मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: ०३:१६ | UK Time: 21:31

रासस ५६ औँ वर्षमा, जिम्मेवारी थपिंदै

वीनेपाली
२०७३ फागुन ६ गते १८:२०

राष्ट्रिय समाचार समितिको ५६ औँ वार्षिकोत्सवको सन्दर्भमा राससमा शुक्रबार आयोजित ‘उदाउँदो अनलाइन मिडिया र रासस न्यूजलाइन’ विषयक अन्तक्र्रियाका सहभागीहरु । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ६ फागुन । बिसौँ सताब्दीको पहिलो दुई दशकमा पत्रकारिता सत्य तथ्य समाचारले पाठक, दर्शक स्रोतालाई आकर्षण गर्छ भन्ने थियो, केही पछि त्यसको दायरा फराकिलो भएर मानवीय अभिरुची पनि समाचार हुनुपर्छ भन्ने भयो ।

एक्काइसौँ शताब्दीको पहिलो दुई दशक पूरा भएसँगै समाचारको परिभाषा बदलिएको छ । सोसल मिडियाको समयमा संसारमा जे होस्, १५ मिनेट वा १५ सेकेन्डभन्दा अगाडि वास्तविक जानकारी चाहियो । समय सीमामा समाचार साँघुरियो । तर, घटना आफैँमा समाचार होइन, समाचार हुन प्रणालीमा परिवर्तन आउनुपर्छ । नियमिततामा क्रमभङ्ग भएमात्र समाचार बन्छ भन्ने मान्यता पनि समयसँग ठोकिन थालेको छ ।

यो मान्यतालाई आत्मसात् गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस) ग्राहकमैत्री विषयवस्तु उत्पादन गर्न र त्यसलाई जतिसक्दो चाँडो सम्प्रेषण गर्न प्रतिबद्ध देखिएको छ । राससले ५६औँ वर्षमा प्रवेश गर्दै गर्दा यसको सेवा स्तरीय एवम् विश्वसनीयता बढ्दै गएको देखिन्छ ।

विसं २०७० मङ्सिर ५ गतेदेखि राससले न्यूजलाइन सेवा प्रारम्भ गरी समाचार प्राप्त भएलगत्तै सम्पादन शाखाबाट अनलाइन न्यूजलाइन प्रणालीमा समाचार सम्प्रेषण गर्दै आएको छ । यस सेवाबाट एफएम रेडियो र अनलाइन सञ्चारमाध्यम प्रत्यक्ष लाभान्वित भएका छन् । बदलिँदो ‘कन्भर्जेन्स’ विश्वलाई पछ्याउँदै गरेको नेपालका सञ्चार गृहलाई आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।

राससका अध्यक्ष कुलचन्द्र वाग्लेले छापा तथा विद्युतीय सञ्चारमाध्यमलाई समेटेर विषयवस्तु दिने र राससलाई समयसापेक्ष सक्षम बनाउन पहल गर्ने बताउनुभयो । उहाँले ५६औँ वार्षिकोत्सवपछि राससले विषयवस्तुमा थप स्तरीयता र विविधतालाई अबको यात्रा बनाउने बताउनुभयो ।

विश्वमा समाचार समितिको प्रचलन सुरु भएको करिब १२५ वर्षपछि नेपालमा आएको समाचार समितिको अवधारणाको महत्व अझै उँचो भएको छ । नेपालजस्तो भौगोलिक एवम् सानो अर्थतन्त्र भएको मुलुकका सञ्चारमाध्यमले आफ्नै हरेक स्थान तथा क्षेत्रमा समाचारदाता राख्ने अवस्थामा समाचार समितिको भूमिका अझै महत्वपूर्ण बन्दै गएको राससका अध्यक्ष वाग्ले बताउनुहुन्छ ।

राससको इतिहासलाई फर्केर हेर्दा समाचार समितिको आवश्यकताबारे पहिलोपटक २०१५ सालको प्रेस कमिसन प्रतिवेदनमा उल्लेख गरिएको थियो । प्रतिवेदनबाट प्रेरित भएर नेपालमा पहिलो समाचार समिति २०१६ पुस १ गते नेपाल संवाद समिति (नेसस) स्थापना भएको थियो । नेसस स्थापना भएको पाँच महिनापछि निजी क्षेत्रबाट दोस्रो समाचार समितिका रूपमा २०१७ वैशाख ३० गते सगरमाथा संवाद समिति (ससस) स्थापना भएको थियो ।

निजी क्षेत्रका समाचार समितिहरू नेसस र ससस दुवै समाचार समितिलाई एकीकरण गरी राज्य सञ्चालित संस्थाका रूपमा २०१८ फागुन ७ गते राससको विधिवत् स्थापना भएको थियो । प्रारम्भमा अस्थायी समितिको रूपमा कार्य आरम्भ गरेको राससले २०१९ मङ्सिरमा ऐन आएपछि पूर्णता प्राप्त गरेको थियो । राष्ट्रिय संवाद समिति ऐन, २०१९ लाई २०२८ सालमा पहिलो संशोधनपछि ‘संवाद’ शब्दको सट्टा ‘समाचार’ प्रयोग गरी यस संस्थालाई राष्ट्रिय समाचार समितिको नाम दिइएको हो ।

काठमाडौँको खिचापोखरीस्थित एक निजी घरबाट सेवा प्रारम्भ गरेको राससले सुरुका दिनहरूमा गौँडा गोश्वाराबाट आएका सूचनाका आधारमा बाढी, पहिरो, आगलागी, महामारीका घटना र विभिन्न जिल्लाबाट राजधानी आउने यात्रीहरूसँग सोधपुछ गर्दै खबर सङ्कलन गरी टाइपिङ गरी लिथो मेसिनद्वारा बुलेटिन निकालेर वितरण गर्ने गरेको थियो ।

हाल राससमा स्थायी, करार र स्थानीय समाचारदाता गरी करिब ३०० कर्मचारी तथा पत्रकार कार्यरत छन् । राससले वार्षिक ६० हजारभन्दा बढी समाचार सामग्री उत्पादन गरेर आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ ।

राससले देशभरबाट र विदेशस्थित विभिन्न स्थानमा रहेका प्रतिनिधिबाट सङ्कलित समाचार नेपाली र अङ्ग्रेजीमा पस्कँदै आएको छ भने भू–उपग्रहका माध्यमबाट एपी, एएफपी, सिन्ह्वा, पिटिआई, क्योदो, एपिपी, बिएसएसजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाबाट प्राप्त समाचारसमेत आफ्नो अन्तर्राष्ट्रिय सेवाअन्तर्गत सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको छ । हाल यसले प्रोजेक्ट सिन्डिकेटको सामग्री पनि प्रदान गर्न थालेको छ ।

राससले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटो सेवाका साथै श्रव्य सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ । राससले कम्प्युटर नेटवर्कमार्फत छापा, रेडियो, टेलिभिजन र अनलाइनलगायत राष्ट्रिय र मोफसलका समाचारपत्रलाई समाचार, तस्बिर र श्रव्य सामग्री मुलुकभरका २०० सञ्चारमाध्यमलाई सेवा दिँदै आएको छ ।

प्रारम्भमा राससको समाचार बुलेटिन दिनमा एकपटक मात्र प्रकाशन भएपनि पछि एक दिनमै पटकपटक प्रकाशन हुन थाल्यो । धेरै वर्षसम्म बिहान, मध्याह्न, अपराह्न, साँझ र राति गरी पाँच पटकसम्म समाचार बुलेटिन प्रकाशन हुन थाल्यो ।

विसं २०६३ कात्तिक १ गतेदेखि राससले हरेक दिन बिहान ६ः३० देखि राति १०ः३० सम्म एक–एक घन्टाको अन्तरमा दिनमा १७ पटकसम्म समाचार बुलेटिन प्रकाशन गर्दै आएको थियो । पहिला समाचार बुलेटिनहरू टाइपराइटरबाट स्टेनसिल पेपरमा टाइप गरी लिथो मेसिनबाट मुद्रण गरेर वितरण गरिए पनि २०५२ सालदेखि कम्प्युटर प्रविधिमा प्रवेश गरेको थियो । राससले बेलाबखतमा आलेख समाचार दिने गरे पनि २०५५ साल वैशाखदेखि त्यसलाई थप व्यवस्थित गरेको थियो ।

विसं २०७० मङ्सिर ५ गतेदेखि रासस न्यूजलाइन सेवामा प्रवेश गरेदेखि बिहान ६ः०० देखि राति ११ बजेसम्म नेपाली र अङ्ग्रेजी भाषामा नियमित राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार सम्प्रेषण गर्दै आइरहेको छ । हाल यसले ‘न्यूजलाइन’ सेवाअन्तर्गत केन्द्रदेखि स्थानीय तहसम्मका ग्राहक रहेका सबै प्रकारका सञ्चारमाध्यमलाई समाचार सेवा दिँदैै आएको छ ।

राससको स्थापना भएदेखि मुलुकमा विभिन्न राजनीतिक परिवर्तन भयो, तर राससको विश्वसनीयतामा कुनै कमी आएको छैन, बरु सबैको विचारलाई स्थान दिँदै साझा समाचार केन्द्रको रुपमा आफ्नो पहिचानलाई स्थापित गर्न सफल भएको छ । विश्वव्यापीकरणसँगै समाजका हरेक क्षेत्रमा आएको परिवर्तनबाट समाचार समिति पनि अछुतो रहँदैन । समाचार समितिले राज्य, समिति र ग्राहकबीचको त्रिपक्षीय सम्बन्धका विषयमा नयाँ परिभाषा खोज्न आवश्यक छ ।

समाचार समितिले सञ्चार गृहको आवश्यकतालाई पूरा गर्न सके कि सकेनन् भन्ने गहन प्रश्नसँग मुकाबिला गर्न जरुरी छ, यो प्रश्न निरन्तर कायम रहन्छ । समाचार उपलब्ध गराएपछि भुक्तानीको मापदण्डका साथै समाचार समितिले नयाँ प्रविधिको प्रयोग वा प्रविधिमैत्री कसरी हुन्छ भन्ने महत्वपूर्ण बन्दै गएको छ । अध्यक्ष वाग्लेले राज्य, समाचार समिति, सेवाग्राही र जनतासँग सन्तुलन मिएर आगामी दिनमा राससले आफ्ना क्रियाकलापलाई विश्वसनीय आधारमा अगाडि बढाउने विश्वास दिलाउनुभयो ।

राससले फेरिएको समयमा आफ्नो भूमिका निर्वाह गर्नका निम्ति अझ बढी जागरुक हुन जरुरी भएको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीको सुझाव छ । उहाँ भन्नुहुन्छ – “अरुले नओगटेको स्थान राससले लिनुपर्छ । राससले केन्द्रको मात्र होइन किनाराको, गाउँ र दूरदराजको खबर ल्याउनुपर्छ । सकारात्मक र जनसरोकार राख्ने गुनिला खबर दिनुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक