न्यूयोर्कमा तमु ल्होछार

न्यूयोर्क । तमुहरुको महान पर्व ‘ल्होछार २०७४’ विभिन्न सांस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा सम्पन्न भएको छ । गुरुङ, तमु सोसाइटी अमेरिकाको आयोजनामा डिसेम्बर ३० तारिख ज्याक्सन हाइटस्थित बेलेजिनो हलमा विभिन्न मौलिक सांस्कृतिक कार्यक्रमसाथ ल्होछार मनाइएको हो ।

वर्गको आधारमा उमेर गणना गर्ने तमु जातिले यस वर्ष चरा वर्ग अर्थात च्हा ल्हो वर्गको विदाइ र कुकुर वर्ग अर्थात खिल्हो वर्गको स्वागत गर्दै ल्होछार मनाएका हुन् । विशेष अतिथि जेष्ठ नागरिक ८० वर्षीया उमा गुरुङले पानसमा दिप प्रज्वलन गरेर औपचारिक रुपमा ल्होछार २०१८ उद्घाटन गरेपछि उहांले सबैको सुस्वास्थ्य र शान्तिको लागि आशिर्वाद दिनुभयो ।

ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै न्यूयोर्कका वाणिज्यदूत कृसु क्षेत्रीले ल्होछार पर्वको शुभकामना दिने क्रममा नेपालको विविध जातिय, भाषिक, सांस्कृतिक पहिचानको जगेर्ना गर्न ल्होछारले मद्दत पुरयाएको बताउंदै यस्ता सांस्कृतिक मौलिक परम्परालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहांले नेपालमा विभिन्न खालको दुःख समस्या पर्दा गुरुङ समाजले गरेको सहयोगको प्रशंसा गर्नुभयो । तमु एकता भयो भने सबैले सम्मान गर्ने भन्दै बाणिज्यदूत क्षेत्रीले तमुहरुलाई एकै ठाउंमा उभिएर एकता गर्न र नेपाललाई उत्कृष्ट बनाएर लैजान सुझाव दिनुभयो ।

गुरुङ समाजका अध्यक्ष पदमबहादुर गुरुङले ल्होछारको शुभकामना दिदैं ल्होछार पर्वले गुरुङहरुको मौलिक संस्कृतिको जगेर्ना गर्न र गुरुङ संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग गरेको बताउनुभयो । ल्होछार पर्वले तमुहरुबीचको एकता, भाइचारा र आपसी सद्भाव कायम गर्न र गुरुङहरुबीच एउटा सुमधर सम्बन्ध कायम गर्न मद्दत गरेको भन्दै अध्यक्ष गुरुङले तमुहरुबीच एकता हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । हिजो के भएको थियो त्यसमा अल्झेर नबस्न आग्रह गर्दै उहांले सम्पूर्ण तमुहरुलाई एक ढिक्का बनाएर लैजान गुरुङ समाज सधैं प्रयत्नरत रहेको दावी गर्नुभयो । विदेशको ठाउंमा सबैजना मिलेर बस्नुपर्नेमा जोड दिदै उहांले केही असमझदारी भएमा टेबलमा बसेर छलफल गरी समाधान खोज्न र तमु एकताका लागि पहल गर्न सबै गुरुङहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष पदम गुरुङ र उपाध्यक्ष सिद्दार्थ गुरुङले वाणिज्यदूत क्षेत्रीलाई गुरुङहरुको मौलिक पहिरन भांग्रा र पत्नी रीता सुवेदीलाई घलेक ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा सन् २०१५ मा नेपालमा गएको भूकम्पपछि गुरुङ समाजले संकलन गरेको रकमबाट नेपालको ४ वटा जिल्लामा पुननिर्माण अन्तर्गत भइरहेको परियोजनाबारे जानकारी गराइएको थियो । समाजले दोलखामा राष्ट्रिय सम्पदा संरक्षण कोषसंगको सहकार्यमा दुई वटा बहुउपयोगी सामुदायिक वातावरण केन्द्र निर्माणको काम पुरा गरेको छ भने चन्द्र गुरुङ संरक्षण कोषसंगको सहकार्यमा गोरखाको गुम्दा गाविसमा सूर्योदय माध्यमिक विद्यालय पुननिर्माण, जागरण मिडिया सेन्टरसंगको सहकार्यमा सिन्धुपाल्चोकको सिपापोख्रे गाविसमा बाल कल्याण प्राथमिक विद्यालय पुननिर्माण काम र सगुनसंगको सहकार्यमा काभ्रेपलाञ्चोकको खार्पाचोक गाविसमा निम्न माध्यमिक विद्यालय पुननिर्माणको काम भइरहेको जानकारी दिएको छ ।

कार्यक्रम संयोजक प्रकाश गुरुङले ल्होछारको शुभकामना दिंदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै कलाकार, भोलेन्टियरलाई धन्यवाद दिनुभयो । कार्यक्रममा युनाइटेड शेर्पा एशोसिएसनका अध्यक्ष उर्गेन शेर्पा, युएस क्लाइम्बर एशोसिएसनका अध्यक्ष पासाङ शेर्पा, अधिकारका एडभोकेसी डाइरेक्टर नर्वदा क्षेत्री, तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष हान्ता थोकर, युनाइटेड किरात राई अर्गनाइजेसनका केशवराम राई, एनआएएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, घ्याल्सुम्दो सेवा समाजका अध्यक्ष छिरिङ राप्के, हयोल्मो सोसाइटी अफ अमेरिकाका अध्यक्ष दावा शेर्पा, किरात राई सोसाइटी अफ अमेरिकाका मणि वाङदेल, किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिपेश लिम्बु, मगर संघ न्यूयोर्क च्याप्टरका अध्यक्ष सुमन पुन, मनाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष जयवीर गुरुङ, मुस्ताङ किदुगका अध्यक्ष राज कुमार विष्ट, नेवा गुठीका प्रतिनिधि, फेडेरल सोसाइटीका अध्यक्ष समिर मजर्हन, कलाकार संघका अध्यक्ष सुमन बुढामगर लगायत अतिथिको रुपमा सहभागी थिए ।

सांझ ८ देखि बिहान २ बजेसम्म चलेको कार्यक्रममा ५० बढी स्थानीय कलाकारहरुले विभिन्न मौलिक, सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा गुरुङहरुको मौलिक, सांस्कृतिक, परम्परागत नृत्यहरु पच्यु, घ्याब्री, छयाडु, कौडा लगायत नृत्य प्रस्तुत गरिएको छ । शुभ कर्म, विवाह भोज, पूजाआजा, मरौ, दुःख पर्दा पच्युहरुले विधिपूर्वक संस्कार गर्ने चलन छ । त्यस्तै, घ्याब्री नृत्य खासगरी थासो फाल्ने, नराम्रो पन्छाउने र ग्रहशान्ति गर्ने र शुद्ध गर्नको लागि गर्ने गरिन्छ । घ्याब्री नृत्य खासगरी शुभ कार्यहरु गर्नुपूर्व मन्छाउने गरिन्छ । त्यस्तै, छ्याडु नृत्य कसैको घरमा मरौ पर्दा, दुःख परेको बेलामा अर्घौ गर्ने गरिन्छ । अर्घौ ३ दिनसम्म गरिन्छ । मृतआत्माको स्वर्गबास र शोकाकुल परिवारको मनोबल बढाउन अर्घौको दोश्रो दिनमा घ्याब्री नृत्य गर्ने चलन छ ।

कार्यक्रममा आमा समूहको टोलीले ‘कमरमाथि पटुकी…’ गीतको बोलमा नृत्य प्रस्तुत गर्दा हलका सबै दर्शकले ‘वान्स मोर वान्स मोर…’ भनेर ताली पिटेका थिए । त्यस्तै, गुरुङ भाषको विभिन्न गीत मौलिक गीत कौडा र चर्चित गीतहरु ‘कुटुमा कुटु’, ‘आज मेरो गाई हेर्ने पालो’, ‘चरी जस्तै उडन पाए’ जस्ता गीतमा कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए ।

कार्यक्रम शुरुदेखि नै हलमा खचाखच दर्शकलाई उद्घोषकद्वय मच्छे गुरुङ र विजय गुरुङको प्रस्तुतिले अन्त्यसम्म अड्याउन सफल भएको थियो ।

कार्यक्रममा समाजलाई सहयोग गर्ने र विशेष योगदान पुरयाउने विष्णु पुन मगर र रोशनी गुरुङलाई ‘स्पेशल रिकग्निसन’ प्रमाण पत्रले सम्मान गरियो । त्यस्तै, यस वर्ष समाजको आजीवन सदस्य बनेका ५ जनालाई प्रमाण पत्र र ब्याजले सम्मान गरिएको थियो । गुरुङहरुको मौलिक पोशाकलाई प्रोत्साहन गर्न उत्कृष्ट पोशाकको पुरस्कार समेत दिइयो । उत्कृष्ट पोशाकको पुरस्कार १२ वर्ष भन्दा कम उमेरका २ जना बालबालिका र एक-एक जना महिला र पुरुषलाई प्रदान गरिएको थियो । १२ वर्ष भन्दा कम उमेरको बालकतर्फ देवन गुरुङ र बालिका तर्फ रक्षा गुरुङले पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै, महिलामा सोनी गुरुङ र पुरुषमा लिलबहादुर गुरुङले उत्कृष्ट पोशाकको पुरस्कार जिते । त्यस्तै, राफल ड्रमा पहिलो हुनेले ल्यापटप, दोश्रो हुनेले एप्पल घडी र तेश्रो हुनेले एप्पलकै मिनी आइप्याड प्राप्त गरे ।

‘सम्पूर्ण गुरुङहरु एकजुट हौं, संस्कार र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ ल्होछार मनाइएको हो । गुरुङ जातिले विभिन्न १२ वटा जीवजन्तुहरुको चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयां वर्षको रुपमा ल्होछार मनाउने गर्छन् । ल्होको अर्थ वर्ग र छारको अर्थ नयां हुने भएकोले ल्होछारलाई गुरुङहरुले नयां वर्षको रुपमा मनाउने चलन छ ।

ल्होछार पर्वले गुरुङहरुबीच एकता, भाइचारा र आपसी सद्भाव कायम राख्न मद्धत पुग्ने आयोजकको दावी छ । गुरुङ जातिले हरेक वर्ष पुस १५ मा विविध सांस्कृतिक कार्यक्रमसाथ ल्होछार पर्व मनाउंदै आएको छ ।

तमु ल्होछार २०७४ को आव्हान, जातिय पहिचान सहितको प्रादेशिक नामांकन हाम्रो अभियान भन्ने नाराका साथ तमु ल्होछार देश तथा विदेशमा बसोबास गर्ने गुरुङहरुले मनाएका छन् । नेपालमा हरेक वर्ष पुष १३, १४, र १५ गते विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाउंदै आइएको छ । गुरुङ समाजका अध्यक्ष गुरुङले ल्होछारलाई भव्य, सभ्य र सफल बनाउन र हर्सोल्लासका साथ मनाउन उपस्थित सम्पूर्ण गुरुङहरु तथा अन्य विभिन्न जातिय संघसंस्था साथै विभिन्न स्थानिय नेपाली संघसंस्थाका प्रतिनिधिहरु लगायत सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । ल्होछारमा बालबालिका र वृद्धवृद्धाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।

हिउं परेर मौसम प्रतिकुल भए पनि ६ सयको हाराहारीमा उपस्थित मध्ये अधिकांश महिला तथा पुरुष आफनो मौलिक पोशाकमा सजिएर आएका थिए ।

कार्यक्रममा कलाकार तथा नृत्य निर्देशकहरुलाई प्रशंसापत्र प्रदान गरियो । समाजले वर्षभरी गरिने विभिन्न महत्वपूर्ण कार्यक्रम समेटर तयार पारेको वर्ष क्यालेन्डर २०१८ पनि सार्वजनिक गरिएको थियो । उक्त अवसरमा मैरिमो चलचित्रका निर्देशक तथा नायक प्रेम गुरुङको नयां गीतको सिडी पनि विमोचन गरिएको थियो । कार्यक्रममा डिजे प्रस्तुति समेत थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री