मोदीलाई जनकपुरमा भव्य स्वागत, जानकी मन्दिरमा पूजाअर्चना

नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुक्रबार जनकपुरमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर – अजयकुमार साह, महेन्द्रनगर(धनुषा), रासस

जनकपुर, २८ वैशाख – नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धनुषा जिल्लाको जनकपुर आइपुग्नुभएको छ ।

एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी आज बिहान १०.४५ बजे जनकपुर विमानस्थलमा आइपुग्नुभएको हो । उहाँलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावत, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी लगायतले स्वागत गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार जनकपुर भ्रमणका अवसरमा जानकी मन्दिर अगाडि दुवै देशका राष्ट्रिय झन्डा सजाइँदै । तस्बिर – अजयकुमार साह, महेन्द्रनगर (धनुषा), रासस

प्रधानमन्त्री मोदीलाई स्थानीय साँस्कृतिक झाँकी तथा बाजागाजासहित स्वागत गरिएको थियो ।

भारतीय प्रधानमन्त्री मोदी विमानस्थलबाट जानकी मन्दिरमा हुने पुजाअर्चना तथा अन्य कार्यक्रमका लागि प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी मोदीले आज संयुक्तरुपमा रामायण सर्किटको उद्घाटन गर्नुहुनेछ, त्यसपछि मोदीलाई बाह्रबिघा मैदानमा नागरिक अभिनन्दन गरिनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै शुक्रबार बिहान जनकपुर विमानस्थलमा आइपुग्नुहुँदै । तस्बिर – अजयकुमार साह, महेन्द्रनगर (धनुषा), रासस

भारतीय प्रधानमन्त्रीबाट जानकी मन्दिरमा पूजा

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आज जनकपुरधामस्थित जानकी मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चना गर्नुभयो ।

मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुनुहुन्छ ।

षोडशोपचार विधिबाट गरिने पूजामा पञ्च आहुति, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शङ्गारका सामग्री अर्पण गरिने चलन छ ।

ईश्वर अवतार महामानवका रूपमा भएको भावभूमिमा सीतालाई सुशील पुत्री, धीर गम्भीर राजकुमारी, आज्ञाकारी शिष्या, अनन्त सखी, मर्यादित पत्नी, मृदुभाषणी गरिमामयी कुलवधु, प्रकृति स्वरूपा सबल नारी , संकटका बेला स्मरणीय चरित्र, ममतामयी माता तथा देवतुल्य भएकी कारण सीतालाई पूज्यनीय र अनुकरणीय मानिएको छ ।

यस सन्दर्भमा एक पटक भारतीय समाजवादी नेता चन्द्रशेखर जनकपुरधाम आएका बखत आयोजित अभिनन्दन कार्यक्रममा भावविभोर भई जानकीको वन्दना गर्दै भगवान् रामलाई पुरुषार्थको प्रेरणा जानकीबाट नै प्राप्त भएको प्रसङ्गले पनि अनन्य भावलाई स्पष्ट गर्छ ।

सनातन संस्कृतिको विशिष्ट तत्वका रूपमा सम्पूजित जानकी माताको दर्शन सन्दर्भमा यसअघि भारतीय राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जेल सिंह र प्रणव मुखर्जीले पनि धर्ती पुत्री जानकीको पूजाआराधना गरेको देखिन्छ ।

जनकपुरधाम मिथिलाका राजा जनकको घर र जानकीको जन्मस्थल भएकाले विदेह परम्पराको निरन्तरताका रूपमा विशिष्ट पाहुनालाई षोडशोपचार विधिबाट पूजा अर्चना गराइने परम्परा छ ।

जनक वंशको नामबाट यस नगरको नाम जनकपुरधाम रहन गएको हो र पौराणिककालमा मिथिला प्रदेशको राजधानी रहेको थियो ।

जानकी मन्दिरलाई माता जानकीको निवासस्थल मानिएको छ । धार्मिक मान्यताअनुसार जानकी मन्दिरको प्रधान गर्भगृह माता जानकीको कोहवर छ जहाँ जानकी र राम शयन गर्नुहुन्छ ।

मुगल, हिन्दू र मैथिल वास्तु शैलीको अनुपम संगमबाट बनेको सो मन्दिर वास्तु कलाकारिताको विलक्षण सम्पदा मानिन्छ । नौलखा, जानकी भवन, शीशमहल र नेपालको ताजमहल भनेर सो मन्दिर प्रख्यात रहेको छ ।

सो मन्दिरमा महात्मा सुरकिशोर दास र ओरछा नरेश तथा महारानीले प्रतिष्ठापित गरेका सीतारामका मूर्तिहरू रहेका छन् । मूर्तिलाई चाँदीको पाताले मोडिएको रथ आकार झैँ भान हुने विशाल एवं कलात्मक सिंहासनमा आकर्षक ढंगले सजाएर राखिएका छन् ।

भगवान् सीतारामका मूर्तिहरू राखिएको कोठामा बस्ने मूलद्वार पनि चाँदीले नै मोडिएका छन् । यसको अगाडि सानो जगमोहन छ । गर्भगृहको मूलद्वारसँगै जोडिएर यसको दुवैतिर दायाँ बायाँ स–साना बरण्डा बनाइएका छन्, जसलाई मिथिला वास्तुकलाको विशेषताका रूपमा लिइन्छ ।

गर्भगृह प्रवेश गर्ने मूलद्वारको दुवैतर्फको भित्तामा जीवनगाथासँग सम्बन्धित चित्रहरूले जीवन्तता दिन खाजेको जस्तो लाग्छ । भगवान् सीतारामको सिंहासनको पछिल्लो भागमा अष्ठकुञ्ज नामक आठ कोठा छन् ।

यी कोठामध्ये दुई कोठा पाताल जाने बाटो भएको बताइन्छ । अन्य कोठा भगवान्को शयन र स्नानका लागि प्रयोग गरिन्छ ।

जानकी मन्दिरमा कलाकारको मीठो सपना बोलेको देखिन्छ । यो मन्दिर किल्ला आकारको छ र चारैतिर साना–ठूला गुम्बज र बुर्जाहरूले घेरिएको छ ।

सो मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको र ५० फिट अग्लो छ । यसमा साठी कोठा रहेका छन् ।

मन्दिरको भव्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक रहेको छ भने जगमोहन मन्दिरको चारैकुनामा तीन–तीन वटाका दरले बनाइएका १२ वटा कलात्मक बुर्जाहरूका साथै अन्य साना–ठूला बुर्जा र गुम्बजमाथि रहेका सुनौला गजुरहरू, फराकिलो परिसर र प्रवेशद्वारका दुवैतिर र माथि बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यतालाई अझ बढाएको छ ।

सो मन्दिरको निर्माण मध्य भारतका ओरछा टिकमगढका महाराजा प्रतापसिंहका पत्नी वृषभान कुँवरीले पुत्र प्राप्तिको खुशियालीमा विसं १९६७ माघ २८ गतेमा निर्माण गराएकी थिइन् ।

सो मन्दिरको निर्माणमा त्यसबेलाको ब्रिटिस महारानीका चाँदीका सिक्काहरू ३–४ लाख खर्च भएको भनिए पनि मन्दिर बनाउन शुरूमा नौ लाख संकल्प गरिएको भनिन्छ । यो मन्दिर बनाउन जम्मा रु १५ लाख खर्च र १२ वर्ष लागेको बताइन्छ ।

जानकी मन्दिरलाई नौलखा मन्दिर पनि भनिन्छ । यस सन्दर्भमा यो पनि भनाइ रहेको छ कि महाराजा र महारानी जानकी मन्दिर बनाउन जति पनि खर्च गर्न तयार थिए । इकाइमा सो रकम भन्नु पर्दा नौ नै भन्नु परेकाले नौ लाख भनिएको हो ।

हिन्दू बाङ्मयमा अनुपम, विलक्षण, आश्चर्यजनक वास्तु, भवन, इमारतलाई सबैभन्दा उत्तम दर्जाको इकाइमा भन्नु पर्दा नौ भनिने हुँदा यस मन्दिरले वास्तुकलाको सर्वोत्कृष्ट कला प्रस्तुत गरिएकाले नौलखा भनिएको भन्ने मान्यता पनि पाइन्छ ।

सो मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि बनाइएका पत्थरका सिंहका मूर्ति पनि आकर्षक रहेको छ । यस कलात्मक पत्थरमा कलात्मक ढंगबाट रोमनमा एसपी लेखिएको देखिन्छ ।

जानकी मन्दिरमा पूजाअर्चनाका लागि आउँदा भारतीय प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदी मन्दिर परिसरमा रहेको शालिग्राम मन्दिरमा पूजाअर्चना र अखण्ड सीताराम भजनमा स्तुति गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोशन दासले मैथिल संस्कृतिअनुसार स्वागत गर्नुभएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री