बेलायतबाट अप्रिलमा नेपाल गए ६ हजार ८३८ पर्यटक

File picture

लन्डन । सन् २०२५ को अप्रिल महिनामा संयुक्त अधिराज्य बेलायतबाट ६ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै बेलायतबाट उक्त संख्यामा पर्यटक भित्रिएका हुन् । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ पर्यटक भित्रिए ।

अप्रिलमा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । जुन संख्या एक लाख १६ हजार ४९० रहेको छ । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ ।

पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् । बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ । कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख नौ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहवर्द्धक रहेको बताए । बोर्डको विवरणमा वर्षको चार महिना (जनवरी–अप्रिल) को अवधिमा चार लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री