लन्डन । पेशाले ‘क्लिनिकल रिसर्चर’ हुन् उनी । प्यारेक्सेल इन्टरनेशनल कम्पनीमा जागिरे सिर्जना गुरुङको परिचय अचेल थपिएको छ । जनमानस उनलाई मिस यूके नेपाल ०१७ सिर्जना गुरुङबाट बढि चिन्छन् । ‘उपाधि जित्छु भन्ने पटक्कै थिएन’, छुट्टीका बेला साउथ हयारो लन्डनमा भेटिएकी सिर्जनाले सुनाइन्, ‘टाइटल जित्छु भन्दा पनि यो प्रतिष्पर्धा हो, हारजित भइहाल्छ भन्ने लागेको थियो । मेरो लागि सहभागिता नै जिते बराबर थियो किनकि यसका लागि साहस चाहिन्थ्यो र यसबाट मैले धेरै कुरा सिकेकी थिएं ।’
मिस नेपाल २००२ माल्भिका सुब्बा कोरियोग्राफर भएकाले फिनाले अघि पनि उनको लेक्चर, ‘पर्सनालिटी डेभलप्मेन्ट’ प्रशिक्षण ज्यादै उपयोगी भएर यसैमा खुशी रहेको सिर्जनाले बताइन् ।
भाद्र अन्तिम साता अन्य ७ प्रतिष्पर्धीलाई उछिनेर उनले उपाधि जितिन् । त्यसयता जिम्मेवारी झन् थपिएको छ उनमाथि । ‘मैले धेरै गर्नुपर्छ भन्ने भएको छ’, उनले योजना सुनाइन्, ‘एक वर्षमा बेलायतका नेपाली युवालाई एकीकृत गर्ने मेरो योजना छ । बेलायत बस्ने युवाले नेपालीपन भुल्ने क्रम बढेकाले म उनीहरुलाई एकीकृत गर्न चाहन्छु । वृद्धवृद्धा यूकेमा एक्लो महशुस गर्नुहुन्छ, उहांहरुलाई अंग्रेजी भाषा आउंदैन । रमाइलो गर्न मन लाग्दो हो, हामी साथमा छांैं है भन्ने देखाउन चाहन्छु म ।’
सिर्जनाले यही नोभेम्बरभित्र ‘ब्युटी बीथ द परपोज’ नामक च्यारिटी इभेन्ट गर्ने योजना बनाइरहेकी छन् । उपाधि जितेसंगै साथीभाइ, आफन्तजन र समाजले हेर्ने दृष्टिकोण सकारात्मक पाएकी छन् उनले । त्यस्तो सकारात्मक र रचनात्मक प्रतिक्रियाले अगाडि बढ्न सहज हुने विश्वास उनलाई छ ।
सन् २०१० बाट शुरु मिस यूके नेपाल प्रतिष्पर्धा प्रारम्भदेखि नै हेरिराख्थिन् सिर्जना । तर, पहिले पढाइ प्राथमिकतामा राखेर कलेज, युनिभर्सिटी सकिएपछि उनी ब्युटी पेजेन्टतिर लागेकी हुन् । ठूलो दिदी चन्द्रा गुरुङ मिस नेपाल २००५ को फाइनलिष्ट र सानो दिदी तिर्सना गुरुङ मिस टिन २००५ । यो क्षेत्र ग्ल्यामरस मात्र होइन, समाजमा राम्रो काम गर्न प्रेरित गर्ने एउटा अस्त्र पनि हो भन्ने दिदीहरुकै प्रेरणाले यता रुची बढेको उनले सुनाइन् ।
ब्युटी पेजेन्ट बेला बेला आलोचनाको घेरामा रहन्छ । बाहिर सरसर्ती हेर्दा यो देह प्रदर्शन बाहेक केही होइन जस्तो ठान्नेहरु अधिक छन् । तर, सिर्जनाको बुझाइ अलिक फरक छ । ‘झकिझकाउ फाइनल राउण्ड पुग्दा मानिसको नजरमा यो क्षेत्र ग्ल्यामरस लागे पनि प्रशिक्षण अवधिभर प्रतियोगीले कसरी बोल्ने, कसरी समाजसंग घुलमिल हुने भन्ने थाहा पाउंछन् । समाजलाई कसरी राम्रो कुरा दिन सकिन्छ थाहा हुन्छ । त्यसकारण यो आफैंमा नराम्रो क्षेत्र होइन’, उनको बुझाइ छ ।
लन्डन ब्रुनेल युनिभर्सिटीबाट बायो मेडिकल साइन्समा ग्रयाजुएशन गरेकी सिर्जना बिगतमा सर्ट मूभी र म्यूजिक भिडियोमा अभिनय गरिसकेकाले क्यामेरा फेस गर्न झन् मज्जा लाग्ने बताउंछिन् । राम्रो अफर आए फिल्ममा पनि खेल्ने उनको चाहना छ ।
पोखराको निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल नजिक स्थायी घर भएकी उनी दश वर्ष छंदा ब्रुनाइ गइन् । बाबु ब्रिटिश आर्मीको जिआरइमा सेवारत थिए । कक्षा ३ सकेर ब्रुनाइ गएकी सिर्जना साढे तीन वर्ष त्यहां बसेर सन् २००६ मा यूके आइन् ।
लाहुरे परिवारमा जन्मिन पाएकामा भाग्यमानी ठान्छिन् उनी । ‘बुबा, दाई, अंकल सबैजना लाहुरे पृष्ठभूमिका । यही कारण हामी यूकेमा आउन पायौं’, उनले भनिन्, ‘म यो अवसरलाई यहां राम्रोसंग सदुपयोग गर्न चाहन्छु ।’
लामो समयदेखि बेलायतमै रहेकी उनलाई प्रेम र सेक्स एक अर्काबीच विश्वासमा हुनुपर्छ जस्तो लाग्छ । बेलायतस्थित कयौं नेपाली युवा कुलततिर लागेका खबर सुन्दा उनी दुःखी हुन्छिन् । ‘परिवारबीच कम्युनिकेशन अत्यावश्यक छ’, उनको सुझाव छ, ‘आमा बाबुलाई आफ्नो बच्चाले के गर्दैछन् थाहा हुनुपर्छ । किनभने परिवारबाट टाढिंदै जांदा गलत बाटो हिंड्ने सम्भावना अधिक रहन्छ ।’
५ फिट ७ इञ्च उचाईं भएकी स्पोर्टी पर्सन सिर्जना फिटनेशमा खुबै ध्यान दिन्छिन् । जागिर सकेर प्रत्येक सांझ जिम जाने उनको रुटिन छ । लङजम्प, बास्केटबल, योगा, स्वीमिङ खेलबाहेक युट्यूबमा रमाइरहन्छिन् सिर्जना । फूर्सदमा मानिसका प्रेरणादायी अन्तरवार्ता हेर्न मन लाग्दो रहेछ ।
भविष्यमा क्लिनिकल रिसर्चमै अगाडि बढ्ने सोच उनको छ । मिस यूके नेपाललाई वृहत रुपमा अगाडि बढाउने र नेपाली समुदायको हितका लागि सहकार्य गर्ने योजना पनि सिर्जनाले सुनाइन् । नेपालतिर गएर सामाजिक काम गर्ने सोच पनि उनको छ । इकान्तिपुरबाट
तस्विरः मिलन तमु
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न