मंगलबार, फागुन २५ २०७७ | Tue, March 09, 2021
नेपालको समय: ०६:०६ | UK Time: 00:21

सम्झनामा डा. लक्सम्बा

अमित थेबे
२०७७ माघ १४ गते ९:५०
बाल्यावस्थामा हुनुपर्छ । अझ, किशोरावस्थामा । घरमा प्रसङ्गवश कुरा भइरहन्थ्यो । लाहुरे परिवारमा लाहुरे लाग्ने मात्रै कुरा नभएर लाहुरेबारे पनि प्रसङ्गहरू उप्किन्थे । लाहुरे लागेर औसतमा सम्पत्ति आर्जनका कुरा सामान्य भए । तर, पल्टनघरभित्रै रहेर पनि उल्लेख्य प्रगति गर्ने जानकारीहरूले भने उर्जा दिन्थ्यो । अन्तरआत्माबाट लाहुरे लाग्ने कुरा कहिले आएन । तर, यदि ‘लाहुरे’ नै हुने भए के के गर्न सकिएला भनेर मनमा सूची चाहिँ बन्थ्यो ।
ताप्लेजुङका चन्द्र लक्सम्बाको नाम बारम्बार घरमा आमाबुवाले लिइरहन्थे । सम्भवत: लाहुरे भएर पनि विद्यावारिधि गर्ने उनी पहिलो हुन् भन्ने कुराले मनमा उत्साह मिल्थ्यो । जिल्लामा उत्कृष्ट भएर काठमाडौं पढ्न गएको र अस्कल क्याम्पसमा विज्ञान विषय पढेको आमा बताउँथिन् । पछि, थाहा भयो उनी सोही क्याम्पसमा स्ववियु सभापति पनि भएका रहेछन् । लगत्तै केही समयपछि भर्ती लागेको र पल्टनघरमा पदीय बढुवाभन्दा अध्ययनमा मन लगाउने गरेको कुराहरू सुनिन्थे । ‘पढन्ते’ भनेर पल्टनमा लक्सम्बा कहलिएका रहेछन् । वर्दीमै रहँदा उनले स्नातक र स्नातकोत्तर गरेका रहेछन् । पछि, उनले सर्रे विश्वविद्यालयबाट पीएचडी पनि पूरा गरेका रहेछन् । यसरी, एउटा आदरणीय व्यक्तित्वका रूपमा उनी मनमा प्रतिस्थापित भइसकेका थिए । सम्भवतः उनलाई हेरेर गोरखा ब्रिगेडका कैयन् सेवारत र अवकाशप्राप्त सैनिकहरूले आजको मितिमा उच्च अध्ययन पूरा गरिरहेका छन् । उनीसँग भने भेट हुन बाँकी थियो ।
बेलायतमा पङ्क्तिकारको आगमन भएपछि भने भेट हुने सम्भावना बढेको थियो । तर, अवसर जुरिरहेको थिएन । सेन्टर अफ नेप्लिज स्टडिज(सीएनएस) स्थापना र त्यसका लागि उनले गरेका शोधहरू पठनीय थिए । केही रिसर्च वेभसाइटमा पनि हेर्ने अवसर मिल्यो । प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा पनि उनी जोडिए । एनआरएनए यूकेमा पनि काम गरे । सबैभन्दा उल्लेख्य पक्षचाहिँ गोरखा सैनिकहरूको न्याय र समानताको आन्दोलनमा उनी प्राज्ञिक ढंगले आबद्ध भए । बेलायती गाेरखा सैनिकहरूमा डा. लक्सम्बा र डा. रामनारायण कन्दङ्वा गरेर दुई डाक्टरहरू उत्पादन भएको कुराले मन कम्ता गदगद हुँदैनथ्यो । अझ, समानताको आन्दोलनमा यी दुई पात्रहरूको नामले बेग्लै वजन मिलेको भान हुन्थ्यो । हामी ‘भाञ्जा/भाञ्जी’ टोलीहरू ऋणी पनि छौं । तर, भेट हुन अझै समय कुर्नु पर्यो ।
अन्ततः सन् २०१९ को बर्खा याममा भेट भयो । अगष्ट महिनामा अल्डरसटमा भएको ताप्लेजुङ समाज यूकेको वार्षिक भेलामा डा. लक्सम्बा धर्मपत्नीसहित आएका थिए । सिकैँचा(कुञ्जारी) कै भएकोले झन् नजिकको याक्थुङ्बा अनुभव भइरहन्थ्यो । याङ्वरक थुममा सिकैँचा, सिनाम, आम्बेदेन, थुम्मेदेन नजिकका गाउँहरू पनि हुन् ।
भेट लगत्तै तस्वीर लिने काम भयो । चिनापर्ची गर्ने क्रममा बाल्यकालदेखिको जानकारी सबै सुनाएपछि उनले भने – “हाल्ले कुस्सा बे ? आत्तो हिम् वा बी ?” प्रत्युत्तरमा “नविन थेवे र सिनाम आम्बेदेन” भनेपछि धाप मारे । थोरै गाउँको । थोर‌ राजनीति । अनि, समुदाय । र, बेलायतको विषयमा गफियौं । त्यतिञ्जेल उनी खुल्ला विश्वविद्यालयका प्राध्यापक भइसकेका रहेछन् । नेपाल सरकारले उनलाई बौद्ध विश्वविद्यालयको सिनेट सदस्यमा समेत नियुक्त गरेको रहेछ । ‘कलेज ड्रपआउट’ भएको मान्छे भन्ने सुनाएपछि तनाव नलिन आग्रह गर्दै बेलायतमै बसेर भएपनि खुल्ला विश्वविद्यालयमार्फत् अधूरो पढाइ पूरा गर्न सुझाए । उनले विद्यार्थीहरूको सङ्ख्या बढे लन्डनस्थित दूतावासमा परीक्षा केन्द्र राख्न पहल समेत गर्ने बताउँदा खुसीको सीमा थिएन । भविष्यका लागि भनेर डा.सापको नम्बर पनि टिप्ने काम भयो । केही मान्छेहरूले उनलाई तानेर लगेपछि हाम्रो संवाद अवरुद्ध भयो । तर, पहिलो भेट र संवाद अविस्मरणीय रह्यो । नेकपाको सरकारले उनको विद्वता र क्षमतालाई उपभोग गर्न सम्भवतः विशेष राष्ट्रिय जिम्मेवारी दिने पनि यदाकदा सुन्नमा आउँथ्यो । खैर, उनी प्राध्यापकीय पेशाको मज्जा लिनमै तल्लीन थिए ।
भेट भएको र छुटेको करिब डेढ वर्षपछि मङ्गलबार अत्यन्तै अप्रिय खबर सुनियो । काममा जानुअघि नेपालबाट किरात याक्थुङ चुम्लुङ नेपालका उपाध्यक्ष उपप्राध्यापक प्रेम येक्तेनले म्यासेज गरेका रहेछन् – “अमित सर, डा. चन्द्र लक्सम्बा बित्नु भा हो र ?” सोमबार काठमाडौंमा भएको बृहत नागरिक आन्दोलनको प्रतिगमनविरोधी मार्चपासमा घाइते भएका येक्तेनलाई स्वास्थ्यलाभको कामना गरेर केही नोट सम्प्रेषण गरेको केही समयलगत्तै मनको गति बढाउने प्रश्न तेर्स्यो । यसबारे पुष्टि गरेर म्यासेज गर्ने बताएपछि कामतिर लागियो । कामको अवधिभर मन छट्पटाइ रह्यो । ब्रेकको समय आउनेबित्तिकै हात मोबाइलमा गयो । त्यतिञ्जेल सामाजिक सञ्जाल श्रद्धाञ्जलिका खबरले ढाकिसकेको रहेछ । मन मस्तिष्क स्तब्ध भयो ।
हामीले एक होनहार, प्रेरक, उर्जाशील र बौद्धिक व्यक्तित्व डा. चन्द्र लक्सम्बालाई ५९ वर्षको उमेरमा गुमायौँ । उनले नेपाली समाजमा रिक्तता छाडेर गए । नेतृत्वको बागडोर पनि छेउमा राखेर निदाए । कोरोना महामारीले पुर्याइरहेको मानवीय क्षतिको घाउ भीषण छ भन्ने थप पुष्टि भयो । मस्तिष्क घातबाट उनको देहान्त हुँदा यूकेमा कोरोनाका कारण मृत्युवरण गर्नेको सङ्ख्या एक लाख नाघ्यो । जेहोस् हामीले एक अभिभावकको साथ पनि गुमायौँ ।
उनै एक प्रेरक व्यक्तित्वप्रति हार्दिक श्रद्धा सुमन ।
सिमेरिङ सोधुङ हुक्वा ।
२७ जनवरी, २०२१

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक