बेलायतको औद्योगिक क्रान्ति नेपालले किन अनुशरण नगर्ने ?

लन्डन । बेलायत झुल्किरहने नेपालका अधिकांश राजनीतिज्ञलाई यहां धेरैले जिज्ञासा राख्ने गर्छन्, ‘बेलायतबाट के सिक्न चाहनुहुन्छ ?’ उनीहरुको जवाफ रहन्छ, ‘प्रजातन्त्रको जननी बेलायतको विकास तथा सम्वृद्धि नियाल्ने अनि औद्योगिक क्रान्ति भएको देशबाट व्यापार र उद्योगका कुरा सिकेर नेपालमा आर्थिक विकास गर्ने ।’ बडो मिठो सुनिन्छ विकास सपना । आखिर बेलायतमा औद्योगिक क्रान्ति कसरी शुरु भयो त ? मननयोग्य कुरा असंख्य छन् ।

पश्चिमी मुलुकहरुमा १८ औं शताब्दीमा भयो औद्योगिक क्रान्ति । तर, इंग्ल्यान्ड सबैभन्दा सफल हुनुमा कृषि क्रान्ति, प्रविधिको विकास, उर्जाका लागि प्रशस्त कोइला उपलब्ध, उल्लेख्य मजदुर संख्या, पंूजी परिचालनका लागि बैंक, स्टक मार्केटको शुरुवात, सरकारी उत्प्रेरणा आदिलाई मानिन्छ ।

एक जमाना इंग्ल्यान्डको संसारभर साम्राज्य थियो, जसले गर्दा उद्योगका लागि चाहिने कच्चा पदार्थ सहज आपूर्ति हुन्थ्यो । रोजगारीले गर्दा मानिसहरुको जीवनस्तर बढेपछि सामानको माग बढ्न थाल्यो । बेलायत भित्र मात्र नभइ निर्यातका लागि पनि आफ्नो साम्राज्य उपयोगी भयो ।

सन् १७७० मा जेम्स् हारग्रीभ्सले आठवटा धागो घुम्ने परम्परागत चर्खाको सट्टा एकैपटक १२० वटा धागो राखी घुम्ने आधुनिक चर्खा आविष्कार गरेर बेलायतमा औद्योगिक क्रान्ति शुरुवात भएको मानिन्छ । यसपछि कपडा र फलाम उद्योगमा ठूलो फड्को देखियो । बाफको शक्ति (स्टिम इन्जिन) आविष्कार, कारखाना (फ्याक्ट्री) विकास, रेलको शुरुवात, पंूजीवाद र खुल्ला बजार तथा अन्य प्रविधि विकासले बेलायतको रुप फेरियो ।

लन्डनस्थित अर्थ व्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्य बेलायतले 
सन् १७६० देखि १८५० को अवधिमा आर्थिक उन्नति, प्रविधिमा आधुनिकीकरण, खुला र प्रतिस्पर्धात्मक व्यवसाय जस्ता महत्वपूर्ण कार्य गर्न सफल भएको बताउंछन् । औद्योगिक क्रान्तिका आलोचकहरु यस क्रान्ति मार्फत अर्थशास्त्री हार्टवेयलले भनेका र धेरैले स्वीकार गरेको 
‘आर्थिक दरिद्रताको सिद्धान्त’ को विकास भएको ठान्छन् । आचार्यले ति आलोचकले अनियन्त्रित पंूजीले धनी झन् धनी र गरिब थप गरिब हुन पुगेको तर्क राख्ने गरेको समेत बताए । तर, पूंजीलाई स्वतन्त्र रुपमै आवत जावत गर्न नदिए उचित लगानी पूर्ण 
रुपले नहुने र लगानीकर्तामा आफूसंग भएको पंूजीलाई संकुचित गराइराख्न सक्ने सम्भावना अधिक रहने आचार्यको बुझाइ छ ।

औद्योगिक क्रान्तिमा मजदुरको तलब निकै कम थियो तर काममा धेरै घण्टा जोतिनु पथ्र्यो । महिला तथा बाल कामदारको अवस्था पनि दयनीय । बाल मजदुर लगायत कलकारखानामा काम गर्दा घाइते भएकाहरुको संख्या निकै वृद्धि भयो, उनीहरुले पाउने सुविधा केही थिएन । जागिर गुमाएर गरिवीमा पिल्सनु बाहेक उनीहरुसंग अरु उपाय थिएन । यसै समयमा धेरै मानिस रातारात धनी भएपछि बहालमा बसेका वा भूमिहीन मानिसहरुलाई आफ्नो घर जग्गाबाट निकालेर त्यहां उद्योग कलकारखाना खोल्ने क्रम बेलायतमा तीव्र बन्यो । यस कारणले घर जग्गा नहुनेहरु शहर छिर्न वाध्य भए । फलस्वरुप बेलायती शहरहरुमा जनसंख्या निकै वृद्धि भएको 
जानकारी आचार्यले दिए ।

बेलायतमा गरिवीको खाडल बढ्दै गएपछि सन् १८३४ मा गरिवी निवारण कानुन (पोअर ल) लागू गरियो जसले केहि हदसम्म मजदुर र मध्यम वर्गीय मानिसका समस्या सम्बोधन गर्ने प्रयत्न 
गरयो । औद्योगिक क्रान्तिले पंूजीवादको पक्ष वा विपक्षमा धेरै वाद विवाद शुरु गरायो । औद्योगिक क्रान्तिको समयमा भएको गरिवी र काम गर्ने उचित वातावरण नभएकाले सरकारले सामाजिक आर्थिक विषयमा हस्तक्षेप गर्नुपरेको दृष्टान्त पनि छ । अर्थवीद आचार्यले बेलायतमा सन् १८७० देखि १९०० को अवधिमा प्रतिव्यक्ति आर्थिक उत्पादन करिव ५०० गुणा बढेको जानकारी दिए ।

औद्योगिक क्रान्ति चरणमा रेल्वे विस्तारसंगै आधुनिक बजारशास्त्र शुरु भइ वितरण र उत्पादनको नयां युग शुरु भएको थियो । मानिसको जीवनस्तर बढ्नुका साथै बेलायत संसारकै पहिलो औद्योगिक देश बन्न पुगेको थियो । स्मरणीय के छ भने औद्योगिक क्रान्तिको समयमा नयां बैज्ञानिक आविष्कार गर्ने प्राय सबै व्यक्ति सम्भ्रान्त परिवारका थिए जस कारणले आफूले आविष्कार गरेको प्रविधिको विकास गर्न 
पंूजीले सहयोग गरेको थियो ।

नेपालका राजनीतिज्ञहरुले सहि नीति अबलम्वन गरि पूंजी तथा प्रविधि व्यवस्थापनमा उचित ध्यान दिन जरुरी हुने कुरा बेलायतबाट सिक्न आवश्यक छ । दुई ठूला देश भारत र चीन बीचमा अवस्थित नेपालको पंूजी पलायन अवस्थालाई मध्यनजर राखी लगानी मैत्री बातावरणको विकास गर्नु नितान्त जरुरी छ । ‘ग्लोवलाइजेसन’ युगको प्रतिष्पर्धामा उचित जनशक्ति र पूर्वाधार विकासमा ध्यान दिन पनि उत्तिकै खांचो छ । सरकारी स्वामित्वका उद्योगलाई व्यापारीक हिसाबले ब्यवस्थापन विज्ञहरुलाई जिम्मा लगाई बेलायतले अपनाए जस्तो स्वतन्त्र तवरले उद्योग चलाइनु पर्छ । यसमा राजनीतिक हस्तक्षेप पनि बन्द गरिनुपर्छ । सधैं घाटामा जाने र अर्थतन्त्रलाई भार पर्ने उद्योगहरु निष्पक्ष तवरले निजीकरण गर्नुपर्छ भन्ने शिक्षा बेलायतले सन् १९८० देखि अपनाएको नीतिबाट बुझ्न सकिन्छ ।

राजनीतिक स्थायित्व तथा उचित संस्कार, नियम कानुन पालना, क्रेडिट स्कोर र मुद्रा विनिमय प्रणाली आदिमा उचित परिमार्जन गरि उद्यमशीलताको विकास गर्न सके चाहेको जस्तो आर्थिक विकास नेपालले गर्न सक्ने पाठ बेलायतबाट सिक्न सकिन्छ ।

बेलायत भ्रमण गरेर फर्किएका राजनीतिज्ञले उनीहरुले भन्ने गरेझैं बेलायतबाट देखेर, बुझेर र सिकेर के गर्न सके वा सक्नेछन् त्यो त भविष्यले मुल्यांकनले गर्ने नै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री