नयाँ-नयाँ कोरोनाभाइरसको मारमा बेलायत

लन्डन । बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ ।

यहाँका अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएको बताएका छन् । यसअघि पनि बेलायतमा गत वर्ष चीनको वुहानबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरसको दोस्रो लहर आएको र त्यसले पहिलेको भन्दा धेरै असर पारेको बताइएको छ ।

यो दोस्रो लहरका कारण बेलायतमा केही हप्ता यतादेखि कडा खालका प्रतिबन्धहरु लगाएको थियो र यसपछि पछिल्ला केही दिनहरु यतादेखि पनि यहाँ झनै कडा प्रतिबन्धहरु लगाइएको थियो ।

ब्रिटिस सरकारको यो आदेश आएको भोलिपल्टै आइतबार मात्र डच सरकारले पनि यो यात्रा प्रतिबन्ध लगाएको समाचार आएको थियो । बेलायतमा आगामी क्रिसमसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाएको बुझिएको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले यहाँका थप केही स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको घोषणा बुधबार मात्र गर्नुभएको थियो ।जसका कारण यहाँ बसोबास गर्ने कतिपय स्थानका नागरिकहरु त अत्यावश्यक कार्यबाहेक घरबाट निस्किन समेत नपाउने गरी प्रतिबन्धहरु लगाइएको अधिकारीहरुले जानकारी गराएका छन् ।

यसरी बुधबार नयाँ प्रतिबन्ध लगाइएका स्थानहरुमा पूर्वी बेलायतका विभिन्न सात स्थानहरु रहेका स्वास्थ्यमन्त्री ह्यानककले जानकारी दिनुभएको हो ।ती स्थानहरुमा पछिल्लो पटक नयाँ खालका कोरोना भाइरसका दुई जना बिरामी भेटिएपछि यस्तो प्रतिबन्ध लगाउनुपरेको उहाँले बताउनुभएको थियो ।

यसैबीच बेलायतमा यो पछिल्लो अवस्थापछि बेलायतबाट आउने तथा बेलायत जाने हवाई उडानहरुमाथि नै प्रतिबन्ध लगाएको बताएका छन् ।बेलायतबाट हुने उडानमा विश्वका ४० भन्दा बढी देशले प्रतिबन्ध लगाएका समाचार आएका छन् ।
बेलायत सरकारले पनि आगामी क्रिसमस पर्व र नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट बाहिर ननिस्कन र निस्किएमा पनि भिडभाड नगर्न भनेको छ ।
बेलायतबाट हुनसक्ने कोरोनाको संक्रमणलाई जति सक्दो कम गर्न तथा फैलिन नदिन बेलायत जान र त्यहाँबाट आउने नागरिकलाई रोक्नका लागि यतिखेर विश्वका कैयौँ देशहरुले यात्रामा प्रतिबन्ध लगाएको बताएका छन् ।
यसरी बेलायत दोस्रो लहरको प्रभावपछि पनि थप समस्यामा परेको पाइएको छ । गत वर्षको डिसेम्बरबाट शुरु भएको पुरानै कोरोना भाइरसबाट पनि शुरुमा प्रभावित भएको बेलायतले यसको नियन्त्रण राम्रोसँग गर्न सफल भएको थियो ।
तर पनि अघिल्लो महिनादेखि पुनः यसैको दोस्रो लहर आयो र यहाँको जनजीवनलाई थप प्रभावित बनायो । त्यसपछि पनि केही नयाँ प्रतिबन्धहरु बेलायतले घोषणा गरेका थिए ।
त्यसैमाथि अहिले फेरि झन् छिटो फैलने नयाँ भाइरस देखिएको भन्दै यसले बृटिस सरकार र यहाँका नागरिकलाई थप समस्यामा पारेको छ ।
नयाँ भाइरसको त्रासका कारण विश्वका ४० भन्दा बढी देशले बेलायतमाथि यात्रा प्रतिबन्ध लगाएपछि त यहाँको जनजीवन थप प्रभावित भएको बताइएको छ ।
यसका कारण बेलायतले यो पछिल्लो संस्करणको भाइरसले यहाँको जनजीवनलाई प्रभावित त बनाउँछ नै यसले यहाँ बेरोजगारी समस्या उत्पन्न गर्ने तथा यहाँको अर्थतन्त्रमा पनि नराम्रो प्रभाव पार्ने निश्चित जस्तो देखिएको जानकारहरुको भनाई छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री