मुलुकको प्रमुख प्रशासनिक स्थल सिंहदरबारमा सफाइ

 

सिंहदरबार परिसरमा रहेका पुराना फलामलगायत विभिन्न अनावश्यक सामग्री शनिबार हटाउँदै नेपाली सेना । तस्बिर – प्रदीपराज वन्त, रासस

काठमाडौँ, २८ पुस – मुलुकको प्रमुख प्रशासनिक स्थल सिंहदरबारका सबै कार्यालय बन्द थिए । पुसको बिहानी चिसो थियो, चिसोको पर्वाह नगरी कर्मचारी र सुरक्षाकर्मी सिंहदरबार सफाइमा जुटे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा भएको सफाइमा अधिकांश मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत बिहानैदेखि जुटेका थिए । प्रमुख प्रशासनिक स्थल क्षेत्रमा यत्रतत्र थुपारिएका निर्माण सामग्री, पुराना सवारी उठाई व्यवस्थित गरिएको कार्यालयका प्रशासन शाखा प्रमुख उपसचिव विष्णु घिमिरेले जानकारी दिनुभयो ।

विभिन्न मन्त्रालय अघि थुपारिएका पुराना सवारीलाई गृहमन्त्रालय पछिको भागमा व्यवस्थित तरिकाले राखिएको छ । पुराना सवारीमध्ये मर्मत गरेर सञ्चालनमा आउन सक्नेलाई उपयोगमा ल्याइने कार्यालयले जनाएको छ । आज १०० भन्दा बढी सवारी साधनलाई व्यवस्थित गरिएको शाखा अधिकृत सुरज पोखरेलले सुनाउनुभयो ।

उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन 

यसैगरी उपत्यकाका नदी र चक्रपथ सफाइ गरी अभियानकर्मीले ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरेका छन् । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको हो ।

वाग्मती सफाइ महाअभियानको २९६औँ हप्तामा ललितपुरतिरको गुसिङ्गाललमुनिको नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राष्ट्रियसभाकी सांसद कोमल ओली, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियानकर्मीको सहभागिता थियो । शाखा अधिकृतको नाम निकाली नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालीम लिइरहेका १०० नयाँ कर्मचारी पनि सफाइ अभियानमा सहभागी भएको जनाइएको छ ।

सफाइमा १८ संस्थाका ४५० अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । डेढ वर्ष अघि गुसिङ्गाल क्षेत्रबाट हटाइएका सुकुम्वासी फेरि नदी किनारमा आई बसेकाले नदीमा फोहर बढेको पाइएको उहाँले जानकारी दिनुभयो ।

गुह्येश्वरीमाथिको नदी सफाइको २५७ औँ हप्तामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित माकलबारी बसपार्क अघिको नदी किनारमा सफाइ गरियो । नगरपालिका–४ को संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारमा सफाइमा नआउनसमेत आह्वान गरेको छ ।

सो अवसरमा नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, मानवअधिकार तथा शान्ति समाजलगायत सङ्घ संस्थासहित माकलबारी टोलवासी गरी ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । रुद्रमती सफाइ अभियानको २५१ हप्तामा रातोपुल–सेतोपुलसम्मको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, वडासदस्यद्वय शर्मिला महतो र मनोज डङ्गोलसहित २०० अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी रोहित गिरीले जानकारी दिनुभयो ।

विष्णुमती सफाइ अभियानको २२३ हप्तामा तारकेश्वर नगरपालिका–९ मा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी अनिल धरेलले बताउनुभयो । सफाइसँगै सो क्षेत्रमा जनचेतनामूलक अभियान पनि गरिएको थियो ।

वाग्मतीको तिलगङ्गा क्षेत्रमा १९८औँ हप्ताको सफाइ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा भयो । तिलगङ्गा आँखा अस्पताल अघिको नदी किनारमा भएको सफाइमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १०६ औँ हप्ताको सफाइ गरियो । १०० भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो ।

मनोहरा नदी सफाइको ९६औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्रप्रसाद दङ्गालले बताउनुभयो । सफाइमा १०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

चक्रपथ सफाइ अभियानको ९२औँ हप्तामा ग्रिनसिटी अस्पतालबाट वसुन्धरा चोकसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो । सफाइमा महिला टेम्पो चालकलगायत ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सफाइ अभियान शुरु भएको १०० औँ हप्ताको कार्यक्रमलाई विशेषरुपमा मनाउने तयारी गरिएको उहाँले सुनाउनुभयो ।

आलोकनगर सफाइको ९२ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । सो अवसरमा जनचेतनामूलक अभियानसमेत चलाइएको थियो ।

चक्रपथ बाफल खण्ड सफाइको ७४ औँ हप्तामा कलङ्कीचोकमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । २०० भन्दा बढी अभियानकर्मीको सहभागितामा भएको सफाइमा हेभी इक्विपमेन्ट डिभिजनको सहयोगमा ब्रुमर लगाई सडकको धूलो टिपिएको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको उपत्यकाका नदी एवं चक्रपथलगायत विभिन्न स्थानको सफाइले देशव्यापी स्वरुप ग्रहण गरे पनि सोचे जति सफा हुन नसकेको गुनासो छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ । वाग्मती किनारमा सञ्चालन भएका सुँगुर बङ्गुर फार्म र सुकुम्वासी बस्ती हटाउनसमेत सरकारले पहल गर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री