरणको बारे मलाई लागेका केही कुराहरु टिप्पणी गर्न लागेको छु ।

१६ बुँदे सहमति हुनु वित्तिकै संघीय समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम र खस समावेशी राष्ट्रिय पार्टीको एकीकरण गरी संघीय समाजवादी फोरम नेपालको जन्म भएको छ । यसलाई नजरअन्दाज गर्दा चार पार्टीले गरेको १६ बुँदे सहमतिलाई ठाडो चुनौतीको रुपमा देखिएको छ । यो नयाँ पार्टीको उदयले विनासकारी भूकम्प पीडितहरुले राहत प्राप्त गरको भन्दा पनि बढी जातिय संघीयताको पक्षधरको लागि राहत महसुस पक्कै पनि भएको हुनुपर्छ । पार्टी एकीकृत हुने बित्तिकै अशोक राईलगायत अन्य नेताहरुलाई अन्तर्वार्ता लिँदा उनीहरुको एउटै उत्तर थियो एकीकरण बाध्यात्मक नभएर समयको आवश्यकता हो भनेका छन् । पदग्रहणको बारे प्रश्न गर्दा राईले पद भनेको जुत्ताजस्तै हो भनेका छन् । भौगोलिक बनावट र मौसमअनुसार विभिन्न प्रकारको जुत्ता लगाएर हिँड्नुपर्छ । हिमाल चढ्दा लामा लामा फलामको खुर भएको लगाएर हिँड्नु पर्छ भने समथरमा जुत्ताविहीन भएपनि हिँड्न सक्नुपर्छ भनेका छन् । तर पद भनेको न त पाउमा लगाउने जुत्ता हुनसक्छ न त शिरमा लगाउने शिरफूल नै हुनसक्छ । जसले पदलाई गहना जस्तो हेर्छ अथवा जुत्ता जस्तो मात्र हेर्छ भने उसलाई पदीय दायित्वबोध पक्कै पनि हुँदैन । पद भनेको योग्य व्यक्तिले ग्रहण गरेमात्र पदको दुरुपयोग हुँदैन । त्यही भएर गलत व्यक्तिबाट पद हडप्ने प्रयास बढी हुने गर्छ । दार्शनिक प्लेटोले पदको बारेमा यसरी भनेका छन् ः यदि कुनै नर वा नारीले पद प्राप्तिको लागि दिलोज्यानले दौडधुप गर्छ भने त्यस्तालाई कहिल्यै पद नदिनु । किनकि त्यस्ता निर्लज्जहरु पदको गरिमा कायम गर्नुभन्दा बढी आफ्नो संकीर्ण स्वार्थ पूरा गर्नुमा दत्तचित्त हुन्छन्, शक्ति र सुविधा पाएपछि त्यस्ता मान्छेहरुको खुट्टा भुइँमा हुँदैन । तिनीहरु निर्लज्ज र दम्भी हुन्छन् । जसको मुल्यदृष्टि, जीवनदृष्टि अति निम्न स्तर छ त्यस्तालाई गरिमापूर्ण जिम्मेवारी कहिल्यै नदिनु ।
मेरो आशय यो होइन कि नयाँ पार्टीका सबै पदाधिकारी अयोग्य छन् भनेर । अशोक राईजीले पदलाई जुत्ताको संज्ञा दिएको विषयलाई मात्र उद्धृत गर्न खोजेको हुँ । त्यसो हो भने प्रखर युवा नेता अजम्बर काङमाङलाई कस्तो प्रकारको जुत्ता उपयुक्त थियो त ? पार्टीको लक्ष्यको शिखरमा आरोहण गर्न सक्ने क्षमता उनमा छैन त ? जनमानसमा अहिले यही प्रश्न उठेको छ । तर अजम्बरजी अविचलित मुद्रामा दृढताका साथ पार्टी एकीकरणले अबको राजनीतिमा एकल जातिय राज्यसत्ताका विरुद्धमा सांगठनिक रुपमा लड्ने र उत्पीडन र अत्याचार विरुद्धको लडाइँ लड्ने प्रतिवद्धता जाहेर गरेका छन् । पदकै बारेमा उनको भनाइ यस्तो छ ः असल सिँपाहीले बलिदान दिएर पनि आफ्नो नेतालाई बचाउँछ । सरल र शान्त स्वभावले सहज वातावरण निर्माण गर्न चाहने र स्पष्ट विचार भएका युवा नेता अजम्बर काङमाङ बिना संकोच नयाँ पार्टीलाई घिस्याएर अघि बढ्न तम्तयार रहेको देखिन्छन् ।
अब जाउँ पार्टीको स्थान निर्धारणको बारे । जब तीन पार्टीको एकीकरणपश्चात नयाँ पार्टीको जन्म भयो र जसको स्थान पाँचौ नम्बरमा रहेको जनाइएको छ । यो कुरा सत्य भए पनि अहिले नै पाँचौँ ठूलो पार्टी हो भनेर निर्धक्क हुनुको कुनै गुन्जायस छैन । पार्टीको स्थान अर्को चुनावमा जनताले दिएको भोटले निर्धारण गर्नेछ । र, पहिलो, दोस्रो र अन्तिम जे पनि हुनसक्छ । विगतलाई फर्केर हेर्ने हो भने माओवादी पार्टीले पहिलो संविधान सभामा सोच्दै नसोचेको नतिजा प्राप्त गर्‍यो । त्यसपश्चात पार्टीलाई अझै मजबूत बनाउनका लागि एकीकरणको शृङ्खला शुरु भयो । नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल र अमिक शेरचनजस्ता शक्तिशाली नेताहरुको प्रवेश त भयो तर पार्टीमा एकीकरणसँगै वैचारिक द्वन्द्व पनि शुरु भयो । सबैभन्दा पहिला मातृका यादव अल्लगिए । त्यसपश्चात जनयुद्ध लड्ने शक्तिशाली दस्ता मोहन बैद्य, सिपी गजुरेल, रामबहादुर थापा बादल, देव गुरुङ्ग र पम्फा भुसालजस्ता नेताहरुको बर्हिगमन भयो । मोहन बैद्यको दस्ताबाट नेत्रविक्रम चन्द विप्लव फेरि भर्खरै छुट्टएिका छन् । पार्टी एकीकरण गर्दा माओवादीमा प्रवेश गरेका माथि उल्लेखित नेताहरुको सैद्धान्तिक र वैचारिक पाटोले हुबहु मेल खान नसकेपनि कम्युनिज्म धारबाट आएका हुन् । तर बिल्कुलै भिन्दै पृष्ठभूमिका व्यक्तिहरुलाई पनि पार्टीमा प्रवेश गराइयो । पूर्व कुख्यात पञ्चे, पूर्व सैनिकका जनरल र पूर्व प्रहरी प्रमुख जस्तालाई पार्टी प्रवेश गराएर गधालाई धोएर गाई बनाएर बेसरी दुध खाने योजना बनाएका प्रचण्डले (डङ्की किक) गधाको लात मात्र भेटे । माओवादी पार्टीमात्र हुँदा पहिलो स्थान र एमाओवादी भएपछि तेस्रो स्थानमा पुग्यो । यसरी दोस्रो संविधान सभामा एमाओवादी पार्टी ओरालो लाग्यो त्यो हामी सबैले देखिसकेका छौं । पार्टी एकीकृत हुँदैमा पार्टी शक्तिशाली हुन्छ भन्नु गलत हो भन्ने ज्वलन्त उदाहरण हो यो ।
हुन त एउटा पार्टीमा जे भयो त्यही नै लागू हुन्छ भन्ने त हुँदैन तर पनि नेपाली राजनीतिक क्षितिजमा जति नयाँ पार्टीहरुको उदय भएको छ जसले आफूलाई विल्कुलै फरक धारमा उभ्याएको पाइएको छैन । र, संघीय समाजवादी पार्टीले पनि धेरथोर वैचारिक मतभिन्नताको नतिजा भोगिसकेको छ । जुनबेला पार्टीले वरिष्ठ नेताका रुपमा चयन गरेको विजय सुब्बाले नयाँ गुँडलाई छाडेर फेरि पुरानै गुँडमा फुल पार्न फर्किए । अहिले त्यही विगतलाई कोट्टाई कोट्टाई प्रश्नको झटारो हानिरहेका छन् नेपाली सञ्चार जगतले । विगतलाई विगतमै थाँती राखेर नयाँ जोस र जाँगरका साथ जातिय पहिचानसहित हिमाल, पहाड, तराई, मधेस सबै समेटेर सीमान्तकृत उत्पीडित वर्ग सबैको मुक्तिको अभियानमा उन्मुख भएको घोषणा गरेर निरन्तर अग्रसर हुने प्रतिवद्धता जाहेर गरेको नयाँ पार्टीलाई भनेजस्तै सहज वातावरण सिर्जना होला त ? यो प्रश्नको उत्तर समयले नै बताउने छ । हामी सबै कामना गरौं पार्टीले घोषणा गरेको सबै एजेण्डाहरु पूरा होस र पार्टी एकीकृत भइनसक्दै वैचारिक मतभिन्नताको शुरुवात नहोस् ।

पिटरब्रो , बेलायत

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक