बेलायतमा थपिए अर्का नेपाली सोलिसिटर


लन्डन । बेलायतमा अर्का एक नेपालीले सोलिसिटरको योग्यता हासिल गरेका छन् । उत्तर मान तिगेला 
(लिम्बु) १ डिसेम्बर २०१७ देखि यूकेको ‘क्वालिफाइड सोलिसिटर’ भएका हुन् । तिगेला बेलायतका वकिलहरुको नियामक संस्था ‘सोलिसिटर्स रेगुलेशन अथोरिटी’ ले तोकेको कडा शैक्षिक, चारित्रिक र व्यवहारिक सबै परिक्षा सफलतापूर्वक उत्तिर्ण गरेर सोलिसिटरका रुपमा विधिवत रजिष्टर्ड भएका हुन् ।

बेलायतको सोलिसिटर हुने अभिलासा बोकेरै ६ वर्ष अगाडि श्रीमती, छोरा र छोरीसंगै बेलायत आएका तिगेलाले लन्डनस्थित ब्रुनेल युनिभर्सिटीबाट कानुनमा पोस्ट ग्रेजुएट डिप्लोमा र लन्डनकै युनिभर्सिटी अफ वेस्ट लन्डनबाट लिगल प्राक्टिस कोर्ष उत्तीर्ण गरि सोही युनिभर्सिटीबाट भर्खरै लिगल प्राक्टिसमै ‘एलएलएम’ समेत गरेका छन् ।

लन्डनको हयारोस्थित कोर्टनी स्मिथ सोलिसिटर्स फर्ममा कार्यरत तिगेलाले इमिग्रेसन, कन्भिएन्सिङ (रेसिडेन्सल एण्ड कमर्सियल), फेमिली, पर्सनल इन्जुरी साथै लिटिगेसन सम्बन्धि मुद्दामा काम गर्छन् ।

बेलायतमा सोलिसिटर हुन कानुनमा क्वालिफाइङ ल डिग्री (एलएलबी अथवा जिडिएल) पुरा गरे पश्चात १ वर्षे अनिवार्य प्राक्टिकल कोर्ष उत्तिर्ण गर्नुपर्छ । सो उत्तिर्ण गरेपछि कुनै पनि ल फर्ममा कम्तिमा २ वर्षको अनिवार्य ट्रेनिसिप सफलतापूर्वक पुरा गर्नुपर्छ । अहिले बेलायतमा सोलिसिटर हुन चाहनेका लागि कानुनमा शैक्षिक योग्यता प्राप्त गर्नु भन्दा पनि २ 
वर्षे अनिवार्य ट्रेनिसिप पाउन गारहो छ । बेलायत सरकारले सोलिसिटर्स रेगुलेशन अथोरिटीको सिफारिसमा सन् २०२० देखि लागू हुने गरि सोलिसिटर्सको योग्यता सम्बन्धि अझै कठोर प्रावधान ल्याउने तयारी गरिरहेको छ ।

तेह्रथुमको छथर गाउं पालिका वडा नं ५ (साबिक ओख्रे गाविस ७) मा जन्मिएका तिगेलाले तेह्रथुमकै ओख्रेस्थित भगवती माध्यामिक विद्यालयबाट वि सं २०४३ सालमा एसएलसी उत्तीर्ण गरि धरानको महेन्द्र क्याम्पसबाट वि सं २०४९ मा कानुन र मानविकी (अंग्रेजी विषय) मा स्नातक गरेका थिए । तिगेलाले वि सं २०५० मा अधिवक्ताको लाइसेन्स प्राप्त गरि केहि समय नेपालमा कानुन ब्यवसाय समेत गरे ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अंग्रेजी विषयमा स्नात्तकोत्तर गर्दा गर्दै परिवारका साथ हङकङ गएका उनी त्यहां एक्यूट कन्सल्टेन्सीमार्फत अध्यागमन विषयमा लिगल कन्सल्टयान्ट भएर लामो समय काम गरे । साथै, तिगेलाले सन् २००८ मा नेपाल नोटरी पब्लिक काउन्सिलको अंग्रेजी र नेपाली अनुवादकको परिक्षा उत्तीर्ण गरे पश्चात कुनै पनि कागजपत्र प्रमाणित गर्नुका अलावा नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा अनुवाद गर्न ‘क्वालिफाइड 
ट्रान्सलेटर’ तथा ‘रजिष्टर्ड नोटरी पब्लिक’ को रुपमा पनि काम 
गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री