३५० विदेशी विद्यार्थीलाई बेलायत छाड्न सूचना

तस्विरः बीबीसी

तस्विरः बीबीसी

लन्डन । लन्डनस्थित एउटा निजी कलेजको लाइसेन्स गुमेपछि त्यहां अध्ययनरत करिब ३५० जना विदेशी विद्यार्थी (युरोपेली युनियन बाहेक) लाई अर्को महिनाको अन्तिमसम्म यूके छाड्न भनिएको छ ।

लन्डन स्कुल अफ बिजनेश एण्ड फाइनान्स (एलएसबीएफ) को गैर युरोपेली विद्यार्थीलाई भर्ना लिन र पढाउन पाउने लाइसेन्स खारेज गर्दै विद्यार्थीलाई यूके छाड्न भनिएको होम अफिसलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

८५०० पाउण्डसम्म फि तिरेका विद्यार्थी कोर्स पुरा हुन नसकेपछि चिन्तित छन् । कलेज प्रशासनले भने समयमै कोर्स सकि विद्यार्थीहरुलाई शैक्षिक योग्यता दिलाउन तत्पर थियौं भन्ने दावी गरेको छ ।

होम अफिसले विद्यार्थीलाई बेलायत छाड्न आदेश दिंदै तिनका साथमा भएको भिजा फिर्ता गर्न र उनीहरुलाई काम गर्ने अधिकार नभएको सूचना पठाएको छ । होम अफिसका भनाइमा कलेजले विद्यार्थीलाई स्पोन्सर गर्दा पालना गर्नुपर्ने नियम पुरा गरेको थिएन । यही कारण सेक्रेटरी अफ स्टेटले यूके बस्न र बाहिरबाट आउन (लिभ टु रिमेन र इन्टर) नपाउने गरि भिजा रद्द गरिदिएको समाचारमा उल्लेख छ ।

उक्त कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत थिए । यसअघि सोही कलेजले टोइक (अंग्रेजी परिक्षा) सर्टिफिकेट पेश गरेको निहुंमा कलेजबाट धेरै विद्यार्थीलाई निकालिदिंदा उनीहरुको विचल्ली भएको थियो । अहिले एउटा कलेजको लाइसेन्स जाने बित्तिकै अर्कोमा भर्ना हुन सहज छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री