बेलायती राजनीतिज्ञका ‘यौनकाण्ड’ धमाधम उजागर

माइकल फालन

लन्डन । यतिखेर बेलायतको राजनीति नेताहरुको यौनजन्य क्रियाकलाप आरोपले तातेको छ । केहि वर्ष अघि बेलायती सांसदहरुले आफ्नो आयव्यय चुस्त नराखेको, नक्कली बिल प्रयोग गरि पैसा लिएको, आर्थिक पारदर्शीता नराखेको जस्ता आक्षेपले ठूलो आलोचना खेप्नुपरेको थियो । यसपटक भने बेलायती मन्त्री तथा सांसदहरुले गरेका भनिएको यौनजन्य दुर्व्यवहारका पुराना मुद्दा ब्युंतिएका छन् ।

बेलायती मिडियाका अनुसार प्रधानमन्त्री टेरेजा मेको दल कन्जरभेटिभका ६ मन्त्रीसहित ४० सांसदमाथि यौनजन्य क्रियाकलाप गरेको आरोप छ । बेलायती सांसदहरुले यौनजन्य तथा अश्लिल कार्य गरेको आरोप लगाउनेमा अधिकांश महिला पत्रकार, पार्टी कार्यकर्ता तथा सहयोगीहरु छन् । यस्ता आरोपले बेलायती राजनीतिज्ञहरुको आचरण र विश्वासप्रति जनमानसमा आशंका जन्माएको छ ।

कयौं महिलाले बेलायती राजनीतिज्ञहरु माथि करणी गर्ने 
प्रयास गरेको, अश्लिल टेक्स्ट म्यासेज पठाएको, अनुचित ब्यवहार गरेको जस्ता आक्षेप लगाएका छन् । वेस्टमिनिस्टरमा कार्यरत महिलाहरुले एउटा गोप्य वाट्स एप ग्रुप नै बनाएर सांसदहरुको अनुचित यौन व्यवहारबारे खुलासा गर्न थालेको बताइएको छ ।

बेलायती राजनीतिज्ञहरुको यौनजन्य क्रियाकलाप एक पछि 
अर्को गरि सतहमा आइरहंदा प्रधानमन्त्री टेरेजा मेले जनप्रतिनिधिहरु समाजमा अनुपम उदाहरणका रुपमा 
प्रस्तुत हुनुपर्ने बेलायती संस्कार विपरित यस किसिमको 
आरोप आउनुलाई सरकारले गम्भीर रुपले लिएको बताएकी छिन् । यौनजन्य गतिविधि तथा महिला हिंसामा शून्य सहनशीलता अपनाउने सरकार तथा पार्टीको नीति रहेको स्पष्ट पार्दै प्रधानमन्त्री मेले बेलायतका प्रमुख पार्टीका नेताहरुको बैठक समेत डाकेकी छिन् । सभामुख जोन बर्काउले वेष्टमिनिस्टरभित्र बढिरहेको यौनजन्य दुर्व्यवहार 
संस्कारको निन्दा गर्दै यसबारे सम्वोधन गर्न दलहरुलाई आग्रह गरेका छन् । यसमा शून्य सहनशीलता हुनुपर्नेमा समेत उनको जोड छ ।

यौनजन्य आरोपको निसाना सबैभन्दा पहिला रक्षामन्त्री माइकल फालन भए । फालनले यौन दुर्व्यवहार गरेको भन्दै अहिले केही महिला सतहमा आएका छन् । फालनसहित स्कटल्याण्डका बालबालिका मन्त्री मार्क म्याक डोनाल्ड अश्लिल ब्यवहार तथा खराब आचरणको आरोपमा गत साता पदबाटै राजिनामा गर्न वाध्य भए ।

प्रधानमन्त्री मेले यौन प्रकरणमा रक्षामन्त्री फालनको राजिनामापछि रिक्त पदमा गाभिन विलियमसनलाई नियुक्त गरिसकेकी छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीका मुख्य सचेतक ४१ वर्षीय विलियमसनले बेलायतको संसद सदस्यका रुपमा सन् २०१० मा पहिलो पटक 
प्रतिनिधित्व गरेका थिए ।

आफ्नो पदबाट राजिनामा दिएका रक्षामन्त्री फालनलाई १५ वर्ष अगाडि एकजना महिला रेडियो पत्रकार जुलिया हार्टली 
ब्रेवेरको घुंडा छोएको आरोप छ । उता, बेलायती संसद हाउस अफ कमन्सकी नेतृ एन्ड्रीया लेडसमले पनि फालनले आफूलाई अपशब्द बोलेको भन्दै प्रधानमन्त्री मे समक्ष उजुरी गरेको बेलायती पत्रिका द सन्ले जनाएको छ । रक्षामन्त्री फालनले भने आफूले कुनै गल्ती नगरेको तर बेलायती सेनाको सबैभन्दा उच्चतम अनुशासनको नियम अनुरुप उक्त पदमा रहिरहन उपयुक्त नभई राजिनामा दिएको प्रष्टयाएका छन् । उता पत्रकार जेन मार्भिकले सन् २००३ मा फालनले आफूलाई चुम्बन गर्न खोजेको आरोप लगाएकी छिन् ।

दुई सत्तारुढ टोरी मन्त्रीहरु डामियन ग्रीन र मार्क गार्नियरलाई पनि क्याबिनेट अफिसले उनीहरुको अनुचित व्यवहारबारे अनुसन्धान गरिरहेको छ । ग्रीनले सन् २०१५ मा महिला कार्यकर्ता केट माल्टबीमाथि अनुचित यौनजन्य व्यवहार गरेको आरोप छ । गार्नियरले आफ्नो पूर्व सहयोगीलाई सेक्स टोय किनेर ल्याउन भनेको बताइएको छ ।

न्यायमन्त्री डोमिनिक राब र अनुदान सम्वन्धि मन्त्री रोरी स्टेवार्ट पनि विवादमा तानिएका छन् तर नराम्रो काम केही नगरेको दावी उनीहरुको छ । विपक्षी लेबर पार्टीका दुई सांसदहरु केल्भिन होपकिन्स र जारेड ओमारा यस्तै प्रणरणले निलम्बनमा परेका छन् । लेबरको गभर्निङ बडी ‘नेशनल एक्जुकेटिभ कमिटी’ की पूर्व सदस्य बेक्स बेलीले सन् २०११ मा लेबरको इभेन्ट हुंदा आफू बलात्कृत भएको तर यो मुद्दालाई बाहिर नल्याउन एक वरिष्ठ अधिकारीले आग्रह गरेको दावी गरेकी छन् । उनी त्यतिखेर १९ वर्षको थिइन् ।

लेबर नेता जेरेमी कोरबीनले पार्टीले यसबारे अनुसन्धान गर्ने बताउंदै घट्ना बाहिर ल्याउने ति महिला कार्यकर्ताको साहसको प्रशंसा गरेका 
छन् । कोरबीनले लेबर पार्टीमा यौनवाद, यौन दुव्र्यवहार वा शोषण सहय छैन् भनि फेसबुकमा लेखेका छन् ।

यौनमा उदार बेलायती समाजमा यसको चर्चा खुला रुपले हुने गर्छ । सभ्य समाजमा यौनबारे वहस गर्न हिच्किचाउनु पर्दैन भन्ने सन्देश पश्चिमा समाजमा छ । विद्यार्थीलाई सानै उमेरदेखि यौनशिक्षा पढाइन्छ तर यौनजन्य हिंसा तथा जबर्जस्ती करणीलाई यहां सबैभन्दा ठूलो अपराध मानिन्छ । कुनैपनि अपराधमा संलग्न व्यक्ति कुनै आवरणमा बेलायती राजनीतिमा रहन वा अटाउन सक्दैनन् । त्यसैले अहिले लागिरहेको यौनजन्य क्रियाकलाप प्रमाणित भए बेलायती राजनीतिज्ञहरु राजनीतिबाट पलायनमात्र होइन, कानुनी सजायको भागीदार समेत हुने पक्का छ । इकान्तिपुरको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित सामाग्री