शुक्रबार, माघ ७ २०७८ | Fri, January 21, 2022
नेपालको समय: ०२:२० | UK Time: 20:35

पोखराको सुन्दरता जोगाउनै मुश्किल

जमुनावर्षा शर्मा/रासस
२०७५ फागुन ७ गते २२:१७

चिप्लेढुङ्गा, ७ फागुन –

‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया

जीवन मेरो सेती बगर विना तिम्रो माया’ (दिनेश सुब्बा, शम्भुजीत बाँस्कोटा, प्रकाश श्रेष्ठ)

पत्रकार मोहन मैनालीले एक प्रसङ्गमा भन्नुभएको थियो, “प्रकृतिले भएभरको सुन्दरता पोखरालाई खन्याइदिएको छ ।” केही समयअघि मात्रै पोखरा घुम्न आउनुभएका फिलिपिनो राजकुमारी मारिया अमोरले पनि पोखराको सुन्दरताको खुलेरै प्रशंसा गर्नुभयो । पोखरा अधिकांश सर्वसाधारण, कलाकार, नेता व्यापारी, कर्मचारी, विद्यार्थी, कविलेखक सबै सबैको प्रमुख रोजाइको शहर पनि हो । पक्कै पनि पोखरा आउने जो कोहीका लागि पोखराको प्राकृतिक सुन्दरता अवर्णित नै हुन्छ ।

अमेरिकी फिल हुलवर्क वर्षमा तीन महिना पोखरामा बिताउने गर्नुहुन्छ । “पोखराको सुन्दरताले म जहिल्यै मोहित हुन्छु । जति घुमे पनि जति डुले पनि पोखराले लोभ्याइरहन्छ ।” हुलवर्क भन्नुहुन्छ, “हिमाल र तालहरु मलाई असाध्यै मन पर्छ, होटलका झ्यालबाट देखिने हिमाल कम लोभलाग्दो छैन ।”

नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा नेपाल आउने ६० प्रतिशत पर्यटक भित्रिने गरेको अनुमान गरिन्छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५-७६ देखि हवाई मार्ग र स्थलमार्गबाट आउने पर्यटकको सङ्ख्यालाई अभिलेख गर्न शुरु गरेको छ । मन्त्रालयको तथ्याङ्कानुसार स्याङ्जाको गल्याङ, आँबुखैरेनी र नागरिक उड्डयन कार्यालय पोखराबाट प्राप्त तथ्याङ्कानुसार भारत र अन्य देशबाट आउने पर्यटकको आर्थिक वर्ष २०७५ -७६ साउनदेखि पुससम्मको सङ्ख्या एक लाख ७६ हजार ५६१ छ ।

पोखराको सौन्दर्यमा जोडिएको विशेष पक्ष भनेकै हिमाल र ताल हो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी भन्नुहुन्छ, “फेवातालमा छर्लङ्ग हिमाल देखिने दुर्लभ दृश्य सम्भवतः विश्वमा कहीँ कतै छैन । यो पोखराको अर्को सुन्दर पक्ष हो ”, मुल्मी भन्नुहुन्छ, “भूगर्भबाट कलकल गर्दै बग्ने सेती, उत्तरतर्फ देखिने माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरि हिमशृङ्ला अनि नौ ताल (फेवा, रुपा, वेगनास, गुँदे, दिपाङ, खास्टे, निउरेनी, मैदी र कमलपोखरी) ले सिंगारिएको पोखरा उपत्यकामा शान्ति स्तूप, पातले छाँगो(डेभिज फल्स), गुप्तेश्वर गुफा, चमेरे गुफा, महेन्द्र गुफा, विन्ध्यवासिनी आदि आकर्षण हुन् ।”

साहसिक खेलमार्फत मनोरञ्जन लिन चाहनेहरु प्याराग्लाइडिङमार्फत आकाशमा चराझैँ उडेर मज्जा लिने गर्छन् । हिमशृङ्खलाहरुलाई नजीकैबाट छुन खोज्नेहरु अल्ट्रालाइट चढेर रमाउने गर्छन् । क्यानोनिङ, जीप फ्ल्यायर, हट बेलुनसँगै मज्जा लिन चाहनेहरुलाई पनि पोखराले सधैँ स्वागत गर्छ ।

हिमालदेखि बग्दै आएको पानी केआइसिंह पुलमा स्पर्श गर्न पाइन्छ । अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय (रातोपैरो) मा हिमाल आरोहणदेखिका विभिन्न दृश्य र सामग्रीको सङ्ग्रह हेर्न पाइन्छ । न धेरै जाडो न धेरै गर्मी । उस्तै मिलेका घर, उस्तै मिलेको बस्ती र उस्तै मिलेको मनले पनि पोखरा सिंगारिएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा विभिन्न बृहत् योजनाका पूर्वाधार बनिरहेका छन् । पञ्चासे केबुलकार, पुम्दीकोटमा विशाल महादेवको मूर्ति बन्दै छ । त्यसै गरी काहुंडाँडामा आधुनिक धरहरासहित बुद्धको विशाल मूर्तिसँगै यशोधरा उद्यानको निर्माण तयारी भइरहेको छ । सराङकोट, काहुँ, घान्द्रुक, सिक्लेस, धम्पुस, पञ्चासे, ताङ्तिङजस्ता सुन्दर ग्रामीण बस्तीले पनि ग्रामीण पर्यटनलाई प्रवद्र्धन गरिरहेको छ । कपुचे तालले पछिल्लो समय पर्यटकलाई लोभाइरहेको छ ।

प्रकृतिको अनुपम वरदान पाएको पोखराको यो सुन्दरता बेचेर नै पोखरेली बाँचेका छन् । यी यावत् कुरा बीच अब पोखराको सुन्दरता जोगाउने चुनौती पनि थपिँदै गएको मुल्मी बताउनुहुन्छ । आँखामा राखे पनि नविझाउने पोखराको सुन्दरता मासिँदै छ । बढ्दो प्रदूषण र शहरीकरणसँगै बढ्दो अव्यवस्थित संरचना, मासिँदै गएका तालतलैया सिमसार, सडक सञ्जालको अवस्था, अव्यस्थित विज्ञापनपाटी र जेलिएर यत्रतत्र छरिएका तारहरुले पोखराको सुन्दरतालाई कुरुप बनाइरहेको छ ।

पर्यटनको बृहत् सम्भावना बोकेको पोखराको सुन्दरता जोगाउन विकल्प अघि सार्नुपर्ने मुल्मीको भनाइ छ । “हामी भाग्यमानी हौं, पोखराजस्तो शहर पाएका छौँ, हामीले थप केही गर्न नसके पनि यसको प्राकृतिक सुन्दरतालाई जोगाउन सक्नुपर्छ । यसको संरक्षण र व्यवस्थित बस्तीका लागि अब दीर्घकालीन लक्ष्यसहित दिगो विकासको अवधारणा अगाडि सार्नुपर्छ” उहाँ भन्नुहुन्छ ।

प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रका विविध योजना र कार्यक्रम छुट्टाएको छ । प्रदेश सरकारले सन् २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’, २०२० लाई ‘छिमेकी देश पर्यटन वर्ष’ र सन् २०२२ लाई ‘पोखरा पर्यटन वर्ष’ मनाउने तयारी गरिरहेको छ । नयाँ अभ्यासको सङ्घीयतामा देखिएको अन्योल हटाएर दिगो विकास र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने प्रयासको थालनी गर्न अब ढिलाइ गर्न नहुने मुल्मीको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समितिका सदस्य वासु त्रिपाठी पोखराको प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रको संरक्षण गर्दै नयाँ सम्भावना भएका स्थानको खोजी महत्वपूर्ण हुने बताउनुहुन्छ । पोखराको प्राकृतिक सुन्दरता जोगाएर पर्यटक जाने स्थलसम्म सडक, हवाई तथा होटल रेष्टुरेन्ट, घरबासलगायत सुविधालाई पनि विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । पर्यटकको बसाइ लम्बाउन पदयात्रा मार्गलाई संरक्षण गर्नुपर्ने र एक्यापले दिँदै आएको अनुमतिपत्रलाई बहुप्रवेशीपत्र बनाउनुपर्ने त्रिपाठी बताउनुहुन्छ ।

पोखरा बृहत् सरसफाइ अभियानकर्मी एवं राष्ट्रिय संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेल सफा र हरियाली वातावरणमैत्री शहरका रुपमा पोखराको सुन्दरतालाई जोगाइराख्नुपर्ने बताउनुहुन्छ । निरन्तर १४२ औँ हप्ताको सफाइ अभियानबाट पोखराको सुन्दरता जोगाउन सक्रिय पौडेल सार्वजनिक हितभन्दा व्यक्तिगत हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्दा पोखराले आफ्नो सौन्दर्यको परिचय गुमाउँदै गएको बताउनुहुन्छ । स्थानीय तहको सरकारले आफ्नो अधिकारको प्रयोग गर्न नसक्दा मापदण्ड विपरीत बनिरहेका संरचनाले पोखरा कङ्क्रिटको शहरमा परिणतमा हुँदै गएको उहाँको ठहर छ । उहाँले अङ्ग्रेजी वर्षको स्वागतार्थ गरिने आतिसबाजी १९ वर्ष पनि अदालतमार्फत रोक्न सकिएको र वरपीपल चौतारो संरक्षण विधेयक २०७५ ल्याउन सफल भएको बताउनुभयो ।

फेवाताल किनारमा मात्रै करीब डेढ दर्जन पर्यटन केन्द्रित सङ्सस्था छन् । यद्यपि पोखराको सौन्दर्य दिनप्रतिदिन बिग्रँदै गएकामा संरक्षणको प्रयासमा भने त्यति जुटेको पाइदैन । अव्यवस्थित शहरीकरण र मानवीय अतिक्रमणको चपेटामा तालतलैया साँघुरिँदै र सिमसारहरु मासिँदै छन् । कृषि जैविक विविधता लोप हुँदैछ । गैह्रजिम्मेवार राज्यका निकाय र नाफामुखी व्यवसायीका कारण पोखराको सौन्दर्यलाई कुरुप बनाउँदै लगेको अधिवक्ता भगवती पहारी बताउनुहुन्छ । “तालतलैया, प्राकृतिक धरोहर, सम्पदा र संस्कृतिको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले स्थानीयवासीसँगकै सहकार्यमा सार्वजनिक, निजी साझेदारी मोडलबाट अघि बढ्नु अबको एक मात्र विकल्प हो”, पहारी भन्नुहुन्छ ।

विसं २०३१ मा पोखरा नगर योजना बनेको हो । त्यसलाई सर्वोच्च अदालतले लागु गर्न आदेश पनि दियो । त्यसै गरी फेवाताल अतिक्रमणको विषयमा पनि अदालतले फैसला गरिसकेको छ तर कार्यान्वयनको अवस्था प्रभावकारी हुन सकेको छैन । पहारी पोखराको सुन्दरता जस्ताको तस्तै भावी पुस्तालाई जोगाउने जिम्मा सरकार र सरोकार पक्ष सबैको भए पनि वातावरणमैत्री नीतिको खाँचो औँल्याउनुहुन्छ ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख दिवाकर पौडेलले पोखराको सौन्दर्यमा देखिएका चुनौतीलाई हटाउन नीति र ऐनमार्फत अघि बढेको जानकारी दिनुभयो । प्रवक्ता पौडेलले वन तथा जलाधार व्यवस्थापन नीति प्रदेश सरकारबाट स्वीकृत भएको र वातावरण तथा जलवायु परिवर्तन नीति मन्त्रिपरिषद्मा पेश भएको जानकारी दिनुभयो । वरपीपल चौतारो संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक २०७५ प्रदेशसभाबाट पारित भएको र प्रदेशस्तरीय ताल संरक्षण तथा विकास प्राधिकरण स्थापना गर्न मन्त्रीपरिषदबाट स्वीकृत भई प्रदेशसभामा छलफलका लागि पठाइएको उहाँले जानकारी दिनुभयो । उहाँले पोखरालाई पर्यटकीय राजधानी बनाउन प्रदेश सरकारबाट स्वीकृत भएर सङ्घीय सरकारलाई अनुरोध गरिएको बताउँदै पोखराको सौन्र्दयमा मन्त्रालयले विशेष पहल गरेको जानकारी दिनुभयो । पोखराको प्रकृति, संस्कृति र विविधतालाई जोगाएर पोखराको सौन्दर्य कायम गर्न बनेका ऐन नियमलाई सबैले प्रभावकारी कार्यान्वयन गर्न सके देखिएका चुनौती हट्दै जाने पौडेलले जिकिर गर्नुभयो ।

‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दोरेछ’

पोखरा त साँच्चिकैको पोखरा नै रेछ’ (प्रेमप्रकाश मल्ल)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक