मेडवेका मेयरसँग एक दिन

मे २४ मा बसेको मेडवे काउन्सिलको बैठकले नीना गुरुङलाई मेयरमा निर्वाचित गर्यो । मेयरमा उनको पदबहालीसँगै उनले धेरै कुरामा रेकर्ड राखिन् । पहिलो नेपाली महिला मेयर, पहिलो बुद्धिष्ट मेयर आदि । गोरखा सैनिककी श्रीमती र छोरी उनी मेयरमा चुनिँदा बेलायतको नेपाली समुदाय र सिंगो नेपाली समुदायमा उत्साह फैलिएको थियो । त्यसलगत्तै २८ मेका दिन उनीसित विस्तृत वार्ता गरेर समाचारसामग्री बनाउन यस पंक्तिकारले समय मागेको थियो । तर उनले आफू राजनीतिमा नयाँ रहेको र केही काम गर्न दिन अनुरोध गरेकी थिइन् ।
उनले यस्तो जवाफ मलाई मात्र होइन उनीसित त्यसताका सम्पर्क गर्ने अरु पत्रकारहरुलाई पनि दिएकी थिइन् । ‘पहिले काम त्यसपछि मात्र कुरा’ गर्ने मान्यताबाट निर्देशित उनले आफूले पदभार ग्रहण गरेको १०० दिन पुग्न लागेको सन्दर्भमा यही अगष्ट १६ तारिख बुधबारका दिन यसरी सम्पर्क गर्न चाहेका पत्रकारहरुसहित बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई आफ्नो कार्यकक्षमा आमन्त्रण गरेकी थिइन् । करिब एक महिना अगावै निम्तो पाए पनि कार्यक्रममा जाने निधो गर्न मलाई भने निकै सकस भएको थियो । कारण थियो नेपालबाट बेलायत घुम्न आएका पाहुना । तथापि पाहुनालाई ब्यवस्थापन गरेर सो निम्तो स्वीकार गरेँ । तर पाहुनालाई पुर्याउनुपर्ने गन्तब्यमा छोडेर मेडवे काउन्सिल पुग्दा भने म आधाघण्टा ढिलो भइसकेको थिएँ । बेलायतमा पनि नेपाली रोग दोहोर्याउन पुगेकोमा म आत्मालोचित पनि छु ।
करिब १ः३० तिर मेयर पार्लरमा म पुग्नासाथ कार्यक्रम शुरु भइहाल्यो । कार्यक्रम थियो मेयरसित प्रश्नोत्तर । साथमा थिए काउन्सिल लिडर भिन्स म्यापल पनि । मेयर राजनीतिक पार्टीहरुभन्दा माथि रहनुपर्ने वैधानिक प्रावधान रहेकाले राजनीतिक प्रश्न नसोध्न शुरुमै आग्रह गरिएको थियो । जसले मलाई एकछिन् अलमल्ल बनायो किनकि राजनीति केलाई मान्ने ? केलाई नमान्ने ? एउटा दृष्टिकोणबाट हेर्ने हो भने सबैकुरा राजनीतिसित जोडिन्छ । तर उपाय पनि दिइएको थियो राजनीतिक प्रश्नको जवाफ काउन्सिल लिडरले दिने ।
ढिलो आए पनि शुरुमा प्रश्न गर्ने मौका साथीहरुले मलाई दिनुभयो । माहौल बनाउने पहिलो प्रश्न थियो – मेयरमा निर्वाचित भएयताको अनुभव कस्तो पाउनुभएको छ ? मेडवे आफूले सोचेको भन्दा विधिधतायुक्त, ऐतिहासिक रुपले धनी र सम्भावना बोकेको काउन्सिलको रुपमा पाएको उनको जवाफ थियो । यस्तो काउन्सिललाई प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि गौरव र उत्साहपूर्ण मौका पनि थियो । नेपाली पृष्ठभूमिबाट आएको, एक गोरखा सैनिक परिवारको सदस्यलाई सबै मेडवेबासीको अभूतपूर्व सहयोग प्राप्त भएको अनुभव पनि उनले सुनाइन् । मेडवेलाई प्रगतिशील र समावेशी ठाउँका रुपमा विकास गर्न पाएको सद्भाव र सहयोगप्रति उनले आभार व्यक्त गरिन् ।
उनीपछि जवाफ दिने पालो थियो काउन्सिल लिडर म्यापलको । उनले मेयर गुरुङलाई काउन्सिलरहरु र समुदायले हार्दिकतापूर्वक व्यवहार गरेको र मेयरले कुशलतापूर्वक कार्य गरिरहेको धारणा राखे ।

मेडवेभित्र बेलायती राजाको प्रतिनिधिको जिम्मेवारी बोक्ने मेयरको विभिन्न भूमिका रहन्छ । मेडवेको पहिलो नागरिक पनि मेयर नै रहन्छन् । उनका लागि चर्च अफ इङल्याण्डअन्तर्गतको महत्वपूर्ण चर्च रोचेष्टर कथिड्रलमा अलग आसनको व्यवस्था छ भने मेडवेभित्रका विश्वविद्यालयका दीक्षान्त समारोहमा मेयरको उपस्थिति रहनुपर्छ । इन्जिनियर, नेभी र प्रिन्सेस अफ वेल्स रोयल रेजिमेन्ट (पीडब्ल्यु आरआर) को सैनिक क्याम्प रहेको सो काउन्सिलमा उनको महत्वपूर्ण भूमिका छ । उनी मेडवे भरिका खोलाहरुको संरक्षक ‘एडमिरल अफ द रिभर’ पनि हुन् । यसका साथै काउन्सिलको क्याविनेटबाट निर्णय हुन नसकेका विषयहरुमा काउन्सिलको पूर्ण बैठक राख्ने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी पनि मेयरको हुन्छ ।
मेयर गुरुङ काउन्सिलभित्र ‘मेडवे फर इभ्रिवन’ भन्ने दर्शनबाट निर्देशित छिन् । सबैलाई समान ब्यवहार गर्ने, समान अवसरहरु उपलब्ध गराउने उनको सपना छ । मेडवेका लागि रोल मोडल र असल उदाहारण बन्ने उनको इच्छा छ । आफ्नो पृष्ठभूमि स्मरण गर्दै उनले सीमान्तकृत समुदायलाई राजनीतिमा आउने प्रोत्साहन र प्रेरणा दिन सकियोस् भन्ठानेकी छिन् ।

बेलायतको दक्षिणपूर्वमा रहेको मेडवे ‘युनिटरी अथोरिटी’ मोडलबाट सञ्चालित काउन्सिल हो । यस काउन्सिलभित्र जिलिङघम, रोचेष्टर, राइनहम, स्ट्रोड र चाथाम गरी पाँच वटा टाउन रहेका छन् । करिब ३ लाख मानिसहरु सो काउन्सिलभित्र बसोबास गर्दछन् ।

सन् १९९९ मा बेलायत आएकी र सन् २००५ देखि सो काउन्सिलमा बसोबास गरिरहेकी गुरुङलाई कसरी राजनीतिमा आउनुभयो भन्ने प्रश्न सोधियो । उनले विस्तारमा भनिन्–‘म कुनै राजनीतिक परिवारबाट आएको होइन । मेरो बाबा पनि ब्रिटिश आर्मी हुनुहुन्छ । पति पनि ब्रिटिश आर्मी । नेपालमै पढेर विवाहपश्चात म बेलायत आएकी हुँ । म मेरो नेपालको पढाइ र हुर्काइप्रति गौरव पनि गर्छु । शुरुमा मलाई राजनीतिमा रुचि थिएन । दुईटी छोरी थिए उनीहरुलाई हुर्काउनु, नयाँ देशको नयाँ परिवेशमा कसरी खुट्टा टेक्ने बन्नुमा नै मेरो ध्यान थियो ।’
”नेपालमा कलेज पढ्दापढ्दै विवाह भएकाले बेलायत आएर कलेज अध्ययन शुरु गरेँ । शुरुमा यहाँ पढ्न गाह्रो हुन्छ होला भन्ने लागेको थियो तर मैले विशिष्ट श्रेणी (डिस्टिङसन) ल्याएँ । शिक्षकहरुले पनि उच्चशिक्षा अध्ययनका लागि प्रेरित गर्नुभयो । मलाई पनि आत्मविश्वास आयो । यसक्रममा नेपालबाट बेलायत आएर बसोबास गर्न शुरु गरेका नेपालीहरुलाई जोड्न गोर्खाजडटकम नाम गरेको अनलाइन पनि शुरु गरेँ भने पार्टटाइम विश्वविद्यालय पनि पढ्न थालेँ । विश्वविद्यालयमा पनि साथीहरुले जोड गरेर मलाई दुईपटक विद्यार्थी प्रतिनिधि बनाएँ । त्यसपछि ममा अरुलाई प्रेरित गर्ने केही गुण रहेछ भन्ने लाग्यो । अध्ययनपश्चात ‘सोसल वर्कर’को रुपमा काम शुरु गरेको छोटो समयमा नै म प्रबन्धकीय पदमा पनि पुगेँ । यसरी पाएको अवसर कसरी समुदायलाई फिर्ता गर्ने भन्ने सोचिरहेको बेला मेडवे नेपाली कम्युनिटीमा शुरुमा उपाध्यक्ष र पछि अध्यक्ष बन्ने अवसर पनि पाएँ ।”
उनी विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत रहेका बेला बेलायत आएका गोरखाहरुले साधनस्रोत मात्र दोहन गरे भन्ने भाष्य स्थापित गर्न खोजिइरहेको थियो । उनले आफ्नो अनुसन्धान यसैमा केन्द्रित गरिन् जसबाट गोरखाहरुले बेलायतबाट लिइरहेको मात्र होइन बरु बेलायतको अर्थतन्त्र, समुदायमा योगदान दिइरहेको तथ्य प्रस्तुत गरिन् । यसले गोरखाहरुप्रति नीतिनिर्माताको दृष्टिकोण नै बदलिई दियो । यो अनुसन्धानका बारेमा उल्लेख गर्न उनले छुटाइनन् । अनुसन्धानका क्रममा गोरखाजन्य संस्थाहरु र नेपाली समुदायसित नजिकबाट उनले सहकार्य गरिन् । जसबाट पनि उनको नेतृत्व र ‘नेटवर्क’ फैलँदै थियो ।
उनलाई राजनीतिमा इन्ट्री गराउने कारक चाहिँ कोभिड नै थियो । कोभिडको महामारी, त्यसलगत्तैको चर्को मूल्यवृद्धिको समस्या उनले आफ्नो व्यावसायिक जीवनमा छ्यापछ्याप्ती देखिन् । पेशागत जीवनका क्रममा सीमितलाई सहयोग गर्न सकिएला तर ठूलो संख्यामा परिवर्तन ल्याउन त राजनीति नै गर्नुपर्छ जहाँबाट नीतिगत परिवर्तन गरेर असमानताको अन्त्य गर्न सकिन्छ भनेर उनी राजनीतिमा हाम्फालिन् ।

करिब डेढघण्टाको प्रश्नोत्तर पछि पत्रकारहरुलाई रोचेष्टरको भ्रमणमा लगियो । निकै पुरानो शहरमा चियापानका साथै रोचेष्टर हाइस्ट्रिट, रोचेष्टर कथिड्रल र रोचेष्टर क्यासलको पनि अवलोकन गरियो । मेयर नीना गुरुङ र काउन्सिल लिडर भिन्स म्यापलले पत्रकारहरुलाई विभिन्न जानकारी दिइनै रहे । म्यापलले काउन्सिलको नेतृत्व लिँदा ७० मिलियन पाउण्ड ऋणमा लिएको जानकारी दिए । तथापि मेडवेमा देखिएको असमानतालाई हटाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
उता मेयर गुरुङले नेपाली मूलका नेपालीहरुलाई बेलायतको राजनीतिमा लाग्न इच्छा भए आफूले सहयोग गर्ने बताइन् । समुदायमा ठूलो मात्रामा परिवर्तन गर्ने भए राजनीतिमा लाग्नु पर्ने सल्लाह पनि उनको छ । आफू पनि नानीहरु हुर्काएरै राजनीतिमा अघि बढेको उल्लेख गर्दैै उनी आफू पछिको पुस्तालाई अझ राजनीतिमा लाग्न सजिलो हुने विश्वास व्यक्त गर्छिन् । राजनीतिमा लाग्दा आफूले सबैबाट सहयोग र समर्थन पाएको बताउँदै उनले राजनीतिमा आउनेले आफ्नो लागि मात्र सोच्न नहुनेमा पनि सजग गराइन् ।

नरेश खपाङ्गीमगर

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री