बेलायतभित्रै कमजोर बन्दै ‘वेष्टमिनिस्टर सिस्टम’

तस्वीर: एजेन्सीबाट

तस्वीर: एजेन्सीबाट

बेलायत अहिले निर्वाचनको मुखमा छ । यसपालिको बेलायती निर्वाचन विगतका निर्वाचनहरुभन्दा भिन्नै हुनेछ । किनभने यसपालि सदाभन्दा भिन्न विचार लिएकाहरुले निर्वाचन मैदानमा सिङ जुधाएका छन् । यदि पछिल्लो सर्भेले देखाएको अनुमान मिल्दोजुल्दा मात्र भयो भने पनि बेलायत अहिलेको बेलायतजस्तो रहने छैन । यसोभन्दा बेलायतको भूगोल वा बेलायतका राजदरबारहरुमा भिन्नता आउने भन्न खोजेको चाहिँ होइन । लण्डनको बकिंगहम प्यालेस जस्ताको तस्तै रहने छ जुन हामीले पोष्टकार्डमा हेर्ने गरेका छौं । बिना टुरिष्ट, बिना क्यामरा र बिना बकिंगहम प्यालेस र बिना वेस्टमिनिष्टर संसद भवन लण्डन, लण्डन हुने छैन । तर त्यसभित्रको राजनीतिमा आउने परिवर्तन भने घुँडामुनी आएको अनुमान गर्न कठिन रहेन । किनभने बिना टुरिष्ट र बिना स्मार्ट फोनको प्रसंग उठायौं भने हामीले केही दशकअघिको अवस्था सम्झिने छौं । जुनबेला हामी एक हदसम्म वेस्ट मिनिष्टर मोडेलको लोकतन्त्रबारे छलफल गर्थ्यौँ । तर अहिले हामी २०१५ सालमा छौं र त्यो वेस्ट मिनिष्टर मोडेलको लोकतन्त्र ढल्मलाएको हेरिरहेका छौं ।
विगत युरोपियन युनियनको निर्वाचनमा सफलता प्राप्त गरेको अति दक्षिणपन्थी पार्टी युनाइटेड किंगडम इन्डिपेन्डेन्ट पार्टी (युकिप) संसदभित्र ठूलै जमात लिएर प्रवेश गर्ने संकेत देखिएको छ । अहिलेसम्म त्यस पार्टीको जम्माजम्मी एक सांसदले आफ्नो कुर्ची र टेबुल भित्र्याएका छन् । त्यो पनि उपचुनावबाट । डग्लस कार्सवयल झण्डै एकदशक अघि कन्जरबेटिभ पार्टीबाट संसदभित्र पसेका थिए । उनी कन्जरभेटिभ पार्टी छाडेर युकिपमा सरेका छन् ।
अप्रिलको सुरुमा टेलिभिजन बहसपछि निर्वाचन प्रचारप्रसार थालियो । त्यतिबेलादेखि अहिलेसम्मका सर्भेहरुमा सत्ताधारी कन्जरभेटिभ पार्टी र प्रतिपक्षी लेवर पार्टी दुवैले तीस/तीस प्रतिशत अनुमानित मत प्राप्त गर्न सकेका छैनन् । यो एउटा डरलाग्दो हार हो । जबकि कुनै बेला यी दुई पार्टीका पक्षमा नब्बे प्रतिशत जनता उभिन्थे । पहिलो टिभी बहसदेखि नै बेलायतका साना पार्टीहरु अर्थात युकिप पशुपतिको बसाहाजस्तै डुक्रन थालेको छ । युकिप बेलायतलाई युरोपियन युनियनबाट बाहिर ल्याउने कुरा मात्रै गर्दैन कि उसले बेलायतमा विदेशीहरु पनि नभित्र्याउने र भित्रिएकालाई पनि बाहिर्याउने कुरा गर्छ । युकिपले बेलायतमा विदेशीहरु धेरै भएकाले रैथाने बेलायतीहरुले जागिर नपाएको निचोड निकाल्ने गर्छ । तर यथार्थ भने अर्कै छ । युकिपका नेताका छोराहरुले बेलायतका सडक बढार्दैनन्, रेष्टुरेण्टमा खाना पकाउँदैनन् । त्यति मात्र कहाँ हो र ? उनीहरुले आफ्नै आमाबाबु, हजुरआमा र हजुरबाबा अनि बिरामी बालबच्चाहरुको अस्पतालमा स्याहारसुसार गर्दैनन् । अस्पतालमा काम गर्ने सहयोगीदेखि नर्स, चिकित्सकदेखि लण्डनका सडक सफा गर्नेसम्म ठूलो संख्यामा विदेशीहरु छन् ।

Shashi Poudel

शशी पौडेल

उता उत्तरतिर स्कटिश नेशनल पार्टी (एसएनपी) ले आफ्नो जरा राम्रोसँग फैलाइसकेको छ । यद्यपि केही समयअघि सम्पन्न जनमत संग्रहमा स्कटलैण्ड स्वतन्त्रताको पक्षमा बहुमत नआएर मुलुक भौगोलिक रुपमा एउटै मानिए पनि लगभग चालिस प्रतिशत स्कटिशहरुको मनभित्र भने इंगलैण्ड र स्कटलैण्डबीचको पर्खाल झन् माथि आकासिएको छ । अहिलेसम्म विभिन्न शोध र सर्भेले देखाएको परिणामको आधार लिने हो भने स्कटलैण्ड स्वतन्त्र गराउन दिलोज्यानले लागेका स्कटलैण्डका पूर्व मुख्यमन्त्री अलेक्स सालमन्ड वेस्टमिनिष्टर संसदभित्र ठूलो स्वरमा डुक्रने छन् र उनको डुक्राइको आवाज सहन नसकी कन्जरभेटिभ र लेबर पार्टीका थुप्रै सदस्यहरु संसदबाट बाहिरिने छन् । जसको परिणाम मिलिजुली सरकार बन्न बाध्य हुनुपर्ने छ । कन्जरभेटिभ र लेबर पार्टीको मिलिजुली सरकार बेलायती इतिहासमा पूरा कार्यकालसम्म टिकेको छैन ।
बेलायत अहिले उत्तर र दक्षिण दुवै तर्फबाट चेपुवामा परेको छ । किनभने युकिपका कार्सवयल एउटा यस्ता ब्यक्ति हुन् जो एउटा सिष्टममा अटाउन चाहन्छन् र उनमा राजनीतिका थुप्रै नयाँ नयाँ आइडियाहरु छन् । उनी आफ्ना विचारहरु आफ्नो पार्टीभित्र लागु गराउन चाहान्छन् । कन्जरभेटिभ पार्टीभित्र आफ्ना आइडियाहरु लागु गराउन नसकेकाले नै उनले पार्टी परिवर्तन गरेका हुन् ।
यस्तै उत्तरतिरबाट अलेक्स सालमण्डले । सालमण्ड त्यस्ता ब्यक्ति होइनन् जो एक पटक हार्दैमा हरेस खान्छन् । उनी अहिले अरु बढी चाहान्छन् । सालमण्ड बेलायती संसदमा भित्रिन चाहनुको अर्थ हो अलेक्स सालमण्ड भनेको बेलायतको नयाँ संसदको एउटा खम्बा हो । यो समाचार भनेको कन्जरभेटिभ र लेबर पार्टी दुवैका लागि खुसीको खबर होइन ।
युकिप र एसएनपी दुई अलग ध्रुवबाट अलग ध्रुवीय विचार लिएर आएका भएपनि यी दुवै पार्टीको एउटा कार्यक्रम भने समान छ । त्यो के भने यी दुवै पार्टीले बेलायतको स्थापित वेस्टमिनिस्टर पार्लियामेण्ट सिस्टमलाई भित्रैबाट खल्बल्याउन चाहन्छन् । दुवै पार्टी अहिले प्रष्ट रुपमा आफ्नो परिचय (आइडेन्टीटी)का निम्ति संघर्षरत् छन् । अलेक्स सालमण्डको तर्क सुन्दा जनमत संग्रहको हारले स्कटलैण्डको परिचय खोज्ने काममा सुस्ताउनुको बदला अरु बढी मजबुत बनाएको बुझ्न कठिन पर्दैन ।
युकिप बेलायतको राजनीतिक असन्तुष्टीबाट जन्मिएको पार्टी हो । जब जब जनतामा डर, त्रास, असुरक्षा र असन्तुष्टी पैदा हुन्छ तब मानिसले भैरहेको सिष्टमको विकल्प खोज्न थाल्छ । त्यही विकल्प खोजीको प्रतिफल हो युकिप । अनि त्यतिखेर न बाहृय लोकतन्त्रले काम गर्छ न त भित्री लोकलन्त्रले । बेलायतका स्थापित पार्टीहरुले जब युकिपरुपी खहरे खोला गर्जन थाल्यो त्यतिबेला देखि नै यसको मोटिभ के हो ? यसका प्रमुख कारण के हुन् ? मुलुकको समस्या के हो र यसको समाधान कसरी गर्न सकिन्छ भन्नेतर्फ सतर्क हुनु पर्थ्यो। तर त्यसो गरिएन । यसको सबभन्दा बढी जिम्मेवारी कन्जरभेटिभ पार्टीले लिनुपर्छ । किनभने कन्जरभेटिभ पार्टीका थुप्रै सदस्यहरुको सहयोगमा यो पार्टी स्थापना भएको हो । त्यसैले अबका दिनहरुमा वेस्टमिनिस्टर सिष्टम अर्थात संसारको सबैभन्दा पुरानो बेलायती प्रजातन्त्रमा सुधार ल्याउँदै राजनीतिक विकल्पको खोजी गर्नुपर्ने आवश्यकता देखापर्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री