पर्यटन प्रवर्धनका लागि घलेगाउँबाट पाठ सिक्न राष्ट्रपतिको सुझाव

राष्ट्रपति विद्यादेवी भण्डारी पर्यटकीयस्थल लमजुङको घलेगाउँमा निर्माण गरिएको पर्यटकीय सङ्ग्रहालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर ःसन्देश पौडेल, रासस, लमजुङ

लमजुङ (बेँसीसहर), २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन प्रवद्र्धनका लागि मुलुकले घलेगाउँबाट पाठ सिक्नुपर्ने बताउनुभएको छ । आज लमजुङको घलेगाउँमा निर्माण भएको पर्यटकीय सङ्ग्रहालय उद्घाटनका क्रममा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।

“घलेगाउँ रैथाने पर्यटनको राजधानीका रुपमा चिनिएको छ ।” राष्ट्रपति भण्डारीले भन्नुभयो – “यहाँका भेडीगोठ, प्राकृतिक सम्पदा र संस्कृति, राडीपाखीलगायतका स्थानीय उत्पादनले पर्यटकको मन जितेको छ ।”

उहाँले दिगो कृषि प्रणालीमा ध्यान पुरयाई स्थानीयवासीको जीवनस्तर उकास्न सम्बन्धित पक्षले उचित ध्यान दिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले प्रसिद्ध अन्नपूर्ण पदमार्गका साथै यहाँका अन्य जलविद्युत्, जडीबुटी र कृषिका सम्भावनालाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

नेपालको अर्थतन्त्रको आधारका रुपमा रहेका जलस्रोत, कृषि, पर्यटनका लागि सिङ्गो लमजुङ महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । सम्पदाको उचित प्रयोग गरी नेपालका युवाशक्तिलाई आफ्नै गाउँमा परिचालन गर्दै देश विकासको मूलबाटोमा अघि बढाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले गुरुङहरुको आदिम थलो लमजुङको घलेगाउँ सार्क राष्ट्रकै नमुना गाउँका रुपमा घोषणा हुनु गर्वको विषय भन्दै यहाँका उत्पादनलाई आधुनिकीकरण गरी व्यावसायिक र बजारीकरण गर्न सम्बन्धित पक्षलाई ध्यान दिन आग्रह गर्नुभयो ।

सामाजिक विकृतिलाई हटाउन घलेगाउँमा सुरु गरिएको दलित बस्तीमा होमस्टे उदाहरणीय भएको भन्दै मध्यपहाडी लोकमार्ग लमजुङ भएर जाने हुनाले यहाँको पर्यटकीय सम्भावना अझै बढी रहेको धारणा व्यक्त गर्नुभयो ।

घलेगाउँ ग्रामीण पर्यटन समितिका अध्यक्ष प्रेम घलेको अध्यक्षतामा भएको कार्यक्रममा सांसदद्वय टुकाभद्र हमाल र भीष्म अधिकारीलगायतको उपस्थिति रहेको थियो । राष्ट्रपतिको स्वागत सम्मानमा स्थानीय सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँमा पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको हो । सङ्ग्रहालयमा स्थानीय गुरुङ संस्कृतिमा आधारित कला तथा वस्तुहरु निर्माण गरिएको छ । सङ्ग्रहालयमा गुरुङ संस्कारअन्तर्गत जन्मदेखि मृत्युसम्म प्रयोग गरिने विधि तथा सामग्री राखिएको छ ।

घलेगाउँमा वार्षिक ३० हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् । प्राकृतिक दृश्यावलोकन, होमस्टे, स्थानीय चिया बगानसँगै यहाँको आतिथ्यता यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले बेँसीसहर–१३, चण्डिस्थानमा रहेको गङ्गा मिलन माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको उद्घाटन गर्नुभएको थियो ।

सोही अवसरमा विद्यालयले ‘लमजुङको शिक्षाको वर्तमान अवस्था, अवसर, चुनौती र भावी रणनीति’ विषयक ज्ञापनपत्र राष्ट्रपतिसमक्ष बुझाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री